PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सुमिनाको नामको आइडीबाट भएको त्यो शंकास्पद ६० हजार रुपैयाँ कारोबार जसलाई 'ट्र्याक' गर्दा प्रहरीले भेट्यो ५ करोडको ठगी



सविन ढकाल

सुमिनाको नामको आइडीबाट भएको त्यो शंकास्पद ६० हजार रुपैयाँ कारोबार जसलाई 'ट्र्याक' गर्दा प्रहरीले भेट्यो ५ करोडको ठगी

काठमाडौं : गत शनिवार काजीमान गोपालले कास्कीबाट कार्साङ डोल्मा तामाङको नाममा पि.आर. ३८५७२२२७६ नम्बरबाट पानस रेमिट्यान्समा ६० हजार रुपैयाँ पठाए। शनिवार परेकाले डोल्माले रकम निकाल्न पाइनन्। भोलिपल्ट उनी पुगिन् पानस रेमिट्यान्स पुगिन् र काजीमानले पठाएको रकमको नम्बर कोड दिएर पठाएको रकम सजिलै बुझिन्।

तर, यसैगरी रकम पठाउने र निकाल्ने क्रम छिनछिनमै चलिरह्यो। फरक फरक नाम तर उति नै रकम ट्रान्सफर भइरह्यो। तर, सधै रेमिट्यान्स कम्पनी कर्मचारी सुमिना धितालको युजर आइडीबाट मात्र रकम ट्रान्सफर भइरहेको थियो। उनको नाममा पैसा ट्रान्सफर भइरहेपछि त्यहाँ काम गर्ने कर्मचारीले भने उनको नामकै कारण पटक पटकको लेनदेनमा चासो राखे।

कर्मचारीले सुमिनाको मात्र आइडिबाट ट्रान्सफर भइरहेपछि शंका लागेर आइतबार दिउँसो उनीहरुले प्रहरीलाई खबर गरे। महानगरीय अपराध महाशाखाको टोली करिब ३ बजे रेमिटेन्सको कार्यालय पुग्यो।

सुमिनाको नाममा पैसा आउनेक्रम र बुझ्न जाने क्रम जारी थियो। चौथो पटक यसैगरी रकम बुझ्न पुगेका थिए २६ वर्षीय सञ्जय घले। उनलाई तत्काल प्रहरीले नोटिसमा लिइहाल्यो।

'लवाङ दाइले पैसा झिक्न पठाउनु भएको हो,' उनले बताएका थिए।

सञ्जयबाट फुत्किएको त्यो सूचनाले प्रहरीको अनुसन्धान 'लवाङ दाइ' तिर मोडिन्यो। नुवाकोट मेघाङ गाउँपालिका वडा नम्बर ४ का ४३ वर्षीय लवाङको कोठामा आइतबार राति ११ बजेतिर प्रहरी पुग्यो।

लवाङको निर्देशनअनुसार अन्य ४ जनाले ६० हजारको दरले रेमिटेन्सबाट रकम झिकेको सूचना प्रहरीले रेमिट्यान्स कम्पनीबाट लिइसकेको थियो। अप्रत्यासित रुपमा भएको यस्तो कारोबारको ट्र्याक गर्दै ४ पटक ६० हजारका दरले निकालिएको २ लाख ४० हजार रुपैयाँसहित लवाङलाई नियन्त्रणमा लिन पुगेको प्रहरीहरु एकाएक आश्चर्यमा परे।

लवाङले २ लाख ४० हजार त होइन, साथ रहेको ३१ लाख रुपैयाँ प्रहरीको हातमा पो थमाए!

'उसले त्यति रकम नदिएर २ लाख ४० हजारमात्र देखाएको भए हाम्रो अनुसन्धान पानस रेमिट्यान्समा नै पूर्णविराम लाग्थ्यो हो,' महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले भने।

एकाएक ३१ लाख रुपैयाँ घरमै फेला परेपछि शंकाको सुई लवाङतिर सोझिने भयो नै। लवाङको साथमा कसरी आयो ३१ लाख रुपैयाँ?

आफूलाई जडीबुटी व्यापारी बताउने लवाङले भने, 'कृषि विकास बैकबाट झिकेर ल्याएको।'

रेमिट्यान्समार्फत् हुँदै गरेको गडबडी पहिल्याउन हिँडेको प्रहरीसामु ठूलै केस हात लाग्दै थियो। कृषि विकास बैंकबाट लुटिएको ४ करोड ७३ लाख ९६ हजार को क्लु यही भेटिएको हो।

ह्याकर समूहले रेमिट्यान्समा आफै पिआर ३८५७२२२७६ नम्बरको आइडी बनाएर विभिन्न ठाउँबाट सुमिना धितालको नाममा ६०/६० हजार रुपैयाँ पठाएका रहेछन्।

वीरगन्ज, पोखरा, तुलसीपुर, धनगढी, चितवन लगायत स्थानबाट एकै दिन २० वटा फरक फरक पिन नम्बर र पठाउने व्यक्तिबाट सुमिनाको नाममा जनही ६० हजार रुपैयाँ पठाइएको थियो। यसरी आएको रकम निकाल्न भने लवाङले रसुवाकी लक्ष्मी तामाङ, निमा तामाङ र निर्मला तामाङलाई लगाएका थिए। उनीहरू नातेदार समेत हुन्। सञ्जयकी माइजू हुन् लक्ष्मी तामाङ। निमा लक्ष्मीका नातामा छोरा। लवाङ र लक्ष्मीबीच २७ लाख रुपैयाँको कारोबार समेत भएको अनुसन्धानमा देखिएको छ।

कसरी ट्रान्सफर भयो कृषि विकास बैकको करोडौं रुपैयाँ?

लवाङलाई लिएर अनुसन्धान सुरु गरेको प्रहरीले कृषि विकास बैकको कर्मचारीको युजर आइडी प्रयोग भएर झन्डै पाँच करोड रुपैयाँ अरू एकाउन्टमा ट्रान्सफर भएको पत्ता लगायो। सिराहाको लहान बजारमा रहेको कृषि विकास बैकको शाखाबाट ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ विभिन्न व्यक्तिको नाममा ट्रान्सफर भएको थियो। यसरी एकाउन्टमा ट्रान्सफर भएको रकममध्ये प्रहरीले झिकिएको ६१ लाख रुपैयाँ बरामद गरिसकेको छ।

लवाङ तामाङ नेपालमा बसेर बैकको युजर आइडीबाट व्यक्तिगत खातामा आएको रकम झिक्थे। र, त्यो रकम भारतमा रहेका भनिएका कालु भनिने पिटरलाई पठाउँथे। लवाङ बैंक ठगीको एजेन्टमात्र भएको महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।

'युजर आइडीबाट विभिन्न खातामा आएको रकम झिकेर १० प्रतिशत आफैँ राखी बाँकी भारतमा रहेका मुख्य योजनाकारलाई पठाउने गरेको देखियो,' एसएसपी थापाले भने।

लवाङले बैकबाट झिकिएको पैसा हुन्डीमार्फत् भारत पठाएका थिए। प्रहरीले हुन्डी मार्फत् पैसा पठाउने न्यूरोडका सुन व्यापारी सुवनकार पञ्जालाई पनि नियन्त्रणमा लिइसकेको छ। उनी भारतको कोलकाताका हुन्। 'ऊ मार्फत् एक पटक १० लाख रुपैयाँ भारत पठाएको देखिएको छ,' एसएसपी थापाले भने।

काले मुख्य योजनाकार!

६० हजारको अप्रत्यासित कारोबारबाट अनुसन्धानमा जुटेको प्रहरीले नेपालको बैङ्कबाट पाँच अर्ब रुपैयाँ लुट्ने योजनासहित परिचालित भएका १२ जना एजेन्टलाई नियन्त्रणमा लिएको छ। प्रहरी नियन्त्रणमा पर्नेमा ४ जना बैकका ऋणी समेत रहेका छन्।

'भारतमा बसेर बैङ्कबाट पैसा लुट्ने योजना बनाएको देखिन्छ,' महाशाखाका एसपी सहकुल थापाले भने, 'उनीहरूले ५ अर्ब रुपैयाँ लुट्ने लक्ष्य लिएका रहेछन्।'

काले भनिने पिटर पटकपटक नेपाल आएको र नेपाली भाषा समेत राम्रोसँग बोल्न जान्ने प्रहरी अनुसन्धानमा खुलेको छ। प्रहरी नियन्त्रणमा रहेका लिवाङको बयान र मोबाइलमा भेटिएको वीच्याट मार्फत् पाँच अर्ब लुट्ने योजनाको खुलासा भएको एसएसपी थापाले जानकारी दिए।

'कालुले नचिनेको र विश्वास गर्न नसक्ने व्यक्तिको एकाउन्टमा पैसा हालेकै छैन,' एसएसपी थापाले भने।

पिटरले आफ्ना एजेन्टलाई १० देखि ३५ प्रतिशतसम्म कमिसन दिएर लुटिएको रकम भारत पठाउन लगाउँथे। उनले नेपालमा आएर आफ्नो विश्वासपात्र बनाएका व्यक्तिको बैक खाता खोल्ने र त्यसमा रकम ट्रान्सफर गराउँथे। उनले ११ जनाको एकाउन्टमा रकम ट्रान्सफर गरेको खुलेको छ। धनगढीमा रहेको बैकको शाखाबाट १९ लाख रुपैयाँ झिकिएको छ।

कालुको नै योजनामा कृषि विकास बैंकमात्र होइन, नबिल बैकसम्म लुट्ने तयारी थियो।

लुट्नकै लागि बैकमा नयाँ खाता

कृषि विकास बैकबाट ह्याक गरेर लुटिएको रकम व्यवस्थापन गर्न लुटेरा समूहले एजेन्टका नाममा नयाँ बैक खाता खोल्न लगाएका थिए। कृषि विकास बैकको युजर प्रयोग गरेर सोही बैकको खाता नम्बरमा रकम ट्रान्सफर गर्नुपर्ने भएकाले त्यहीँ नयाँ खाता खोलिएको बैकका उप महाप्रबन्धक दीर्घ अर्यालले जानकारी दिए।

'रकम ट्रान्सफर भएका धेरै एकाउन्ट नयाँ छन्। खोलेको केही महिनामात्र भएको देखिन्छ,' अर्यालले भने।

लुटका लागि उनीहरूले कृषि विकास बैङ्कको लहान शाखामा रहेको युजर आइडीमात्र प्रयोग गरेको देखिएको छ। ट्रान्सफर भएको ४ करोड ७३ लाख रुपैयाँ लहान शाखाको मात्र हो। लहान शाखामा राम सहदेव यादव म्यानेजर छन्। त्यहाँको कर्मचारीका तीनवटा युजर आइडी ह्याकिङमा प्रयोग भएको छ। लुटेरा समूहले बैकको युजर आइडी ह्याक गरे वा कर्मचारीले नै दिए भन्ने चाहिँ अहिलेसम्म खुलेको छैन। बैकले त्यहाँ कार्यरत म्यानेजरसहित ६ जना कर्मचारीलाई निलम्बन गरिसकेको छ। 'कर्मचारीको संलग्नता छ कि भन्ने आशङ्कामा कर्मचारी निलम्बन गरिएको हो,' अर्यालले भने।

बैकमा रकम ट्रान्सफर गर्ने 'मेकर' र 'चेकर' दुई आइडी हुन्छ। चेकरले रकम पठाउन मेकरसँग अनुमति माग्छ। मेकरले अनुमति दिएपछि मात्र बैकबाट अरूको एकाउन्टमा रकम ट्रान्सफर हुन्छ। शाखामा चेकर बैक म्यानेजर र मेकर असिस्टेन्ट लेभलका कर्मचारी हुन्छन्।

तर, अनौठो के छ भने लुटेराले सौराहको युजर आइडी, लहानको कम्प्युटर प्रयोग गरेर नुवाकोटबाट समेत रकम झिकिएको छ। कैलालीको भजनी, नुवाकोटको त्रिशूली, काठमाडौंको बालाजु लगायतका शाखाबाट पैसा निकालिएको छ।

प्रहरीले लवाङ तामाङ, लक्ष्मी लामा तामाङ, संजय घले, निर्मला तामाङ, निमा तामाङ, पुष्पराज खड्का, विद्यासागर लामिछाने, श्रवणकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ, शुवन्धर पन्जा, बिजय साह, चन्द्रबहादुर बुढालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell