PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

धिमेको धुनजस्तै रुपेशको घिन्ताङ घिसी ट्वाक, घन्कियो प्रज्ञाको डवलीमा



पहिलोपोस्ट

धिमेको धुनजस्तै रुपेशको घिन्ताङ घिसी ट्वाक, घन्कियो प्रज्ञाको डवलीमा

'किस्नमानको जिन्दगीमा त

सागैसाग मात्रै छ

त्यसबाहेक कुनै उत्सव छ भने

छ त केवल प्रकृतिको पूजा र जात्राहरु

र सालिन्दा आउने

मृत्युको एक सुन्दर उत्सव

घिन्ताङ घिसी ट्वाक…'

नेवारी बाजा धिमे घन्काएसँगै लठ्ठी ठोक्काएर निकालिने ताल हो - 'घिन्ताङ घिसी ट्वाक'। हरेक वर्ष गाईजात्राका दिन भक्तपुरको टोलटोलमा सुनिन्छ यो धुन। धुनसँगै नाच्छन् युवाहरु। यो मौलिक तालसँग जोडिएको छ परम्परा पनि। यसदिन हरेक घरका सदस्यहरु वर्षभरी बितेर गएका आफन्तलाई सम्झन्छन्। गाई वा गाईको प्रतीकलाई धुनसँगै नगर परिक्रमा गराउँछन् र बितेकाहरुको आत्माको शान्तिको कामना पनि गर्छन्।

किस्नमानका लागि यो ठूलो उत्सवको दिन हो। किस्नमान अर्थात् भक्तपुरकै एक किसान। उनी पत्रकार रुपेश श्रेष्ठको कविताको पात्र पनि हुन्। जसको जिन्दगीमा पञ्चायत आएन, प्रजातन्त्र आएन। संविधान र गणतन्त्रको उत्सव पनि आएन।

तिनै उत्सवको मजा लिन नपाएका किस्नमान र उजस्तै अन्य किसानको जिन्दगीलाई टपक्क टिपेर कवितामा प्रस्तुत गरे भक्तपुरकै कवि रुपेश श्रेष्ठले। र, शीर्षक दिए - 'घिन्ताङ घिसी ट्वाक' जुन एउटै पर्व हो जसको उत्सव किस्नमान लगायत किसानको जिन्दगीमा हरेक साल आउँछ। र, त्यही उत्सवको धुनलाई आफ्नो पहिलो कविता संग्रहको नाम पनि बनाए।

शुक्रवार प्रज्ञा प्रतिष्ठानको डबली अघिल्तिर उभिएर रुपेश श्रेष्ठको कविताहरुमाथि बोल्दै थिए कवि मनु मञ्जिल। त्यहाँ उनले प्रश्न गरे- 'पहिले पहिले किताबमा को हुन्थे पात्र?'

आफै उत्तर पनि दिए, 'राजा, जेनेरल लगायत ठूलाठूला हिरोहरु हुन्थे। रुपेशजीको कविताको पात्र एकदम साधारण मान्छे। उ नै कविताको नायक।'

कविले किस्नमान लगायत पात्रहरुलाई इंकित गरे जो शुक्रबार नै सार्वजनिक कविता संग्रह 'घिन्ताङ घिसी ट्वाक'का विभिन्न कवितामा अटाएका छन्।

विमोचन कार्यक्रमका मुख्य वक्ताका रुपमा रहेका उनले कविको बाटो अनिश्चित हुने बताउँदै सुनाए, 'निश्चित बाटोको त अन्त्य हुन्छ। तर, कविको त्यसो हुँदैन। अनिश्चित अनि मौन रुप कविको रुप हो। रुपेश र उनको कविता मलाई त्यस्तै लाग्यो जो अनिश्चितताको बाटो हिँडिरहेछ।'

श्रेष्ठको कविता संग्रह विमोचनकै लागि इटहरीबाट आएका हुन्, कवि मनु मञ्जिल। उनीसँगै कवि रुपेश र उनकी आमा इन्द्रलक्ष्मी श्रेष्ठले पुस्तकको लोकार्पण गरे।

कार्यक्रमको सुरुवातमा रुपेश लिखित कविताहरु कविद्वय भूषिता वशिष्ठ, बाबु त्रिपाठी र पत्रकार दिलभूषण पाठकले वाचन गरेका थिए। लगत्तै भएको पुस्तक लोकार्पणपछि कवि मनु मञ्जिलल बोल्दै थिए। एकाएक पानी वर्षियो तर, कार्यक्रम रोकिएन। उनको मन्तव्यपछि रुपेश श्रेष्ठ स्वयंले कविता वाचन र धन्यवाद मन्तव्य राखे।

बुकहिलले प्रकाशन गरेको 'घिन्ताङ घिसी ट्वाक'मा ४२ वटा कविता छन्। शुक्रबारबाट बजारमा उपलब्ध संग्रहको मूल्य तीन सय रुपैयाँ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell