PahiloPost

Dec 30, 2025 | १५ पुष २०८२

साफ यू १८ : माल्दिभ्समाथि भारतको जित, फाइनलमा बंगलादेश र भारत भिड्ने



पहिलोपोस्ट

साफ यू १८ : माल्दिभ्समाथि भारतको जित, फाइनलमा बंगलादेश र भारत भिड्ने
फोटो : एन्फा।

काठमाडौं : दक्षिण एसियाली खेलकुद अन्तर्गत साफ यू १८ को आज भएको सेमिफाइनलको दोस्रो खेलमा भारतले माल्दिभ्समाथि ४–० गोलअन्तरले जित निकालेको छ।

आक्रामक खेल खेलेको भारतले पहिलो हाफमा २ गोल तथा दोस्रो हाफमा २ गोल गरेको थियो। खेलको ७ औं मिनेटमै भारतका नरेन्द्र गहल्तले गोल गर्दै भारतलाई अग्रता दिलाए। त्यस्तै पहिलो हाफको अतिरिक्त समयमा मोहम्मद रफिले गोल थप्दै भारतको अग्रता दोब्बर गरे।

दोस्रो हाफमा पनि भारतले आक्रामक खेललाई निरन्तरता दिएको थियो। खेलको ७९ मिनेटमा मनभिर सिंहले गोल गरे भने ८१ औं मिनेटमा निन्थोइ भोयल्सले अर्को गोल गर्दै भारतको ४–० गोल अन्तरको जित सुनिश्चित गरे।

आजै भएको पहिलो सेमिफाइनलमा पनि बंगलादेशले भुटानमाथि ४–० गोल अन्तरकै जित हात पारेको थियो।

समूह 'बी' को विजेता र उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेका भारत र बंगलादेशले सेमिफाइनलमा सहज जित हात पारेको हुन्। फाइनल खेल भोलि सम्पन्न हुनेछ। 

समूह 'ए' बाट भुटान ४ अंक जोड्दै सेमिफाइनल प्रवेश गरेको थियो। उसले नेपाललाई ३–० गोलअन्तरले पराजित गरेको थियो भने माल्दिभ्ससँग गोलरहित बराबरी खेलेको थियो। माल्दिभ्सले समूह चरणका दुवै खेल बराबरी खेलेको थियो। प्रतियोगिताको पहिलो खेलमा नेपाल र माल्दिभ्सले १–१ को बराबरी खेलेका थिए।

त्यस्तै समूह 'बी' बाट भारत समूह विजेता र बंगलादेश उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका हुन्। भारत र बंगलादेशले समान ४ अंक र गोलान्तर पनि बराबरी भएपछि गोलाप्रथाबाट भारत समूह विजेता बनेको थियो। भारत र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए भने दुवै टिमले श्रीलंकालाई ३–० गोलान्तरले पराजित गरेका थिए।

प्रतियोगितामा आयोजक तथा डिफेन्डिङ च्याम्पियनसमेत रहेको नेपाल समूह चरणबाटै बाहिरिएकाे थियाे। माल्दिभ्ससँग १–१ को बराबरीमा रोकिएको नेपाल भुटानसँग ३–० ले पराजित भयो। ह्याट्रिकको लक्ष्य लिएको नेपाल घरेलु मैदानमै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको थियाे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell