
आइसिसीले जारी गरेको नयाँ टी २० वरीयतामा नेपाली टोलीका कप्तान पारस खड्का यसअघिकै स्थानमा यथावत रहेका छन्। वरीयतामा पारस खड्कासँगै बसन्त रेग्मी र सोमपाल कामी पनि परेका छन्।
ब्याटिङतर्फ खड्का ४१७ रेटिङ पाउँदै ६६ औं स्थानमा छन्। उनले यसमा क्रिस गेल, महेन्द्रसिंह धोनी, सुरेश रैना लगायतका खेलाडीलाई पछि पारेका छन्।
यस्तै अलराउन्डरतर्फ उनी २७ औं स्थानमा छन्। खड्काले अलराउन्डरमा राशिद खान, जोय रुट, क्रिस मोरिस लगायतलाई पछि पारेका छन्।
यता बलिङमा नेपाली टोलीका सोमपाल कामी र बसन्त रेग्मीले स्थान बनाएका छन्। बसन्त रेग्मी ४११ रेटिङ पाउँदै ७३ औं स्थानमा पुगेका छन् भने सोमपाल कामी ३९१ रेटिङ पाउँदै ७८ औं स्थानमा झरेका छन्। यसअघि बसन्त रेग्मी र सोमपाल कामी समान १–१ स्थान तल झरेका हुन्।
नयाँ वरीयतामा ब्याटिङतर्फ पाकिस्तानका बाबर आजम ८९६ रेटिङ सहित शीर्षस्थानमा छन्। त्यस्तै, अस्ट्रेलियाका ग्लेन म्याक्सवेल र न्युजिल्यान्डका कोलिन मुनरो क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।
अल राउन्डरतर्फ अस्ट्रेलियाका ग्लेन म्याक्सवेल शीर्ष स्थानमा छन्। उनले ३९० रेटिङ पाएका छन्। दोस्रो स्थानमा बंगलादेशका सकिब अल हसन रहेका छन्। उनको ३५५ रेटिङ पाएका छन्। त्यस्तै ३३९ रेटिङ पाएका अफगानिस्तानका मोहम्मद नाभी तेस्रो स्थानमा छन्।
त्यस्तै बलिङतर्फ अफगानिस्तानका राशिद खान शीर्ष स्थानमा छन्। उनले ७५७ रेटिङ पाएका छन्। यस्तै दोस्रो र तेस्रो स्थानमा पाकिस्तानका इमाद वाजिम र सादाब खान रहेका छन्। उनीहरुको रेटिङ क्रमश ७१० र ७०६ रहेको छ।