PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पञ्चाङ्गको पात्रोले तिहार विवादित : नेवारहरुले तिहार होइन 'स्वन्ति' मनाउने



सहयोग रञ्जित

पञ्चाङ्गको पात्रोले तिहार विवादित : नेवारहरुले तिहार होइन 'स्वन्ति' मनाउने

दशैं संघारमा छ। नेपालीहरु फेस्टिभ मुडमा छन्। व्यस्त सडकबीच बजारमा सामान किन्ने मानिसको भिड छ। आइतवारका दिनदेखि दुर्गा भगवतीको उपासना गरी घरघरमा जमरा राखिँदैछ। दशैंको चहलपहल बढ्दै गर्दा नेपालभाषी नेवार समुदाय भने तिहार कसरी मनाउने भनेर छलफलमा छन्।

सदा झै उनीहरु तिहार नभइ 'स्वन्ति' मनाउने तयारीमा जुटेका छन्। नेवार समुदायले तिहारलाई स्वन्तिका रुपमा मनाउँदै आइरहेको छ। यस पर्वको मुख्य आकर्षण भन्नु नै 'न्हू दँ' (नयाँ वर्ष नेपाल सम्वत र म्हपूजा) हो।

तर, यसपटक भने उनीहरु राज्यसँगै फेरि विद्रोह गर्दै 'स्वन्ति' मनाउने तयारीमा छन्। कारण - राष्ट्रिय पञ्चांग निर्णायक समितिले निर्धारण गरेको पात्रोमा उल्लेखित तिथि। समितिले राष्ट्रको मौलिक सम्वतको रुपमा रहेको नेपाल सम्वत, म्हपूजा,र किजापुजा (भाइटिका) का तिथिहरुमा गडबड गरेकोले नेवार समुदाय अहिले समितिप्रति रुष्ट छन्।

समितिका अनुसार यसपटक यमपञ्चकका रुपमा मनाइने तिहारको पहिलो दिन कार्तिक ९ गते काग तिहार रहेको छ भने १० गते कुकुर र लक्ष्मी तिहार। ११ गते औंसीका दिन भने म्हपूजा र १२ गते न्हु दँ (नयाँ वर्ष) नेपाल सम्वत ११४० र भाइटिका।

यी तिथिहरु नेवार समुदायले मनाउँदै आएको स्वन्ति भन्दा ठीक विपरीत छ।

नेवार समुदायले कौलागा औंसीको दिनमा लक्ष्मी पूजा गर्दै त्यसको भोलिपल्ट कछलाथ्व प्रतिपदाका दिन 'न्हू दँ' नेपाल सम्वतको पहिलो दिनका रुपमा मनाउँदै आएका छन्। बिहान नेपाल सम्वतको स्वागत गर्दै साँझ आत्मपूजा स्वरुप 'म्हपूजा' गर्ने परम्परा रहेको छ। त्यसको भोलिपल्ट कछलाथ्व द्वितिया अर्थात् नेपाल सम्वतको दोस्रो दिनमात्रै भाइटिका मनाउँदै पर्सिपल्ट लक्ष्मीको फूल बिसर्जन गर्दै प्रसाद ग्रहण गर्ने गरिन्छ।

समितिले म्हपूजा र नेपाल सम्वतलाई छुट्टाएर तिहार मनाउन आह्वान गरेपछि नेवार समुदायले यही तिथिमाथि प्रश्न उठाउँदै पञ्चांग निर्णायक समितिले तयार गरेको पात्रो बहिस्कार गर्ने घोषणा गरेका छन्।

कही नभएको जात्रा तिहारमा!

पञ्चांग निर्णायक समितिका अनुसार कार्तिक १० गते बेलुकी ‍औंसी परेको र लक्ष्मी पूजालाई सुखरात्रीका रुपमा मनाउने हुँदा १० गते नै लक्ष्मी पूजा निर्धारण गरिएको हो।

नेवार बुद्धिजिवीहरुका अनुसार समितिले यसपटक 'कहीँ नभएको जात्रा तिहारमा' देखाउने प्रायस गरेको छ।

नेवारहरुको प्रतिनिधिमूलक संस्था नेपालभाषा मंका: खलले समितिले प्रकाशित गरेको पात्रोको आधारमा नभएर परापूर्वकालदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिँदै 'स्वन्ति' मनाउन नेवार समुदायलाई आह्वान गरेको छ।

अर्थात्, अब नेवार समुदायले कार्तिक १० गते लक्ष्मी पूजा नभइ कार्तिक ११ गते मात्रै लक्ष्मी पूजा मनाउनेछन्। यस्तै कार्तिक १२ गते नेपाल सम्वत र म्हपूजा मनाएर मात्रै कार्तिक १३ गते बुधवार भाइटीका मनाइनेछ।

फोटो: साजन नक: मि/ फेसबुक

बौद्ध धर्मका विद्वान यज्ञमानपति बज्राचार्यका अनुसार समितिले पटकपटक नेवार समुदायले मनाउँदै आएका चाडपर्वहरुको तिथिमाथि हस्तक्षेप गर्दै आएको छ। भन्छन्, 'औंसीका दिन कारोबार सबै मिलाएर लक्ष्मीको पूजा गर्ने गरिन्छ। औंसीको भोलिपल्ट सूर्य उदयसँगै नयाँ नेपाल सम्वत सुरु हुनेछ। सूर्य उदयसँगै नेपाल सम्वत फेरिने हाम्रो परम्परालाई उनीहरुलाई भाइटीकाको दिन लगे र म्हपूजा अगाडि ल्याइदिए। यो त जुत्तामाथि मोजा लगाएको जस्तै भयो।'

नेवारहरुले घडी र पलाका आधारमा शुभ साइत निकालेर तय हुने तिथिलाई स्वीकार गर्दैनन्। कुनै पनि पर्व र जात्रामा पनि यो पद्धती लागू हुन्न। सूर्योदयसँगै आउने तिथिका आधारमा पर्व र जात्रा संचालन हुँदै आएकोमा पञ्चाङ्ग समितिले बेलाबेलामा यस्तो फरक व्याख्या गर्दै आएको छ। समितिमा बसेकाहरुले संस्कृति र संस्कार नबुझेकाले केही वर्षको अन्तरालमा यस्तो समस्या बल्झिरहन्छ। करिब दश वर्ष अघि पनि यस्तै समस्या आएको थियो। त्यस बेला नेवारहरुले सरकारले घोषणा गरेको भाइटीकामा नभइ भोलिपल्ट भाइटीका मनाएका थिए।

यसपटक भने समितिले नेपाल सम्वतको उत्साह र उमंगपछि मनाइने म्हपूजालाई नयाँ वर्षभन्दा एक दिन अगाडि राखेकोमा आपत्ती जनाएका हुन्।

बज्राचार्यले भने, 'वैशाख १ गते जसरी हाम्रो बिक्रम सम्वत फेरिन्छ। त्यसरी नै कछलाथ्व प्रतिपदाका दिन हाम्रो नेपाल सम्वत फेरिन्छ। वैशाख १ मा जहिले पनि बिक्रम सम्वत परिवर्तन हुँदा उनीहरुले तिथि मिति देख्दैनन्। हाम्रै सम्वतसँग चाहिँ जहिल्यै छेडछाड गर्छन्।'

मंका खलको आह्वानसँगै अहिले नेवार बस्तीमा तिहार मनाउनेबारे निकै चर्चा भइरहेको छ। सामाजिक संजालमा समितिको पात्रो बहिस्कार गर्दै आफ्नो परम्परा अनुसार पर्व मनाउन आह्वान भएको छ।

यता, शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले भने समितिले गणित विज्ञानकै आधारमा तिथि बनाएकोमा विरोध नभइ व्यवहारिक पक्षलाई बेवास्ता गरेकोमा विरोध रहेको बताए।

जोशी प्रश्न गर्छन्, 'कृष्ण अष्टमी, रामनवमी अरु तिथिमा पर्दैन, किन? त्यसमा केही तलमाथि भए व्यवहारिक हुने रे! अनि नेवारहरुकै व्यवहारमा धक्का लाग्ने गरी समितिले यस्तो काम गरिरहेको छ।'

उनले पूर्खाहरुले विज्ञानको आविस्कार नभएको बेलामा नै तिथि बनाएको बताउँदै अहिले समितिले भने लोक संस्कृतिमाथि आक्रमण गरेको आरोप लगाए।

बज्राचार्य पनि जोशीको मतसँग सहमत देखिन्छन्। शास्त्र मान्नेहरुले लोकसंस्कृतिलाई ध्यान नदिँदा आदिवासी जनजातिहरुले आफ्नो आस्था, संस्कार र संस्कृतिमाथि आक्रमण भएको महसुस गर्दै उनीहरुको पात्रो बहिस्कार गर्दै लगेको बज्राचार्यको दाबी छ।

जोशी र यज्ञपति दुवै समितिले यसरी तिथिमाथि खेलवाड गरेर नेवारहरुमा फुट ल्याउने प्रयास गरेको बताउँछन्।

जोशीले भने, 'राजतन्त्र भएको बेलामा समेत नेवारहरुले साइत मानेनौं। टीकाको साइत सबै राजाका लागि थियो। हामी घडी पलाका हिसाबका चल्दैनौं। नेवारहरुले समितिको साइत कहिलै लागू गरेनन्। अहिले राजतन्त्र छैन। जनतालाई साइत पनि चाहिँदैन। नेवारहरुले साइत हेरेर काम गर्ने पनि होइन।'

समितिले पात्रो करिब ६-८ महिना अगाडि नै प्रकाशित गरेको थियो। त्यसको १० महिना अगाडि नै नेपाल सम्वतको पात्रो बजारमा आइसकेको थियो। समितिले त्यस पात्रोलाई वेवास्ता गर्दै नेवारमाथि आक्रमण गर्ने हेतुले नै म्हपूजा र नेपाल सम्वतलाई तलमाथि गर्ने दुष्प्रयास गरेको आरोप लगाउँछन् संस्कृतिकर्मी लक्ष्मण राजवंशी।

त्यसैले अब उनी नेवारहरुले आफ्नो छुट्टै पञ्चांग बनाउनुपर्ने मत राख्छन्। रमदान, ल्होसार मनाउने समुदायले समितिको पात्रो नभइ आफ्नो व्यवहारिक संस्कृतिलाई महत्व दिँदै आफ्नो जात्रापर्व संचालन गर्दै आएको बताउँदै अब नेवारहरुले पनि समितिलाई बहिस्कार गर्ने बेला आइसकेको राजवंशीको ठहर छ।

जनबहालको प्रमाणिकरण

तिथिका बारेमा विवाद आउँदा काठमाडौंका नेवारहरु जनबहालमा गएर तिथिका बारेमा सोध्ने गर्छन्। जनबहालका गुरुजुले तिथि किटान गरिदिन्छन्। त्यही तिथिलाई नेवारहरुले आधिकारिक तिथि मानेर आफ्नो परम्परा संचालन गर्दै आएका छन्। यसपटक गणबहालले पनि समितिले घोषणा गरेको तिथि नभइ परम्परा अनुसार नै स्वन्ति मनाउने आह्वान गरिसकेको छ।

नेपाल सम्वतलाई राष्ट्रिय सम्वतका रुपमा मान्यता दिलाउन पद्मरत्न तुलाधर (स्वर्गीय)को अगुवाइमा भएको आन्दोलनलाई अब नेवारहरुको व्यवहारिक पर्व र परम्परा जोगाउने आन्दोलनका रुपमा रुपान्तरण गर्दै लैजाने समय आएको बताउँछन् नरेशवीर शाक्य। भन्छन्, 'समितिले म्ह पूजा र नेपाल सम्वतलाई नै विभाजन गरिदियो। नेपाल सम्वत र म्हपूजा अगल अलग तिथिमा हुन्छ भनेर उनीहरुले निर्धारण गर्ने हो र? यो हाम्रो संस्कृतिमाथि नै आक्रमण हो।'

समितिले पहिला पात्रो बनाउँदा आफूहरुलाई बोलाउने गरे पनि अहिले नबोलाएको बताउँदै राजेन्द्र बज्राचार्य समितिको नियतप्रति नै प्रश्न गर्छन्। समितिले नेवारहरुको पात्रो बिगार्ने हेतुले आफ्नै परम्परा मास्दै लग्दै उनले बताए।

'पाँच दिनको तिहारलाई उनीहरुले चारदिनम झारे। लक्ष्मी पूजा र गोबर्धन पूजा कहिले गर्ने भन्नेमा नै उनीहरुमा अन्यौल देखियो,' उनले भने।

पूर्वजहरुले यसरी नै तिथि घटबढ हुने भएकाले प्रत्येक तीन वर्षमा मलमास राखेको बताउँदै उनले समितिले गणितलाई मात्र ध्यान दिएर हेलचेक्राइपूर्वक नेवारहरुको व्यवहारिक पक्षलाई वास्ता नगरेको बताए।

अरु समुदाय र नेवार समुदायमा लक्ष्मी पूजा र भाइटीका र मनाउने परम्परा फरक छ। नेवार समुदायमा पुज्ने लक्ष्मी र अरुले पूजा गर्ने लक्ष्मी फरक छन्।

नेपालमा खासगरी १६ लक्ष्मी पुजिने र नेपाल संवतको अन्तिम महिना कौलागाको अन्तिम दिन अर्थात् लक्ष्मीपूजाका दिनमा भने धनलक्ष्मीको पूजा गर्ने प्रचलन रहेको बताउँछन् वरिष्ठ चित्रकार प्रेममान चित्रकार। भारतबाट आयातित लक्ष्मीका चित्रहरु वैष्णव सम्प्रदायसँग मिल्छ। लक्ष्मीपूजामा भारतमा विष्णुकी अर्धाङ्गिनी लक्ष्मीको आराधना गर्छन्। तर, नेपालीहरुले पुज्ने लक्ष्मी विष्णुकी श्रीमती लक्ष्मी नभई धनलक्ष्मी भएको उनले बताए। त्यसमा ख्याक र कछुवा अनिवार्य हुन्छ।

पढ्नुस: भारतीय लक्ष्मीले विस्थापित गर्दैछ नेपालको मौलिक लक्ष्मी, के फरक हुन्छ दुई लक्ष्मीको चित्रमा?

यस्तै म्हपूजा नेवारहरुको मौलिक संस्कार हो। हाल आत्म पूजाका रुपमा परिभाषित यो पर्वलाई गैर नेवारहरुले पनि मान्न थालेका छन्। यस्तै भाइटीकामा पनि भाइलाई सप्तरंगको टीका नभइ मण्डल बनाएर पूजा गर्ने गरिन्छ।

त्यसैले नेवारहरुले तिहार नभइ स्वन्ति मनाउने हुँदा राज्यले तिहार नै मनाउन पर्छ भनेर कर गर्न नहुने नरेशवीर बताउँछन्।

सरकारले कार्तिक १२ गते (भाइटीका) सम्म मात्रै बिदा दिएको हुँदा नेवार समुदाय भने केही अन्यौलता छ। कार्तिक १३ गते भाइटीका मनाउने हुँदा उनीहरुले त्यसदिन पनि बिदा दिन माग गरेका छन्।

शाक्य १० वर्षअघि पनि यस्तै हुँदा डेलिगेशन सहित प्रधानमन्त्रीलाई भेटेर आफूहरुले भाइटीका मनाउने दिन बिदा लिएको सम्झिँदै भन्छन्, 'हामी यो विषयलाई लिएर यसपटक पनि प्रधानमन्त्री कहाँ जानेछौं। यदि यो लोकतान्त्रिक सरकार हो भने उनीहरुले जनभावनाको कदर गर्नेछन् र बिदा दिनेछ। उनीहरुले बिदा दिएनन् भने हामी उनीहरुले नै भनेको दिनमा भाइटीका चाहिँ गर्दैनौं। बिदा कुर्ने कुरै आउँदैन १३ गते नै भाइटीका हुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell