संयुक्त राष्ट्र संघको महासभाको ७४ औं सत्रमा सहभागी हुन न्युयोर्क पुगेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली नेतृत्वको टोली उच्चस्तरीय भेटघाट तथा समारोहमा सहभागी भइरहेको छ।
न्युयोर्क पुगेको टोलीले अफ्रिकी मुलुक घानासँग औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना गरेको छ। परराष्ट्र मन्त्री ज्ञवाली र घानाका परराष्ट्र मन्त्री सिर्लेइ अयोको वोत्चोयले संयुक्त रुपमा कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। राष्ट्र संघ मुख्यालयमा आयोजित कार्यक्रममा मन्त्रीस्तरीय द्विपक्षीय छलफल भएको थियो। छलफलसँगै उक्त समझदारीपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। योसँगै नेपालले १६८ देशसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ।
छलफलमा दुवै देशले द्विपक्षीय तथा बहुपक्षीय मञ्चहरुमा मिलेर अगाडि बढ्ने सहमति भएको छ।
यसैबीच परराष्ट्र मन्त्री ज्ञवालीले राष्ट्रसंघीय महासभाका क्रममा भूपरिवेष्ठित राष्ट्रहरुको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा मन्त्री ज्ञवालीले भूपेरिवेष्ठित राष्ट्रहरु अन्य देशको तुलनामा पूर्वाधार विकासमा पछि परेको बताए। उनले भूपेरिवेष्ठित देशहरुबीच सम्पर्क सञ्जाल विस्तारमा जोड दिए।
यसैबीच परराष्ट्रमन्त्री ज्ञवालीले महासभाको साइडलाइनमा विभिन्न देशका समकक्षीसँग भेटवार्ता गरेका छन्। मन्त्री ज्ञवालीले भेनेजुएलाका परराष्ट्रमन्त्री जर्ज अल्बर्टो अर्रेआज मोन्तेसेरातसँग भेट गरेका छन्। भेटमा दुइ देशबीच साझा समस्याका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भेटवार्ताको थप विषय भने मन्त्रालयले खुलाएको छैन।
भेनेजुएलाको परराष्ट्र मन्त्रालयले भने परराष्ट्र मन्त्री ज्ञवालीसँग भेनेजुएलाका विदेश मन्त्री जर्जले न्युयोर्कमा गरेको भेटबारे भेनेजुएला र नेपालका विदेश मन्त्रीबीच मित्रता, सम्मान र आपसी सहयोगका आधारमा द्विपक्षीय सम्बन्ध विकासबारे छलफल भएको भन्दै उल्लेख गरेको छ।
पछिल्लो समय भेनेजुएलामा राजनीतिक संकट गहिरिँदै जाँदा नेपाल भेनेजुएलाको पक्षमा उभिएको थियो। भेनेजुएला मामिलामा सत्तारुढ दल ने क पाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको वक्तव्यपछि नेपाल र अमेरिकाबीच कूटनीतिक टकराव बढेको थियो। त्यस्तै भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा जुनियर निकोलससहितको युवा टोलीले यसैवर्ष नेपालको भ्रमण गरेको थियो।
यता परराष्ट्र मन्त्री ज्ञवालीले साइडलाइनमै बहराइन, नर्वे र साउदी अरेबियाका परराष्ट्र मन्त्रीसँग पनि भेटवार्ता गरेका छन्।
बहराइनका परराष्ट्र मन्त्री खालिद बिन अहमद अल खलिफासँगको भेटमा द्वीपक्षीय सम्बन्धका साथै कामदारको विषयमा छलफल भएको थियो। त्यस्तै नेपालको पर्यटन, व्यापार तथा लगानीका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
त्यस्तै मन्त्री ज्ञवाली र साउदी अरेबियाका परराष्ट्रमन्त्री डा इब्राहिम बिन अब्दुलाजिज अल असिफबीच भएको छलफलमा दुई देशबीच पाइपलाइनमा रहेका विभिन्न सम्झौतालाई अन्तिम रुप दिन सहमति भएको छ। त्यस्तै नर्वेका अन्तर्राष्ट्रिय विकास मन्त्रीसँगको भेटमा जलवायु परिवर्तन तथा नेपालमा लगानी तथा साझेदारीका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।