काठमाडौं : 'द भ्वाइस अफ नेपाल'का कोच राजु लामाले उनको डाइ हार्ट फ्यान अस्पतालको शैयामा रहेको थाहा पाएपछि मन थाम्न सकेनन्। उनको फ्यान एसिड आक्रमणबाट पीडित रहेको थाहा पाएपछि उनी कीर्तिपुर अस्पताल नै पुगे। उनी मुस्कान खातुनलाई भेट्न गएका हुन्, जसलाई प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक युवकले एसिड प्रहार गरेका थिए।
तेजाब आक्रमणमा परेकी वीरगंजकी १४ वर्षीया मुस्कानको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। पीडामा रहेकी उनलाई हिजो (मंगलबार) भने घाउमा मल्हम लगाएकै महशुस भयो। उनी जसको फ्यान थिइन् उनै आफ्नो अगाडि देख्दा निकै खुसी भइन्।
अस्पताल पुगेका लामा र उनको ब्यान्ड मंगोलियन हर्टको टोलीले मुस्कानलाई भेटेसँगै आफूले १८ वर्ष अघि गाएको 'तिमीलाई देखेर हिमाल हाँसेको' बोलको गीत गाएर सुनाए।
ब्याण्ड मेम्बरमार्फत उनले खातुन आफ्नो फ्यान रहेको र हाल एसिड आक्रमणका कारण अस्पतालमा उपचार गरिरहेको थाहा पाएका थिए।
गायक लामाले पहिलोपोस्टसँग भने, 'मुस्कानले भेट्ने इच्छा राखेको थाहा पाएँ। पीडामा रहेकी उनलाई इमोशनल सपोर्टको लागि अस्पताल पुगेँ।'
मंगोलियन हर्टका गायक लामा यतिबेला 'द भ्वाइस अफ नेपाल'मा व्यस्त छन्। द भ्वाइसमा कोचको भूमिका सम्हालिरहेका राजुको मुस्कानको चर्चा पनि निकै हुने गरेको छ।
कसैको पीडा सहन नसक्ने राजु लामाले हालै पीडित मुस्कान खातुनको घाउमा मल्हम लगाउने प्रयत्न गरे। उनले गाएको उक्त गीत उज्जल विक्रम थापाले ट्वीटरमा शेयर गरेका छन्।
तेजाब आक्रमण कि पीडित मुस्कान को लागि गाना गाएर राजु लामा जी ले जुन खुशी दिनु भयो शब्दमा वर्णन गर्न सक्दिन।एउटा चिज अवस्य भन्न सक्छु @RajuLama you are a man with a golden heart. Thank you from all of us fighting for Muskan. Life imprisonment for acid attackers. pic.twitter.com/aQ5DPOpP8K
— Ujjwal Bikram Thapa (@UjjwalBikram) September 25, 2019
भिडियो पोस्ट गर्दै थापाले लेखेका छन्, 'तेजाब आक्रमणकी पीडित मुस्कानको लागि गाना गाएर राजु लामाजीले जुन खुसी दिनु भयो शब्दमा वर्णन गर्न सक्दिन। एउटा चिज अवश्य भन्न सक्छु, राजु लामा तिमी सुनको मुटु भएका मान्छे हौ। मुस्कानको लागि लड्ने सबै जनालाई धन्यवाद।'