
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै जीवनकालमा मुलुकमा परिवर्तन हुन्छ र गर्न सकिन्छ भनेर आन्दोलनमा लागेकाले त्यसबेला आफूले प्रधानमन्त्री हुने कल्पनै नगरेको उल्लेख गरेका छन्।
‘नेपालय’द्वारा प्रकाशित उनका समकालीन प्राध्यापक केआर खम्बुको पुस्तक ‘छायाँको लस्कर’ को आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले आन्दोलनमा लाग्दा बाँचिएला भन्ने समेत नलागेको उल्लेख गरे।
उनले गणतन्त्रको प्राप्तिसहित नयाँ संविधान, कम्युनिस्ट पार्टी एकता र अरु परिवर्तनहरु आफ्नै जीवनकालमा देख्न पाइएको जनाउँदै पञ्चायतकालमा संगठिन र सचेत प्रयासका साथ थालनी गरेर शुरु भएको आन्दोलनले आफ्नै जीवनकालमा परिवर्तन दिएको र पार्टी एकताले पूर्णता पाएकामा सन्तोष व्यक्त गरे।
'देशको सुखद् भविष्यको परिकल्पना थियो, आफ्नो बारेमा केही पनि परिकल्पना थिएन' उनले भने, 'त्यसबेला भोकै हिँड्ने पनि गरिन्थ्यो, सुरक्षाकर्मीसँग छलेर हिड्नु पर्थ्यो। पूर्वी पहाडका अधिकांश जिल्लाहरु पैदलै परिक्रमा पनि गरेको छु। एक पटक खुट्टामा खिल परेर छ महिनासम्म खोच्याएर हिड्नु परेको थियो। विगतका कठिन दिनहरु रमाइला पनि थिए।'
उनले भूमिगतकालमा आफूले गरेका राजनीतिक गतिविधिको स्मरण गर्दै त्यसबेलाका कतिपय क्रान्तिकारी गीत, कवितासमेतलाई पुस्तकमा समेटेका धन्यवाद दिए।