
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आन्दोलनपछिका नेताहरु राणाकालका बडाहाकिम जस्तो हुँदै गएको बताएका छन्।
रुपन्देहीमा आजबाट सुरु भएको तिलोत्तमा लगानी सम्मेलनमा बोल्दै प्रचण्डले नेताहरुलाई पुरानो संरचनाले भुत्ते बनाउँदै लगेको पनि बताए।
'राणाशाहीविरोधी आन्दोलनदेखि आजसम्म पनि एउटा विचित्रको परिघटना हामी देख्न सक्छौं। जनता, पार्टी नेता र कार्यकर्ताहरुले आन्दोलन गर्ने राजनीतिक परिवर्तनका ठूलाठूला घोषणा गर्ने तर केही वर्षपछि नेताहरुलाई पुरानो संरचनाले बिस्तारै भुत्ते बनाउँदै लगेर आफू जस्तै बनाइदिने।'
उनले थपे, 'राणाशाही बेलाका हाकिम बडाहाकिम जस्ता थिए, आन्दोलनपछिका नेताहरु पनि बिस्तारै बडाहाकिम जस्ता भए। पञ्चायतपछि विरोधी आन्दोलनपछि धेरै कुरा हुन्छ भनेको तर हामी पनि त्यस्तै त्यस्तै भयौं।'
उनले संघीयताको विषयमा नकारात्मक प्रचार भएको पनि बताए। उनले लोकतान्त्रिक गणतन्त्र अन्य परिवर्तनभन्दा फरक भएको बताए।
'निर्वाचन भए काम सुरु भएको दुई वर्ष पनि भएको छैन, डेढ वर्ष भएको छ। एकथरी मान्छेहरुले डेढ वर्षमा नै धेरै चमत्कार हुनुपर्थ्यो भनेर असाध्यै धेरै नकारात्मकता फैलाउने अभिव्यक्ति दिएको सुन्ने गरेका छौँ। झन्डै अढाइ सय वर्षदेखि तानाशाही र निरंकुशताले जर्जर बनाएको नेपाली समाजलाई डेढ वर्षमा नै चमत्कार गर्न सक्नुपर्थ्यो भनेर सोच्नु एउटा कल्पना त हुनसक्छ। तर त्यो यर्थाथमा आधारित हुँदैन। स्वैर कल्पना जस्तो मात्रै हुन्छ।'
उनले थपे, 'अढाई सय वर्षयता यति फोहोर थुप्रिएको छ समाजमा हाम्रो सोचहरु, शैली, संस्कारहरुमा त्यसलाई पखाल्न केही समय त हामीले हेर्नै पर्छ।'
उनले आलोचनाहरु र नकारात्मक टिप्पणीहरुले फेरि निरंकुशता, तानाशाही र प्रतिगमनलाई मद्दत गर्न नपाओस् भन्नेतर्फ सतर्क हुनुपर्ने बताए। उनले प्रगति, परिवर्तन, विकासका विषयमा छलफल चल्नुपर्ने बताए। उनले भने, 'डेढ वर्ष धेरै होइन।'
सरकारले आवश्यक पर्ने ऐनकानुन समयमै बनायो, विकासलाई गति दियो अन्तर्राष्ट्रिय सम्बन्धलाई बलियो बनायो, छिमेकीसँगको सम्बन्धलाई सन्तुलित बनायो भने हामी सबैको निम्ती खुसीकै कुरा हुने बताए। 'हामीले त्यसो गर्न सकेनौँ भने त अब साढे तीन वर्षपछि अर्को पार्टीलाई जनताले फैसला गर्न सक्छन्। मौका दिन सक्छन्। तर अहिले नै कोही आत्तिनुपर्ने परिस्थिति छैन।'
लोकतान्त्रिक प्रणाली अन्तर्गत जनताले गरेको फैसला स्विस्कार्न तयार हुने पनि बताए। जहिल्यै नकारात्मक र ध्वंसात्मक मात्र हुन थालियो भने कहीँ पनि नपुग्ने बताए।