
सिंगापुरमा आजबाट सुरु भएको त्रिकोणात्मक टी २० सिरिजमा नेपाल जिम्बावेसँग पराजित भएको छ। दोस्रो इनिङमा नेपालले बलिङमा राम्रो सुरुवात गरे पनि जिम्बावेका व्याट्सम्यानहरुले आक्रामक ब्याटिङ गर्दै नेपालमाथि ५ विकेटको जित निकाल्न सफल भए।
इन्डियन एसोसिएसनको मैदानमा टस जितेर ब्याटिङमा नेपालले १३३ रनको सामान्य लक्ष्य दिएको थियो। नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रन बनाए भने सोमपाल कामीले १४ बलमा आक्रामक अभिजित २५ रन बनाए। त्यस्तै पारस खड्काले १८, सन्दीप जोराले १७ तथा विनोद भण्डारीले अभिजित ११ रन बनाए।
यता बलिङतर्फ नेपालले उत्कृस्ट सुरुवात गरेको थियो। सन्दीप लामिछानेले जिम्बावेका कप्तानलगायत ३ जना खेलाडीलाई खाता खोल्न नपाउँदै पभेलियन फर्काएपछि नेपाल खेलमा फर्किएको थियो। त्यस्तै पारस खड्काले १ विकेट लिए। तर, अन्य बलरहरु महँगो सावित हुँदा जिम्बावेले खेल आफ्नो पक्षमा पार्न सफल भयो।
जिम्बावेका लागि रिचमेन मुटुम्बानीले आक्रामक ब्याटिङ गर्दै जिम्बावेलाई खेलमा फर्काए। रायन् बर्लले अभिजित ४१ रन बनाउदा मुटुम्बानीले २८ बलमा ४० रन बनाए। त्यसबाहेक ओपनर ब्रियान चरीको १९ रन बाहेक अन्य खेलाडीहरुले दोहोरो अंक जोड्न सकेनन्।
नेपालले दाेस्राे खेल आयोजक सिंगापुरसँग भाेलि प्रतिस्पर्धा गर्ने छ। त्यस्तै १४ गते जिम्बावे र १५ गते सिंगापुरसँग खेल्ने छ।