PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

प्रधानमन्त्री ओलीले सार्वजनिक गरे प्राध्यापक खम्बूको आत्म-संस्मरण ‘छायाँको लस्कर’



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीले सार्वजनिक गरे प्राध्यापक खम्बूको आत्म-संस्मरण ‘छायाँको लस्कर’
फोटो : नेपालय।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्राध्यापक केआर खम्बूको जीवनकथा 'छायाँको लस्कर' सार्वजनिक गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले खम्बूको पुस्तकले आफूलाई विगतका संघर्षशील दिनहरू सम्झना गराएको उल्लेख गरे।

'यो पुस्तकले मलाई आफ्नो विगतको सम्झना गरायो । यस पुस्तकले एउटा राजनीतिक आन्दोलनको कथा समेटेको छ' प्रधानमन्त्रीले ओलीले भने 'यो पुस्तकको नाम ‘छायाँको लस्कर’ छ। यहाँ अनुहारहरुको कुरा छैन छायाँको कुरा छ, किनभने खम्बूजीको स्मृतिमा अहिले अनुहारहरु होइनन् छायाँहरू छन् र उहाँले तपाईं हामी कसैलाई पनि वा खुद उनकी जीवनसाथी शुभलक्ष्मीलाई पनि छायाँको रुपमा मात्र महसुस गर्न सक्नु हुन्छ।'

प्राध्यापक खम्बू झापाको बामपन्थी आन्दोलनदेखि नै राजनीतिमा क्रियाशील बामपन्थी व्यक्तित्व हुन्। उनले झापा आन्दोलनताका प्रधानमन्त्री केपी ओली लगायतका नेताहरुसँग निकट रहेर समेत काम गरेका थिए। पछिल्लो समयमा भने उनी प्राज्ञिक क्षेत्रमा क्रियाशील छन्।

मन्तव्यका क्रममा प्रधानमन्त्री ओलीले आफू भूमिगत हुँदा लेखकसँग निकट रहेको जानकारी मात्र गराएनन् उनले आफ्नै परिचित शैलीमा केआर खम्बूसँगको संगत र निकटताको प्रसंग कोट्याउँदै केही रोचक क्षणहरूको सम्झना गरे। उनका रोचक प्रसंगले सभा हलमा हाँसोको लहर फैलेको थियो।

उनले भने, 'यो किताबमा उहाँको संघर्षशील जीवनको गाथा, व्यथा प्रकट भएको छ। झापा आन्दोलन र त्यसको विस्तारमा र साथै कोअर्डिनेसन कमिटी बनाउँदा ताकादेखि खम्बूजीसँग मेरो संगत हो। तर यो पुस्तकमा मेरो मात्र होइन धेरैको कथा समेटिएको छ।'

कार्यक्रमा पुस्तक 'छायाँको लस्कर' र लेखकका बारेमा प्राध्यापक जंगब चौहानले परिचयात्मक टिप्पणी गरेका थिए। विमोचन कार्यक्रममा प्रकाशन संस्था नेपालयकातर्फबाट युवा साहित्यकार भूषिता वशिष्ठले प्रकाशकीय धारणा राखेकी थिइन्।

प्रधानमन्त्रीबाट आफ्नो पुस्तक सार्वजनिक गराउन पाएकोमा आफू प्रफुल्ल भएको जानकारी गराउँदै प्राध्यापक खम्बूले किताबको रचनागर्भको बारे प्रष्ट्याएका थिए।

नेपालय पब्लिकेसन्सले प्रकाशन गरेको 'छायाँको लस्कर' ३७० पृष्ठमा समेटिएको छ। पुस्तकको मूल्य ५४५ रुपैँया रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell