PahiloPost

May 15, 2024 | २ जेठ २०८१

क्यान चुनाव शनिवार : के निलम्बन फुकुवाको बाटो खुल्ला?



मुकुन्द घिमिरे

क्यान चुनाव शनिवार : के निलम्बन फुकुवाको बाटो खुल्ला?

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानको चुनावले खेलकुद क्षेत्रमा छुट्टै माहोल बनाएको छ। लामो समययता टाँगिदै आएको चुनावको पहिलो दिनको साधारण सभा आज काठमाडौंमा भएको छ।

‘क्यान निलम्बनमा पर्नु क्रिकेटको लागि मात्र नभइ समग्र खेलकुदको लागि दुःखद् कुरा हो,’ मन्त्री जगतकुमार विश्वकर्माले क्यानको चुनावी साधारणसभामा भने, ‘क्यानको चुनाव क्रिकेट सम्बद्ध सबैले अधीरतापूर्वक प्रतीक्षा गरिएको विषय थियो।’

मन्त्री विश्वकर्माको यो भनाइले पनि क्यान निर्वाचनका लागि कति दबाब र आवश्यकता थियो भन्ने देखिन्छ। भोलिको निर्वाचनबाट क्यानले नयाँ नेतृत्व पाउँदैछ। अर्को मानेमा क्यानको निर्वाचन हुनु भनेको नेपाली क्रिकेटको निलम्बन फुकुवा हुनु नै हो।

‘अब तिता कुरा बिर्सिएर मिठा कुरा लिएर अघि बढ्नु पर्छ,’ राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले भने, ‘क्यानको निर्वाचनपछि अक्टोबर १३ मा हुने आइसिसीको बैठकले निलम्बन फुकुवा गर्ने आश्वासन पाएका छौं।’

क्यान निर्वाचनका लागि जिल्ला र प्रदेशबाट ५९ जना प्रतिनिधिहरु काठमाडौं आएका छन्। ५९ जना सदस्यले १७ सदस्यीय कार्यसमिति निर्वाचन गर्ने छन्।

क्यानको भोलिको चुनावका लागि प्रतिनिधिहरु प्यानल नै बनाएर कसरत गरिरहेका छन्। दुई पूर्वअध्यक्षहरु विनयराज पाण्डे र चतुरबहादर चन्द चुनावी मैदानमा उत्रँदै छन्। विनयराज पाण्डेसँग लामो समय क्यानको नेतृत्व तहमा रहेर काम गरेको अनुभव छ भने उनी अन्तर्राष्ट्रिय सम्बन्धको जानकार पनि मानिन्छन्। त्यस्तै अर्का प्रत्यासी चतुरबहादुर चन्द वर्तमान निर्वाचित क्यानका अध्यक्ष हुन्। आफू विधिसम्मत हिसाबले निर्वाचित भएर पनि राम्ररी कार्यसम्पादन गर्न नपाएको तर्क चन्द समूहको छ। दुवै समूह आआफ्नो प्यानल बनाएर क्यानको नेतृत्व लिन चुनावी मैदानमा छन्। 

त्यसो त क्यान निलम्बन पछिकै नालिबेली पनि लामै छ। क्यानमाथि हस्तक्षेप भएको निष्कर्षसहित आइसिसीले २०७३ सालमा क्यानलाई निलम्बित गरेको थियो। क्यान निलम्बनमै रहे पनि खेल गतिविधिहरु सुचारु थिए, जसलाई सीधै आइसिसीले मोनिटरिङ गरिरहेको थियो। अभिभावक निकाय नहुनुको पीडा राष्ट्रिय टिमले भोग्दै आएको थियो। यद्यपि, क्यान निलम्बनकै बीच नेपालले एकदिवसीय मान्यता पाएको थियो। तर, अभिभावक निकायको भूमिकाको टड्कारो आवश्यकता देखिन्छ, नेपालले पाएको एकदिवसीय मान्यता सदुपयोग गर्न।

नेपालले एकदिवसीय मान्यता पाएको दिनलाई स्मरण गर्दै मन्त्री विश्वकर्माले भने, ‘मैले मन्त्री पद सम्हाल्दै गर्दा नेपालले एकदिवसीय मान्यता पाएको थियो।’  उनलाई त्यतिबेलै क्रिकेट संघ निलम्बन फुकुवाबारे गरिएको प्रश्नहरुले थप सजग बनाएको दाबी गरे। 

त्यसो त क्यान विवाद नयाँ होइन। २०७३ सालमा क्यानमा सरकारी हस्तक्षेप भएको भन्दै आइसिसीले क्यान निलम्बन गरको थियो। एकातर्फ क्रिकेटप्रति जनमानसमा बढ्दो रुचि र अर्कोतर्फ राजनीतिबीच क्यान निलम्बन फुकुवाका लागि नेतृत्वमा दबाब थियो। यसैबीच खेलकुद परिषद, निर्वाचित क्यान, आइसिसीलगायतको संलग्नतामा बनेको स्वतन्त्र कमिटीले जिल्ला प्रदेश हुँदै केन्द्रको निर्वाचन गरेपछि क्यान निलम्बन फुकुवा गर्ने सहमति बनेको थियो।

यसैअनुरुप स्वतन्त्र कमिटीले क्यानको केन्द्रीय चुनाव असोज ३ र ४ गते गर्ने निर्णय गरेको थियो। तर, राष्ट्रिय खेलकुद परिषदले आफूसँग अनुमति नलिइ गरेको चुनाव मान्य नहुने बताएको थियो। त्यसलगत्तै क्यान निर्वाचनको सहमति बनाउन आइसिसीका प्रतिनिधिहरु इमरान ख्वाजा र उमर शेख नेपाल आएका थिए। आइसिसीका प्रतिनिधि स्वतन्त्र कमिटी र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालबीचको छलफलबाट क्यानको चुनाव असोज १० र ११ गते चुनाव सम्पन्न गर्ने सहमति भएको थियो। त्यही सहमति अनुरुप आज साधारण सभा र भोलि चुनाव सम्पन्न हुँदैछ।

त्यसो त निर्वाचन हुने बित्तिकै क्रिकेटका समस्या समाधान भइसक्ने भन्ने चाहीँ होइन। निर्वाचनपछि आउने नेतृत्वलाई चुनौतीका चाङ छँदैछन्। ‘पारदर्शिता, क्रिकेटको विकास र सुधारमा नयाँ नेतृत्वलाई अझ धेरै चुनौती हुनेछन्,’ राखेप सदस्यसचिव रमेशकुमार सिलवालले भने।

सिलवालले अन्तर्राष्ट्रिय स्तरका क्रिकेटको संरचना बनाउन आफूहरु लागि परेको बताए। अझ युवा तथा खेलकुद मन्त्री विश्वकर्मले त मूलपानी क्रिकेट मैदान पनि कात्तिक महिनाको बीचतिर सम्पन्न भइसक्ने दाबी गरे। ‘सरकारले ९ वटा अन्तर्राष्ट्रिय स्तरका स्टेडियम बनाउने प्रयास गरिरहेको छ,’ उनले थपे।

विश्वकर्माले क्यानको नेतृत्वका लागि चुनावमा उठदै गरेका पदाधिकारीलाई संकेत गर्दै ‘जसरी क्रिकेटको लोकप्रियता बढेर गएको छ, खेलकुदमा क्रिकेटको योगदानलाई हेक्का राखेर सबैले छाति फराकिलो बनाउँ र चुनौती समाधान गरौं’ भनेर पटकपटक आफूले आग्रह गरेको बताए। उनले के गर्दा क्रिकेट अगाडि बढ्छ र खेलाडीहरु अघि बढ्छन् भन्ने सोचेर अघि बढ्न क्यान नेतृत्वका आकांक्षीहरुलाई सुझाए।

नेपालको क्रिकेट गतिविधि नियालिरहको छौं: आइसिसी प्रतिनिधि

आइसिसीका प्रतिनिधि समेत रहेका स्वतन्त्र कमिटीका सदस्यहरुले नेपालको क्रिकेट गतिविधिलाई नियालीरहेको बताए। क्यानको केन्द्रीय निर्वाचनसम्म आइपुग्दा नेपालले लामो बाटो तय गरेको छ,’ स्वतन्त्र कमिटीका सदस्य मोहम्मद अलीले भने, ‘नेपालमा क्रिकेट सम्बन्धी भएका गतिविधिबारे आइसिसी जानकार छ।'

त्यस्तै, आइसिसीकै अर्की प्रतिनिधि एवं स्वतन्त्र कमिटीकी सदस्य नितिसा कोठारीले नेपालको क्रिकेट अहिले सकारात्मक दिशामा गइरहेको बताइन्। ‘नेपालले डिभिजन ५ देखि ओडिआई मान्यता पाएसम्म सबै गतिविधि हेरिरहेका छौं’ उनले भनिन्, ‘हामी यहाँ प्रगति भइरहेको देखेका छौ, भोलि फिनिस लाइन पनि कट्न नेपाल सफल हुनेमा आशावादी छौं।’

क्यान निलम्बन फुकुवाको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। शनिवार हुने निर्वाचनले क्यानको नयाँ नेतृत्व ल्याउने निश्चित प्रायः देखिएको छ। यसले आइसिसीको निलम्बन फुकुवा गरेमा पनि एकहदसम्म क्रिकेटको विकासका लागि मार्ग बन्न सक्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell