PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

बैंक अफ काठमाडौं घोटाला प्रकरणः पूर्व सिइओ श्रेष्ठसहित तीन जनालाई थुनामा राख्न उच्च अदालतको आदेश



पहिलोपोस्ट

बैंक अफ काठमाडौं घोटाला प्रकरणः पूर्व सिइओ श्रेष्ठसहित तीन जनालाई थुनामा राख्न उच्च अदालतको आदेश

काठमाडौँः उच्च अदालत पाटनले बैंक अफ काठमाडौँको कर्जा अपचलन मुद्दामा पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ। उच्च अदालतको वाणिज्य इजलासले श्रेष्ठसहित बैंकका कर्मचारी किरण कुमार बोहोरा र ऋणका लागि नक्कली कागजात तयार पार्ने सुरेन्द्र श्रेष्ठलाई थुनामा पठाएको हो।

अभियुक्त मध्येका सुरेन्द्र श्रेष्ठले झुटा विवरण तयार पारी धितो राखेको र अजय श्रेष्ठले विवरण यकिन नगरी स्वीकार गरेको अदालतको आदेशमा उल्लेख छ। यस्तै, प्रतिवादी बोहोरा कर्जा प्रवाहको जिम्मेवार भूमिकामा देखिएकाले कसुर गरेको होइनन् भन्ने प्रमाण तत्काल नरहेको आदेशमा उल्लेख छ।

थुनछेक आदेशमा भनिएको ‘निजहरूले आरोपित कसुर गरेका होइनन् भनी विश्वास गर्न सकिने आधार नदेखिँदा प्रतिवादीहरू सुरेन्द्र श्रेष्ठ, अजय श्रेष्ठ र किरण कुमार बोहोरालाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम नियमानुसारको सिधा खान पाउने गरी थुनुवा पुर्जी दिई थुनामा पठाउनु।’

मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश रामप्रसाद ओलीको संयुक्त इजलासले अन्य ९ प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

६ करोड ६४ लाख ५७ हजार ५३४ बिगो कायम गरी मुद्दा दायर गरिएको थियो। शुक्रवार अबेरसम्म थुनछेक बहस भएको थियो।

कसलाई कति धरौटी?

अदालतले प्रतिवादीमध्ये भेषराज खत्री र गणेश लम्साललाई एक करोड ५८ लाख धरौटी माग गरेको छ। धरौटी दिन नसके नियमानुसार थुनामा राख्न पनि आदेशमा उल्लेख गरिएको छ।

यस्तै, प्रतिवादीहरू भुपेन्द्र श्रेष्ठ, ऋषिश्वर थपलिया, कृष्णबहादुर कार्कीलाई अदालतले जनही ७९ लाख रुपैयाँ धरौटी माग गरेको छ।

प्रतिवादीहरू पुष्पराज भण्डारी, ऋचा श्रेष्ठ, विभु विक्रम पन्त र सुष्मा शाहसँग अदालतले जनही ४० लाख रुपैयाँ धरौटी माग गरेको छ।

अदालत प्रतिवादीहरू सुरेन्द्र श्रेष्ठ, भुपेन्द्र श्रेष्ठ, ऋषिश्वर थपलिया र कृष्णबहादुर कार्कीलाई सरकारी काजगाज कीर्तेमा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्यूरोमा पठाउन पनि आदेश जारी गरेको छ। आदेश अनुसार भुपेन्द्र श्रेष्ठ, ऋषिश्वर थपलिया र कृष्णबहादुर कार्कीले धरौटी बुझाए पनि कीर्ते अनुसन्धान जारी रहेकाले थुनामुक्त हुन नपाउने भएका छन्।

यस्तै अदालतले फरार प्रतिवादीका रूपमा अभियोग लगाइएका प्रेमप्रसाद पाण्डे, कल्पना शाही सिंह श्रेष्ठ, मीना सिंह विष्ट र सुनेना सेलालिक (स्थापित) का नाममा हाजिर हुन आउने म्याद जारी गर्न पनि आदेश गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell