PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

तपाईँले बैंकमा राखेको रकमको मूल्य घट्यो



पहिलोपोस्ट

तपाईँले बैंकमा राखेको रकमको मूल्य घट्यो

काठमाडौं : सरकारले मूल्य बृद्धि नियन्त्रण गर्न नसकेपछि बैंकमा पैसा बचत गर्नेहरुको पैसा खिइने अवस्था सृजना भएको छ। साउनबाट ४ प्रतिशतको मूल्य बृद्धि दर ६.९५ प्रतिशत पुगेको छ।

बजार मूल्यभन्दा बैंक ब्याजदर कम हुनु भनेको वास्तविक ब्याज ऋणात्मक हुनु हो। अहिलेको अवस्थामा वास्तविक ब्याजदर ऋणात्मक हुन गएको छ। यसको मतलब, आज तपाईंले बैंकमा सय रुपैयाँ जम्मा गर्नुभयो भने अर्को वर्ष त्यो १ सयभन्दा माथि हुनु पर्नेमा १०० रुपैयाँभन्दा तल झरेको भन्ने हो।

अहिले बैंकहरुले बचत खातामा उच्चतम ६.५ प्रतिशत ब्याज दिइरहेका छन्। न्युनतम ब्याज ४.५ प्रतिशत छ। मुद्दति निक्षेपको अधिकतम ब्याज ९.५ प्रतिशत छ। औशतमा हेर्ने हो भने अहिले निक्षेपको ब्याज दर ६.७७ प्रतिशत छ। जबकि मूल्य बृद्धि दर ६.९५ प्रतिशत पुगेको छ।

तुलनात्मक रुपमा निक्षेपको ब्याज माथि देखिए पनि मूल्य बृद्धिको तुलनामा भने कमै हो। यसको अर्थ हो सरकारले मूल्य बृद्धि नियन्त्रण गर्न सकेन।

बैंकहरुले निक्षेपको ब्याज दरमा भद्र सहमति नामको 'कार्टेलिङ' डेढ वर्षदेखि गर्दै आएका छन्। यसले गर्दा निक्षेपकर्ताको ब्याज बढ्न नसकेको हो। यहीँनेर सरकारले मूल्य बृद्धि नियन्त्रण गर्न नसक्दा उच्च दरमा रहेको बचतको ब्याजलाई पनि मूल्य बृद्धि दरले नाघेको हो।

सरकारले साउनदेखि लागू हुने गरी कर्मचारीको तलब बृद्धि गरेको थियो। बृद्धबृद्धा तथा सामाजिक सुरक्षामा समेटिने नागरिकहरुको भत्ता पनि बढेको छ। यहीबीचमा भारतमा पनि मूल्य बृद्धि सामान्य बढेको छ। डलरको बृद्धिले नेपाल भित्रिने सामानहरुको मूल्य पनि बढेको छ। भारतीय कृषि उत्पादन तथा मासुजन्य बस्तुमा कडाइ गरिएको छ।

सरकारले बजेटमार्फत विभिन्न बस्तुहरुको भन्सार तथा अन्तशुल्क तर बृद्धि गरेको छ। चौतर्फी प्रहारले गर्दा खाद् तथा गैरखाद्य बस्तुको मूल्य बढेको छ।

खाद्य क्षेत्रको मूल्य बृद्धि ८.०२ प्रतिशतले भएको छ। खासगरी तरकारी, फलफुल, मसला र माछामासुको भाउ उच्च दरले बढेको छ। गैरखाद्यको मूल्य बौधि पनि ६.१२ प्रतिशतले बढेको छ। घरायसी उपयोगिताका बस्तु तथा सेवा, लुगा तथा जुत्ता र शिक्षा क्षेत्रको मूल्य बढेको छ।

सरकारले मूल्य बृद्धि ६ प्रतिशतमा कायम गर्ने बताए पनि पहिलो महिनामा नै उच्च दरले उक्लिएको हो। यही कारण अहिले बचतकर्ताले बैंकमा राखेको पैसा खिइन थालेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell