PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

'स्मार्ट' नभए टिक्नै गाह्रो : प्रविधि नबुझ्दा नुहाई, न धुवाई



विधुर ढकाल

'स्मार्ट' नभए टिक्नै गाह्रो : प्रविधि नबुझ्दा नुहाई, न धुवाई
फोटो : इपीए

चीन आउनु दुई साता अगाडिसम्म काठमाडौंका सरकारी कार्यालयमा धाउँदाधाउँदा चप्पल घस्किए। सायद 'सरकारी काम, कहिले जाला घाम'को नियतीमा हुर्किएर होला, सामान्यै बनेका थिए ती अड्चन।

त्रिभुवन विश्वविद्यालयको मानवीय डिन कार्यालयका एक पियनको खुट्टा दुख्दा परीक्षा नियन्त्रण कार्यालयमा दुई साता धाउनुपर्‍यो स्नातकोत्तरको ट्रान्सक्रिप्ट हात पार्न। प्रधानमन्त्री केपी शर्मा ओलीले स्मार्ट सिटी र स्मार्ट अड्डाको घोषणा गर्दै आएका छन्। सुरुवाती चरणमा मालपोत कार्यालयहरुलाई स्मार्ट मालपोत कार्यालय भन्दै उद्घाटन पनि गर्दै हिँडिरहेका थिए। बचनमा जतिसुकै स्मार्ट भए पनि व्यवहारमा अझै पनि सरकारी काम ढड्डा पल्टाउँदै हुने गर्छ।

चीन प्रवेश गरेसँगै कागजी काम कारवाहीमा अभ्यस्त आम मानिसलाई डिजिटल युगमा प्रवेश गर्न असहज हुने अनुभव भयो। काठमाडौंबाट उडेको मान्छे ल्हासाबाट चीनमा विधिवत रुपमा अध्यागमन पास गर्दै प्रवेश गर्दा नै स्मार्ट युगमा प्रवेश गरेको भान भएको थियो। अलि सहजतामा अभ्यस्त हुन समय लाग्यो।

अहिले अलिअली अभ्यस्त हुँदै छु। खाना खानेदेखि नुहाउने र कपडा धुनेसम्म सबै स्मार्ट। नेपालबाट चीनको अध्ययन यात्रा एक किसिमले एनलगबाट डिजटलतिरको यात्रा जस्तै भएको छ। त्यसैले अभ्यस्त हुन समय लाग्यो। काठमाडौंको ट्राफिक भिडभाडमा खलासीले 'कीर्तिपुर... पाँगा...' भन्दै बोलाउने र विद्यार्थी परिचय पत्रको डिस्काउन्टका लागि झगडा गर्ने हामी यहाँ पुग्दा 'हैट! त्यस्तो पनि हुन्छ है?' भन्ने महसुस हुने रहेछ।

कहाँ जाने? कति नम्बरको बस चढ्ने थाहा हुनु पर्‍यो। खलासीसँग झगडा गर्नुपर्ने झन्झटबाट मुक्त। बस चढ्नु अगाडि कार्ड मेसिनमा चढायो। चढ्यो, झर्‍यो चुपचाप।

गोजीमा पैसा सकियो, मान्छे पनि स्मार्ट

काठमाडौंबाट आउँदा गोजीमा चिनियाँ १००/१०० ख्वाइ (आरएमबी) का नोट बोकेर आएको। अलिअलि गर्दैगर्दै १०० का नोटहरु १-१ ख्वाइमा साटिँदै गए। तिनै एक एक ख्वाइमा दैनिकी चलिरहेको थियो। विश्वविद्यालयले दिने 'स्टिपेन्ड'का लागि बैंक खाता खोल्नु थियो। स्मार्ट पनि हुनु थियो। बैंक अफ चाइनामा खाता खोल्नासाथ स्मार्ट पेमेन्टमा जोडिन पाइयो। हुन त यस्तो अभ्यास काठमाडौंमा नगरेको भने होइन। तर, पनि त्यहाँ स्मार्ट पेमेन्ट भन्दा कागजी नोटमै विश्वास। इसेवा, खल्ती लगायतले स्मार्ट पेमेन्ट गरेर सेवा दिए पनि अझै सबै यसको दायरामा पुगेका छैनन्।

यहाँ भने सबै स्मार्टको दायरामा। अहिलेसम्म बजारमा सपिङ पुग्दा पैसा तिरेर खरीद गर्ने चिनियाँ सायदै भेटिन्छन्। अध्ययनका लागि आएका अन्तर्राष्ट्रिय विद्यार्थी र केही विदेशी पर्यटकबाहेक सबैले स्मार्ट पेमेन्ट नै गर्छन्। विश्वविद्यालय भित्रका सेवा प्रयोग गर्न पनि स्मार्ट कार्डको प्रयोग अनिवार्य। क्यान्टिनमा खाना खानु पर्‍यो र स्मार्ट पेमेन्ट छैन अनि स्टुडेन्ट कार्ड छैन भने भोकै।

स्टुडेन्ट कार्डमा पैसा हाल्यो। खानाको परिकार रोज्यो। कति पैसा पर्छ मेसिनमा कार्ड छोइदियो। खायो निस्कियो। पैसा पैसाको हिसाब। १ पैसा तलमाथि भएन। काठमाडौंमा १७ को समान किन्दा 'भाइ खुजुरा छैन, चुइगम लैजानुस्। नत्र पछि हिसाब गरौँला' भन्ने सुनेको मलाई यहाँ सुका मात्र होइन पैसापैसाको पनि हिसाब यता उता छैन।

साथीलाई रुपैयाँको केही सामान ल्याइदिए पनि विच्याटबाट पैसा पैसा चुक्ता गर्न पाइने।

स्मार्ट साइकल

युनिभर्सिटी ठूलो। एक ठाउँबाट अर्को ठाउँमा हिँडेर पुग्न कठिन। यसका लागि पनि स्मार्ट हुनुपर्ने। नत्र हराइने डर! बिहानै उठेर क्लास पुग्न पनि यसैको साहरा।

साइकल चढ्न पनि यहाँ स्मार्ट नभइ भएन। साइकलहरु सार्वजनिक। जहाँ फेला पर्‍यो, त्यहीबाट चढ्न पाइने। जहाँ पुग्यो, त्यहीँ छाडेर हिँड्नुपर्ने। महिनाको ३० आरएमबी - त्यो पनि बैंकबाट तिर्नुपर्ने अग्रिम स्मार्ट पेमेन्ट।

हुन त नेपालमा हुँदा इसेवाबाट बसको र जहाजको टिकट नकाटेको कहाँ हो र? तर यहाँ अभ्यस्त हुन अलि समय लाग्यो। मोबाइलमा भएको एपबाट साइकलको 'क्यूआर कोड' स्क्यान गरेसँगै साइकल खुल्ने। अनि जति चलाए पनि हुने। कलेज भित्रको साइकल भित्रै, बाहिरको बाहिरै।

अझ बढी स्मार्ट हुन जानेको भए इलेक्ट्रिक साइकल नै चलाउन पाइने रहेछ। जानिएन। त्यसैले साइकल पाइदल नै हानिँदै छ। यो त भयो साइकलको कुरा। यहाँ खानादेखि नानासम्म सबै स्मार्ट पेमेन्टबाटै।

क्यान्टिनमा विच्याट पे, अली पेव अथवा युनियन पे। त्यो नभए स्टुडेन्ट कार्डबाट पेमेन्ट।

त्यति मात्र कहाँ हुन्थ्यो? लुगा धुन पनि स्मार्ट पेमेन्ट। डोर्ममा रहेको वासिङ मेसिनमा कपडा हाल्यो क्युआर कोड स्कान गर्‍यो कपडा कति किलो छ त्यही अनुसार पैसा तिर्‍यो अनिमात्र कपडा धुन पाइने। नत्र, त वासिङ मेसिनमा पानी नै नझर्ने! पैसा तिरेपछि मात्र पानी झर्ने। चलाउन नजानेर आएको दुई साता कपडा धोइएन।

यतिसम्म कि वाथरुम पनि स्मार्ट। चिसोमा तातो पानीका लागि कार्ड प्रयोग गर्नुपर्ने। दुई सातासम्म नजानेर कठ्याङ्ग्रिँदै चिसो पानीले नुहाइयो।

होस्टेलमा बिजुली पनि पैसा तिरेपछिमात्रै आउने। पैसा सकियो कि बत्ती झ्याप्प। अहिलेसम्म यो समस्या भने भोग्नुपरेको छैन।

अब कति सम्म भने, चियाको तलतल लागे पनि खान नपाएको धेरै भयो। भेण्डर मेसिनमा चिया त आउँदो रहेछ। तर, चलाउन नजानेर हैरान। तिर्खाएर प्याकप्याक भइन्छ। गोजीमा पैसा छ। भेन्डर मेसिनमा पानी छ। पैसा हाल्न नमिल्ने। पूरा स्मार्ट नहुन नसक्दा प्यासै हिँड्नुपर्ने अवस्था कायमै छ।

हामी नेपालमा काम भन्दा बढी कुरा गर्ने। गाडी गुडाउन राम्रो सडक नहुँदानहुँदै सडकमा जहाज ओराल्नेसम्मका गफ दिने तर सडकका खाल्डासमेत नपुर्ने। यहाँ पुगेपछि स्मार्ट के हो बुझ्दै छु।

हामीसँग स्रोत र साधन नभएको पनि होइन। स्मार्ट हुन हामीसँग इसेवा, खल्ती छन्। हरेक बैंकका स्मार्ट पेमेन्ट छन्। तर, हामीलाई बिजुलीको बिल तिर्नदेखि खानेपानीको बिल तिर्न पनि लाइनमा बस्नुपर्ने। सरकारी काम गर्दा लाइनमा बसेर रसिद काट्नैपर्ने।

'ट्रान्सक्रिप्ट' हात पार्न देशकै ठूलो त्रिभुवन विश्वविद्यालयमा धाउँदाको अवस्थाले हामी कुन युगमा छौं भन्ने देखाउँछ। तर, अध्ययनकै खातिर यहाँ आइपुग्दा भने फरक युगमा पुगेको अनुभूति हुँदैछ। स्मार्ट सिटीका परिकल्पना गर्दै भाषण दिने नेपालका नेताहरुले यहाँको जस्तै स्मार्ट अवस्था देखेर गफ दिएका हुन् कि त्यसै हावामा भन्ने चाहिँ खुट्याउन गाह्रो परिरहेको छ अहिले।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell