PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

निजी मेडिकल कलेजको स्वामित्व लिएर आफैं सञ्चालन गर्न सरकारलाई अनेरास्ववियुको आग्रह



पहिलोपोस्ट

निजी मेडिकल कलेजको स्वामित्व लिएर आफैं सञ्चालन गर्न सरकारलाई अनेरास्ववियुको आग्रह

काठमाडौँ : सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को विद्यार्थी संगठन अनेरास्ववियुले सरकारलाई निजी मेडिकल कलेजको स्वामित्व लिएर आफैंले सञ्चालन गर्न आग्रह गरेको छ।

निजी मेडिकल कलेज सञ्चालकहरुले कलेज सञ्चालन गर्न नसक्ने भन्दै सरकारलाई साँचो बुझाउने भनेपछि अनेरास्ववियुले बिहीवार एक विज्ञप्ति जारी गर्दै सरकारलाई सो आग्रह गरेको हो।

अनेरास्ववियुका केन्द्रीय संयोजक ऐन महरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राज्यको नीति नियममा बसेर साँच्चिकै कलेज चलाउन नसक्ने हो भने राष्ट्रिय चिकित्सा शिक्षा ऐनको प्रावधान समेतलाई दृष्टिगत गर्दै त्यस्ता कलेजहरुको जिम्मा लिएर आफैं सञ्चालन गर्न वा राज्यको नीति नियम मान्ने अन्य निकायलाई सञ्चालन गर्ने जिम्मा दिन नेपाल सरकारलाई आह्वान गर्दछौं।’

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ मा सबै मेडिकल कलेजहरुलाई १० वर्षभित्र गैरनाफामूलक र सेवामूलक बनाउने प्रावधान राखिएकाले सरकारले तोकेको शुल्कसमेत घटाउँदै लानुपर्नेमा उल्टो मनपरि ढंगले शुल्क बढाउने र सरकार लगायतका नियमनकारी निकायको निर्देशन अवज्ञा गर्ने विषय आपत्तिजनक रहेको विज्ञप्तिमा भनिएको छ।

सरकारले चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस तहमा उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ५० हजारभन्दा बढी शुल्क लिन नपाउने मापदण्ड तय गरेको छ। तर, निजी मेडिकल कलेज सञ्चालकले त्यसविपरीत मनपरि शुल्क लिँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell