PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

अस्ट्रेलियाको राजधानी क्षेत्रमा गाँजामाथिको प्रतिबन्ध हट्यो



पहिलोपोस्ट

अस्ट्रेलियाको राजधानी क्षेत्रमा गाँजामाथिको प्रतिबन्ध हट्यो
फोटोः एबिसी न्युज

अस्ट्रेलियाको राजधानी क्षेत्रमा अब गाँजाको उपभोग खुला गरेको बिबिसी, द गार्जियनले जनाएका छन्। सन् २०१६ मा अस्ट्रेलियाले मेडिकल उपचारमा गाँजाको उपयोग खुला गरेको थियो।

अस्ट्रेलियाको संसदले राजधानी क्यानबेरा र राजधानी क्षेत्र (द अस्ट्रेलियन क्यापिटल टेरिटोरी–एसिटी)भित्र गाँजाको उपभोग गर्न पाउने विधेयक पारित गरेपछि अब राजधानी क्षेत्रभित्र गाँजाको व्यक्तिगत उपभोग गर्न पाउने छन्। 

एसिटीका सांसदले बुधबार पारित गरेको विधेयक अनुसार अब राजधानी क्यानबेरा क्षेत्रभित्र कुनै पनि वयस्क व्यक्तिले ५० ग्रामसम्म गाँजा साथमा राख्न पाउने छन् भने घरमा चार वटासम्म गाँजाको बोट हुर्काउन पाउने छन्। तर राजधानी क्यानबेरा क्षेत्रबाहिर भने गाँजाको मेडिकलबाहेक व्यक्तिगत उपभोग गर्नमा लगाइएको प्रतिबन्ध कायमै छ। तर पनि आज पारित विधेयक संघीय संसदबाट उल्टाउन भने सकिन्छ। 

विश्वका क्यानडा, स्पेन, उरुग्वे लगायतका देश र क्यालिफोर्नियासहित अमेरिकाको केही राज्यमा व्यक्तिगत रुपमा गाँजाको उपभोग गर्न कुनै प्रतिबन्ध छैन।

अस्ट्रेलियाको स्वास्थ्य विभागका अनुसार १४ वर्षभन्दा माथिका करिब ३५ प्रतिशत अस्ट्रेलियालीले आफ्नो जीवनकालमा कम्तीमा पनि एकपल्ट गाँजासेवन गर्ने गरेका छन्।

राजधानी क्यानबेरा क्षेत्रमा करिब ४ लाख बासिन्दा बस्छन्। यो क्षेत्रमा राजधानी क्यानबेरा शहर र यस वरिपरिका भूभाग पर्छन्।
आगामी जनवरी महिनाको ३१ तारिखबाट आज पारित कानुन लागू हुनेछ। तर बालबालिकाको छेउछाउ वा सार्वजनिक स्थलमा गाँजासेवन गर्न र बेचबिखन गर्न भने पाइने छैन।

गाँजा समर्थकहरुका अनुसार नयाँ कानुनले लागुऔषधका प्रयोगकर्ताको जोखिम घटाउने दाबी गर्छन् भने विरोधीहरु यसबाट गाँजासेवन गर्नेको संख्या ह्वात्तै बढ्ने बताउँछन्।

तर एसिटीले राज्यको मान्यता पाएको छैन। यसअघि पनि एसिटीले पारित गरेका कतिपय कानुन संघीय सरकारले उल्टाइदिएकाले यो कानुन पनि उल्टाइदिने सम्भावना रहेको छ। यसअघि सन् २०१३ मा एसिटीले समलिंगी विवाहलाई मान्यता दिएको कानुन सरकारले उल्टाइदिएको थियो।

गाँजासेवनमाथि प्रतिबन्ध हटाएका सांसदहरुले बुधबार यो कानुन संघीय सरकारले नउल्टाउने विश्वास व्यक्त गरेका छन्। तर उनीहरुले यसमा केही कानुनी जटिलता भने रहेको स्विकारेका छन्। 

एसिटीको संसदमा महान्यायाधिवक्ता गोर्डन रामसेले आज पारित कानुनले कुनै पनि व्यक्तिले गाँजासेवन गर्दा संघीय कानुनअन्तर्गत पक्राउ पर्नबाट जोगाउन नसक्ने बताए।

छिमेकी राष्ट्र न्युजिल्यान्डले भने गाँजासेवन माथिको प्रतिबन्ध खुला गर्ने वा कायमै राख्ने भनेर अर्को वर्ष जनमत संग्रह गर्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell