PahiloPost

Dec 23, 2024 | ८ पुष २०८१

प्रेमको संसारमा सञ्जीव उप्रेतीको विचरण अर्थात् हंस



भावना शर्मा

प्रेमको संसारमा सञ्जीव उप्रेतीको विचरण अर्थात् हंस

यतिबेला म जिरो माइलमा छु। जिरो माइल अर्थात् गन्तब्यको अन्त्य। यहाँ लेखक तथा प्राध्यापक डा. सञ्जीव उप्रेती परिवारसँग बस्छन्। मानिस जीवनभर यात्रा गर्छ तर उसको फर्किने गन्तब्य घर नै हो। त्यसैले पनि यो घरको नाम 'जिरो माइल' राखिएको होला। रातभरको ठूलो पानीले मालीगाउँ हाइट पखालिएर सुकिलो छ। जिरो माइलको गेट खोल्नेबित्तिकै भिजेको दुबोको बासना चल्यो। फराकिलो आँगन र रुख विरुवाले ढाकिएको घरमा डा. सञ्जीवसँग प्राणी र प्रकृतिबीचको अन्तरसम्बन्ध सुनिरहँदा चराहरुको कल्याङमल्याङ रमाइलो लागिरहेछ। चराहरुलाई नै केन्द्रमा राखेर लेखिएको डा. सञ्जीवको उपन्यास 'हंस' शनिवार सार्वजनिक हुँदैछ।

'घनचक्कर'पछि उनले दोस्रो उपन्यास 'हंस' लेखेका हुन्। के यो पनि उत्तिकै जटिल छ? 'घनचक्कर बाबा' उपनाम समेत पाएका सञ्जीवसँग यो जिज्ञासा राख्‍नु स्वाभाविक पनि थियो।

'अहँ त्यस्तो बिल्कुलै छैन, 'संजीवले अर्थ्याए, 'हरेक आख्यानले आफ्नै संसार सिर्जना गर्छ। हरेक उपन्यासको भाषा फरक हुनुपर्छ किनभने त्यो संसारै छुट्टै हुन्छ। घनचक्करको संसार छुट्टै थियो। त्यो पागलपनको बारेमा थियो। जुन आफैंमा जटिल विषय हो। अझ त्यसमा त दुई लेभलको पागलपन थियो। यौटा ब्यक्तिको पागलपन अर्को समाजको र देशको पागलपन। त्यो आख्यानको संरचना र थिमको कारण जटिलता थपिएको थियो। तर, हंसको संसार त प्रेमको संसार हो।'

कस्तो अचम्मको कुरा गरेका लेखकले-'प्रेमको संसारमा चैं पागलपन हुन्न र?'

तीन वर्ष भयो प्राध्यापक डा. सञ्जीवले विश्वविद्यालयबाट स्वेच्छिक अवकाश लिएको। त्यसयता उनी निरन्तर प्रकृतिसंवादमा छन्। लामो समयको अध्ययन अध्यापनको ब्यस्तताबाट अलिक फुर्सदिलो दैनिकीमा पसेपछि उनी धेरै समय बुबाको हेरचाह र प्रकृतिसँगै निकट भए। ५६ वर्षका उनको फेवरेट राइड हो, मोटरबाइक। मोटरबाइक हाँकेर कहिले नागार्जुन, कहिले रानीबारी त कहिले शिवपुरी र गोदावरी। सानैदेखि किताबको संसारमा पसेका उनी पछिल्लो समय घुमन्ते बनेर प्रकृति र चराहरुको संसारमा छिरेका हुन्। झापा पुगेका बेला पनि मोटरबाइकमा डाँडाकाँडा कुद्नुमै उनी मज्जा मान्छन्।

'म त गाउँमै हुर्केको। प्रकृति मेरो वरिपरि नै थियो। तर मेरो समस्या के भैदियो भने प्रकृतिमा भन्दा किताबको संसारमा छिरेँ,’ घुम्रिएर निधारसम्म आइपुगेको कपाल सम्याउँदै उनले भने, 'जब म अक्षरको संसारमा छिरेँ किताब मेरो लागि बढी वास्तविक भैदियो। पढ्दै जाँदा विद्यावारिधिसम्म पुग्दा अझ स्पेसलाइज हुँदै गयो। आफ्नो टपिकभन्दा बाहिर कतै गएर केही सोच्नै नसकिने। त्यसरी म जति किताबको संसारमा छिर्दै गए, त्यसले मलाई प्रकृतिबाट अलग बनाउँदै लग्यो। तर, पछिल्ला केही वर्षहरुमा प्रकृतिसँग मेरो सम्बन्ध ‘इम्प्रुभ’ भएको जस्तो लाग्छ!' प्रकृतिबारे सिकाइकै चरणमा रहेको पनि उनले सुनाए।

 

सन् २०१५ मा जर्मनीमा एउटा किताब प्रकाशन भयो 'द हिडन लाइफ अफ ट्रिज, ह्वाट दे फिल, हाउ दे कम्युनिकेट, डिस्कभरीज फ्रम द सेक्रेट वर्ल्ड'। फरेष्टरका रुपमा लामो समय जंगलको अध्ययनमा बिताएका पिटर उलबेनले यस किताबमा जंगलको जादुमयी संसारबारे लेखेका छन्। किताबमा रुख विरुवासँग नजिकिँदा उनले पत्ता लगाएका तथ्यहरुबारे उल्लेख छ। अन्तर्राष्ट्रिय बेस्टसेलर बनेको 'द हिडन लाइफ अफ ट्रिज'मा रुखहरु पनि एक अर्कासँग संवाद गर्छन्। एक अर्काबारे सोच्छन्, अनुभूति गर्छन् भनेर पिटरले पाठकलाई कन्भिन्स् गराएका छन् भलै रुख विरुवाको मानिसको जस्तो मष्तिष्क र स्नायू प्रणाली हुँदैन। 

पिटरको बुझाइमा रुख विरुवाको आफ्नै संचार प्रणाली छ। उनीहरुको आफ्नै सामाजिक संजाल हुन्छ। उनीहरु एक अर्काबारे ‘फिल’ गर्न सक्छन्। एक ठाउँमा उनले एउटा ५० वर्ष पहिले ढलेको रुखको सुक्ष्म वर्णन गरेका छन्। ५० वर्षअघि ढलेर जमीनमा लडेको त्यस रुखमा अहिलेसम्म पनि ससाना पात छन्। त्यस रुखले यतिका वर्षसम्ममा पनि प्राण त्यागिसकेको रहेनछ! उनी नजिक पुग्छन्। रुखमा ससाना पात त छन् तर त्यसले आफैं फोटोसेन्थेसिस प्रक्रियाबाट खाना बनाउन नसक्ने उनको अध्ययनले पत्ता लाग्यो। तर, उनले के निष्कर्ष निकाले भने त्यस रुखका छेउछाउका अन्य रुखहरुले आफ्नो जराहरुबाट ढलेको त्यस रुखलाई वर्षौदेखि खुवाइरहेका छन्। त्यसलाई बचाइरहेका छन्।

किताबमा पिटरले रुख विरुवाको संसार मानव समाजभन्दा पनि सभ्य र उपकारी भएको निष्कर्ष निकालेका छन्।

के ती जर्मन फरेष्टर पिटरको रुखहरुको संसारजस्तै हो त सञ्जीवको चराचुरुंगीहरुको संसार पनि?

उल्टै प्रश्न फ्याँके सञ्जीवले, ‘अलास्कातिर पाइने फ्यालफ्याले प्रजातिको एउटा चराबारे तपाईंलाई थाहा छ?’

अनि सुनाउन पनि भ्याए -अलास्का र आइसल्याण्डतिर पाइने त्यो समुद्री चरा जीवनभर उडी नै रहन्छ। उ त उडिरहेकै बेला परेको पानी पिउँछ। यसो कहिलेकाहीँ तल झरेर माछा टिप्छ फेरि उडिहाल्छ। वैज्ञानिकहरुले गरेको अध्ययनमा के थाहा भयो भने यो चराले २५ वर्ष लामो आफ्नो जीवनकालमा पृथ्वीबाट चन्द्रमामा पुगेर फेरि पृथ्वीमा झरेर फेरि चन्द्रमामा पुग्ने दुरी तय गर्दो रहेछ।

बच्चाले झैं हाँस्दै उनले भने, ‘हेर्नुस् त जीवनभर कत्रो दौडधुप!’

सञ्जीवका अनुसार चराहरुलाई जति बुझ्यो उति नै रोमाञ्चक छ त्यो संसार। उनीहरुले हाम्रो बालीनाली र उत्पादन प्रणालीलाई कायम राख्‍न ठूलो मद्दत गरिरहेका छन्। उनीहरुको आफ्नै किसिमको संसार छ। पात सिउने फिस्टोले कति मजाले पात सिएर आफ्नो गुँड बनाउँछ। चराहरुले पनि खाना जोगाउँछन्। बाँसको सिन्कालाई धारिलो सुइरो बनाएर ससाना किरा उनेर राखेको पनि उनले देखेका छन्। उनले तोपचराको दैनिकी मज्जा मानेर हेरेका छन्।

'बेलुकी भएपछि उसले गोबर लगेर गुँडभित्र टाँस्छ अनि त्यसमा लगेर जुनकिरी टाँस्छ। किनभने हामीलाई जस्तै उसलाई पनि आफ्नो घर उज्यालो पारेर बस्न मन पर्दोरहेछ,'अनुहार उज्यालो पार्दै सञ्जीवले सुनाए, ‘रुख विरुवा र चराचुरुंगीमा जस्तो निःस्वार्थ रुपमा संरचनामा तल परेको ब्यक्तिलाई न्याय दिने उत्तरदायी व्यवहार हामीले विकास गर्न सकेका छैनौँ।

सञ्जीवको बगैँचामा आँप, केरा, आरु, एभोकाडो जस्ता अनेक किसिमका बोटविरुवा छन्। रुखका फलफूल चराहरुले खाइदिन्छन् त्यसैले धपाउनुपर्छ भन्ने उनलाई कहिल्यै लागेन। हामी त बजारबाट पनि किनेर खानसक्छौँ। बरु चराचुरुंगीले नै खाउन्। उनी चाहन्छन् हामीले सहभागिता, न्याय तथा समानताको कुरा गर्दैगर्दा अलिअलि चरा र रुख विरुवाको पनि कुरा गरौँ। प्रकृतिका कुरा गरौँ।

सञ्जीवलाई सानैदेखि प्रकृतिसँग प्रेम। झापामा हुर्किए पनि सरकारी डाक्टर बुबाको पछि लागेर विभिन्न ठाउँ घुमेका उनी अहिले पनि भोजपुरको जंगल धेरै सम्झिन्छन्। तर, अहिले रुख र चराहरुबारे अधिक रुचि राखेर नजिक भैरहँदा उनले बुझेको सत्य के हो भने बाल्यकालमा उनले जसरी प्रकृतिलाई मन पराउँथे त्यो त अमूर्त रहेछ। यसका विशेष तत्वहरुसँग नजिकिँदै जाँदा उनले थाहा पाए चराहरुको पनि फरक आनीबानी, रुचि र स्वभाव हुने रहेछ। रुख विरुवाको पनि आफ्नै किसिमको जीवनचक्र हुने रहेछ। मानवजातिको अस्तित्वका लागि ती सबै अत्यावश्यक रहेछन्। बल्ल उनको प्रकृति प्रेम मूर्त भैरहेको छ।

हामी धेरै जीवहरुबाट घेरिएका छौँ। ती सबै बाँच्छन्, सास फेर्छन्। हाम्रा लागि सित्तैमा अक्सिजन उत्पादन गर्छन्। बदलामा केही माग्दैनन्। प्रकृति चुपचाप परोपकार गरिरहेकै छ त। मानिसहरु चाहिँ के गर्छन् त?

'मानिसहरु परोपकार त गर्छन् तर परोपकारीहरुबीच नै संघर्ष चलिरहेको छ। तैंले बढी परोपकार गर्ने कि मैले बढी गर्ने भन्ने प्रतिस्पर्धा छ। फेरि परोपकारी काम गरेपछि फेसबुक र ट्विटरमा फोटो चढाउने होडबाजी,'यसैलाई सञ्जीव मानव केन्द्रित अन्धता भन्छन्।

मानव, चरा, जनावर, प्रकृतिबीचको अन्तरसम्बन्धले नै संसार चलेको छ। रुख विरुवा नभए पानी कसरी पर्छ? हामीले सास फेर्ने अक्सिजन कहाँबाट आउँछ? आधुनिकता र बजारबादी सोचको विकाससँगै मानिसले प्रकृतिसँगको अन्तरसम्बन्धलाई बिर्सिएको छ। दु:ख मान्दै सञ्जीवले भने, 'संसारमा हरेक दिन एउटा प्रजातिको चरा लोप भैरहेको छ। अतिवृष्टि, अनावृष्टि, भूक्षय र  तापक्रम बृद्धि यसैले त भैरहेको छ। हामी पर्यावरणीय संकटतिर बढिरहेका छौँ। प्रकृति र मानिसको अन्तरसम्बन्ध खलबलियो भने मानवतालाई नै असर पार्छ भन्ने हामीले किन बिर्सेको?'

अध्ययनले के देखाएको छ भने नेपालको भूभागमा मात्र ८ सय ५० प्रजातिका चरा बस्छन्। अमेरिका र क्यानडामा गरेर जम्मा ७ सय प्रजातिका छन्। यूरोपभर करिब ८ सयको हाराहारीमा चराको प्रजाति भेटिन्छ। नेपालमै १२ हजार प्रजातिका भन्दा बढी रुख छन् भन्ने आँकलन छ। जाडोमा साइबेरिया, मन्चुरिया, चीन जस्ता देशबाट चराहरु नेपाल आउँछन्। गर्मीका बेला चितवनमा श्रीलंकाबाट समेत चरा आउँछन्। पश्चिमी नेपालमा यूरोप र उत्तरी अफ्रिकाका समेत चरा आउँछन्। झापा र इलामतिर थाइल्याण्ड, कम्बोडिया, भियतनामतिरबाट पनि चरा आइपुग्छन्।

खासमा चराहरु त अन्तर्राष्ट्रिय छन्। मानिसलाई जस्तो उनीहरुलाई न राष्ट्रको सीमाले असर गर्छ न कुनै भिसा पासपोर्ट नै चाहिन्छ। मान्छेले त धेरै किसिमका कागजात बोकेर हिँड्नुपर्छ। भिसा, पासपोर्ट, लालपूर्जा, बसाईँसराईँ प्रमाणपत्र, विवाह प्रमाणपत्र, जन्मदर्ता प्रमाणपत्र, मृत्यु प्रमाणपत्र। हामी त कागजै कागजले घेरिएका छौँ। सञ्जीवलाई बेला-बेला मानव हराएर कागजपत्र मात्र बाँकी रहन्छ कि जस्तो पनि लाग्दो रहेछ।

खै हामी चराजस्तो सीमाहीन हुन पाएको?

केही समयअघि इलामको साहित्यिक कार्यक्रममा सहभागी भएर घर फर्किँदा घरमा गोरे कुकुर रहेनछ। सञ्जीवले गोरेलाई कहिल्यै बाँधेनन्। जर्मन सेफर्ड गोरे लामो समयदेखि परिवारको सदस्य थियो। उनले सन्तानलाई जस्तै गोरेलाई पनि कहिल्यै अंकुश लगाएनन्। गोरेले आफ्नो स्वतन्त्रता भरपूर उपभोग गर्थ्यो। बेलाबेला बाहिर जान्थ्यो। टोलका अरु कुकुरहरुसँग भेटेर फर्कन्थ्यो। यसपाली पनि घुमेर फर्किएला भनेर कुर्दाकुर्दै १० दिन बित्यो। गोरे फर्किएन।

यी १० दिनमा उनले मन बलियो बनाइसके। गोरेलाई सम्झिएर दु:खी हुनुभन्दा अब घरमा कसरी चराहरुको आगमन बढाउने भन्नेबारे उनी चराविज्ञहरुसँग छलफल गर्दा रहेछन्। 'रुख र छतबाट तल ओर्लन खोज्ने चराहरुलाई झम्टिने गोरेका कारण घरमा लामै लामो समय कुकर र चराहरुको संघर्ष चलिरहेको थियो। अब कुकुर नपाल्ने सोच्दैछु। त्यसबाट चराहरुलाई पनि खुशी मिल्ला,'उनले सुनाए 'अचेल त चराहरु गोरेकै भाँडोको पानी पिउँछन्।'

सञ्जीव ससाना खुशी बटुल्दै बाँच्न चाहन्छन्। अस्तित्ववादी दार्शनिकहरु झैं आफ्नो स्वतन्त्रता र खुशीका लागि अरुको खुशी हनन् नगर्नु उनको जीवन दर्शन हो। उनी भन्छन्, 'हामी जीवनभर उत्पादन नै त गर्छौं। नाम उत्पादन, पैसा उत्पादन, किताब उत्पादन, अनेक छन् बिधा। कोही आइफोन बोकेर खुशी होलान्, कोही ब्राण्डका गाडी चढेर। तर, मापन गर्न नसकिए पनि म खुशी उत्पादन गर्न मन पराउँछु।'

सोधेँ - 'तर बच्चाहरु खुशी भएजस्तो हामी किन खुशी हुन सक्दैनौं?'

सञ्जीवलाई लाग्छ जब हामी आफूलाई ‘ग्रो’ गर्न छोड्छौँ जीवन एकांकी हुन थाल्छ। पढाई, काम, घर ब्यवहारमा थिचिँदै जाँदा हाम्रो जीवनशैली एकोहोरो हुँदै जान्छ। रुटिनवद्ध दैनिकीमा हामी बिस्तारै नयाँपन भेट्न छोड्छौँ। खुशी हुने बाहाना पनि हराउँदै जान्छ। त्यसैले हरेक समय नयाँ कुरा सिक्ने र आफूलाई ‘ग्रो’ गरिरहने बानीले खुशी भैरहन सकिन्छ भन्ने उनको बुझाइ रहेछ। सक्रिय जीवन बिताउने र अध्ययनशील भैरहने बानीले ग्रो गर्न मद्दत पुग्छ। त्यसबाहेक संरचनाको टुप्पोमा भएकाले प्राप्त गरेको लाभलाई तल्लो तहमा रहेका मानिसलाई माथि उठाउन वितरण गर्न सकियो भने पनि खुशी हुन सकिने सञ्जीवको अनुभव छ।

१२ वर्षअघि टौदहको किनारमा सञ्जीवले हंसको प्लट बुनेका थिए। त्यसयता उनी धेरै पटक टौदह पुगिसकेका छन्। यसमा चरा र रुख विरुवा छन्। केही संसार पानीमा छ। टौदह र न्यूयोर्कमा कथाहरु घटित हुन्छन्। अरु जनावरहरुको आँखाबाट यो संसार हेर्ने दृष्टिकोणको व्याख्या हंस आख्यानले गर्छ। तह-तह भएको लेखनमा नै सञ्जीवलाई मज्जा आउने भएकाले हंसमा पनि विविध आयामहरुको प्रयोग भएको उनले बताए -'पाठकले पढ्दै जाँदा त्यसको भित्री तह छाम्न सक्छन्।'

बजारीकरण बढ्दै जाँदा मानव र प्रकृतिबीचको दुरी बढ्दै गयो। त्यसैकारण प्रकृति, चरा र वनजंगलप्रति मानिस असंवेदनशील भएको सञ्जीवको बुझाइ छ। १२ वर्षमा टौदह धेरै परिवर्तन भैसक्यो। त्यो पनि समयसँगै मानवकेन्द्रित भयो। टौदहको बीचको सानो टापुलाई अहिले सिमेन्टले घेरिएको छ। त्यस ठाउँलाई पर्यटकीय क्षेत्र बनाइएको छ। ब्यापार र पैसा त भयो तर चराहरुको जीवन त्यहाँ कठिन हुँदै गएको सञ्जीवको बुझाइ छ। अहिले टौदहको पानी र इकोसिस्टम बिग्रिएको छ। साना माछाको संख्या घटेकाले जलेवाहरुको आहारमा समस्या भएको छ।

हंसमा एउटा डाइलग रहेछ- 'संसारका सबै प्राणी र चराचुरुंगीले एक अर्काको भाषा बुझ्छन् तर अरु कसैको भाषा बुझ्न नसक्ने जनावर चैं मान्छे नै हो।'

अहिलेको टौदहलाई हेर्दा संजीवलाई यही सत्य हो जस्तो लागेको छ।

संजीवका अनुसार हंस उपन्यासको हिरो टौदहकै रैथाने हाँस हो जो राम्ररी उड्न पनि सक्दैन। उसकी प्रेमिका भने हजारौं माइल परबाट उडेर प्रेमीलाई भेट्न यहाँ आइपुग्छे। ओहो! हंसिनीलाई कति धेरै शक्तिशाली बनाएका रहेछन् लेखकले। प्रेमका निमित्त उसले गरेको संघर्ष र हजारौँ माइलको त्यो कठिन उडान! प्रेमका सवालमा आख्यानमा उड्ने र डुब्ने बिम्बहरु धेरै बढी प्रयोग भएका छन्। लेखकले हंसिनीलाई हाँसभन्दा बलियो बनाएको सुन्दै म रोमाञ्चित भएँ।

मानव जातिले प्रेमीप्रति स्वामित्व भाव राख्छ। उसलाई उड्न फराकिलो आकाश दिँदैन। घेरा बनाइदिन्छ। ईर्श्या गर्छ। चराहरु चाहिँ कसरी प्रेम गर्छन् होला? उनीहरुको प्रेमको भाषा कस्तो होला? मान्छेले गर्ने प्रेम र चराले गर्ने प्रेममा कुन चाँहि बढी 'डिभाइन' हुन्छ?

मेरो अधैर्यतामा मुस्कुराउँदै सञ्जीवले भने –‘कौतुहल मेट्न शनिवारसम्म कुर्नुस् न है!’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell