PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

क्याप्सन 'चिप्लिएको' राजदूत र्‍यान्‍डी र नेता देउवाको तस्विरमा अमेरिकी दूतावासको रमाइलो!



पहिलोपोस्ट

क्याप्सन 'चिप्लिएको' राजदूत र्‍यान्‍डी र नेता देउवाको तस्विरमा अमेरिकी दूतावासको रमाइलो!

काठमाडौं : अमेरिकी राजदूत र्‍यान्डी बेरीले बिहीवार कांग्रेस सभापति शेरबहादुर देउवासँग उनकै निवास बुढानिलकण्ठमा भेट गरे। देउवासँगै बेरीले ने क पा नेता माधवकुमार नेपालसँग पनि बिहीवार नै भेटवार्ता गरेका थिए।

चिनियाँ राष्ट्रपति सि जिनपिङ दशैं लगत्तै नेपाल भ्रमणमा आउन सक्ने सरकारी तहबाट नै सार्वजनिक भएपछि अमेरिकी राजदूतको बढ्दो सक्रियतालाई महत्वपूर्ण रुपमा हेरिएको छ।

आजका दैनिक समाचारपत्रहरुले बेरी र नेपाली नेताहरुको भेटलाई प्राथमिक्ताका साथ मुख्य समाचार बनाए।

पोखरा आवाज राष्ट्रिय दैनिकले पनि आफ्नो चौथो पृष्ठमा देउवा र बेरीको भेटसम्बन्धी तस्विर प्रकाशित गर्‍यो। त्यही तस्विरलाई लिएर आज बिहानैदेखि सामाजिक संजाल तातेको छ। क्याप्सनमा मुद्राराक्षसका कारण देउवा र बेरीको भेटबारे नभइ काठमाडौं ल्‍याउँदै गरिएको भेडाच्याङग्राको बारे लेखियो।

पत्रिकाले क्याप्सनमा लेखेको छ : 'कर्णाली प्रदेशस्थित नेपालको सबैभन्दा उच्च स्थानमा रहेको डोल्पो बुद्ध गाउँपालिका अन्तर्गत धो तरापबाट दशैंका लागि मुस्ताङ हुँदै पोखरा- काठमाडौंसम्म लाँदै गरेको भेडाच्याङग्रा।'

नेता र राजदूतलाई भेडाच्याङग्रासँग तुलना गरी क्याप्सन छापिएपछि धेरैले पत्रिकाको विश्वशनीयतामा प्रश्न उठाए भने खिसिट्युरी गर्ने मानिसको संख्या पनि धेरै थियो।

सामाजिक संजालमा नेताहरुलाई 'भेडाच्याङ्ग्रा' का रुपमा प्रस्तुत गरिएको भन्दै चल्दै गरेको हाँसोठट्टा बीच अमेरिकी राजदूतावासले अप्रत्याशित रुपमा सोही फोटो रिट्वीट गरेको छ।

अनिल गिरीले 'दु:खद् पत्रकारिता' क्याप्सनसहित ट्वीट गरेको फोटोलाई ठट्टा गर्दै अमेरिकी दूतावासले रिट्वीट गर्दै लेखेको छ, 'हामीलाई थाहा छ कि अमेरिकी राजदूत मुस्ताङ पुगेका छन्। तर, उनी अहिलेसम्म कर्णाली प्रदेश पुगेका छैनन्। हामी मध्ये राम्रोले पनि कहिलेकाँही नराम्रो सूचना प्राप्त गर्छ। #गोट'

नेपालीहरु दशैं फिभरमा रहेकाबेला आफ्ना राजदूतसँगै कांग्रेस सभापति देउवालाई 'भेडाच्याङग्रा' लेखिएको तस्विर रिट्वीटमा ह्यासट्याग 'गोट' लेखेको दूतावास समेत सामाजिक संजालमा ठट्यौलीमा संलग्न भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell