
काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाले न्याय सम्पादनका क्रममा अदालतले गरेका फैसलामाथि जथाभावी गरिने टीकाटिप्पणी स्वतन्त्र न्यायपालिकाको अवधारणा र मूल्य मान्यता विपरित हुने बताएका छन्।
प्रधान न्यायाधीश राणाले दशैं, तिहार, नेपाल संवत् तथा छठको अवसरमा सर्वोच्च अदालतले आयोजना गरेको शुुभकामना कार्यक्रममा अदालतका फैसला र आदेशबारे असम्बद्ध व्यक्ति, निकाय वा प्रक्रियाबाट परीक्षण गरिनु न्यायिक मूल्य मान्यता विपरीत भएको टिप्पणाी गरेका हुन्।
प्रधान न्यायाधीश राणाले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाले मात्र संविधान, लोकतन्त्र, विधिको शासन तथा मानवअधिकार लगायतका अधिकार समेतको प्रत्याभूति हुने बताए। यसका लागि सबैले न्यायालय र यसका फैसलाको सम्मान गर्नु पर्ने बताए।
‘स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाबाट न्याय सम्पादनको क्रममा भएका फैसला वा आदेशहरुको विधिपूर्वक परीक्षण हुन सक्छ तर, असम्बद्ध व्यक्ति, निकाय वा प्रक्रियाबाट परीक्षण गर्ने कार्य आफैंमा स्वतन्त्र न्यायपालिकाको अवधारणा र मूल्य मान्यता विपरीत हुन जान्छ भन्ने मलाई लाग्छ,’ उनले भने।
यस्ता टीकाटिप्पणीले न्यायपालिकाप्रतिको विश्वसनीयतामा प्रश्न उठ्ने र संविधानले परिकल्पना गरेको सक्षम र सुदृढ न्यायपालिकाको स्थापनामा सहयोग नपुग्ने उनको धारणा थियो।
आफूले न्याय र कानूनसम्बन्धी विशिष्ट ज्ञान र अनुभवी व्यक्तिहरुको उपस्थितिबीच स्वतन्त्र न्यायपालिका, लोकतन्त्र एवं विधिको शासनबीच रहेको अन्तरसम्बन्धको प्रसंग मात्र उल्लेख गर्न चाहेको उनको भनाइ थियो।
त्यसबाहेक संविधानले दिए अनुसारको भूमिका र जिम्मेवारी न्यायपालिकाले सफलतापूर्वक वहन गर्दे आएको प्रधान न्यायाधीश राणाले बताए। न्यायालयको कार्यसम्पादनमा सुधार गर्न १५ वर्षयता लागू गरिएको रणनीतिक योजना जारी रहेकाे र यस वर्ष चौथो रणनीतिक योजना शुरु भएको पनि उनले उल्लेख गरेका थिए।