
काठमाडौंः दक्षिण एसियाली खेलकुद अन्तर्गत काठमाडौंमा जारी साफ यू १८ मा आज भएको खेलमा भारतले श्रीलंका माथि ३–० को जित निकालेको छ।
समूह 'बी' को आज भएको खेलमा श्रीलंकालाई पराजित गर्दै भारतले सेमिफाइनल यात्रा तय गरेको हाे।
पहिलो हाफ बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा भारतले अग्रता बनाएको थियो। खेलको ६५ औं मिनेटमा गुरकिरत सिंहले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए। खेलमा भारत हावी भए पनि पटकपटक बनाएको गोलको अवसरमा चुकेको थियो। खेलकाे अन्तिम समयमा भारतका लागि फेरि गुरकिरत सिंहले नै अर्काे गाेल गर्दै अग्रता दाेब्बर बनाए। त्यसकाे २ मिनेट पनि नबित्दै अमन क्षेत्रीले ९५ औं मिनेटमा गाेल गर्दा भारतले ३–० काे गाेलअन्तरकाे जित निकाल्याे।
यो सँगै समूह 'बी' बाट बंगलादेश र भारत सेमिफाइनल प्रवेश गरेका छन्। यता समूह ए बाट भुटान र माल्दिभ्सले सेमिफाइनलको यात्रा तय गरिसकेका छन्।
बंगलादेश र भारतको गोलअन्तर र अंक बराबरी भएका कारण गोलप्रथाबाट भारत समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गर्याे।
अब, शुक्रबार सेमिफाइनलमा भुटान र बंगलादेश तथा भारत र माल्दिभ्स प्रतिस्पर्धा गर्नेछन्। भुटान र बंगलादेशबीचको खेल शुक्रबार ११ बजेबाट सुरु हुनेछ। त्यस्तै, भारत र माल्दिभ्सको खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ। दुवै खेल हलचोक स्थित सशस्त्र प्रहरीको मैदानमा हुनेछ।
प्रतियोगितामा आयोजक तथा डिफेन्डिङ च्याम्पियनसमेत रहेको नेपाल समूह चरणबाटै बाहिरियो। माल्दिभ्ससँग १–१ को बराबरीमा रोकिएको नेपाल भुटानसँग ३–० ले पराजित भयो। ह्याट्रिकको लक्ष्य लिएको नेपाल घरेलु मैदानमै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको हो। आजको खेलमा पराजय भोगेसँगै श्रीलंका पनि प्रतियोगिताबाट बाहिरिएको छ।