PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

क्यान निर्वाचन : अध्यक्षमा चतुरबहादुर चन्द प्यानलसहित विजयी



पहिलोपोस्ट

क्यान निर्वाचन : अध्यक्षमा चतुरबहादुर चन्द प्यानलसहित विजयी

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानको अध्यक्षमा चतुरबहादुर चन्द प्यानलसहित विजयी भएका छन्। चन्द ४४ मतका साथ अध्यक्ष पदमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्दी विनयराज पाण्डेले १५ भोट प्राप्त गरे। चार दशकदेखि नेपाली क्रिकेटसँग जोडिएका पाण्डेलाई पराजित गर्दै चन्दले क्यानको नेतृत्व लिएका छन्।

अन्य पदाधिकारीमा पनि चन्दकै प्यानल विजयी भएको छ। उपाध्यक्षमा राजुबाबु श्रेष्ठ ४४ मत, महासचिवमा अशोकनाथ प्याकुरेल ४३ मत र कोषाध्यक्षमा रोशनकुमार सिंह ४५ मतसहित विजयी भए।

यता पाण्डे प्यानलका मिङ्मा डान्डु शेर्पाले उपाध्यक्षमा १७ मत, महासचिवमा विनोद मैनालीले १५ मत र कोषाध्यक्षमा उपेन्द्र भट्टराईले १२ मत पाएका थिए।

त्यस्तै प्रदेश १ सदस्यमा विजयी भएका कैलाश विष्ट १५ मत पाए। उनका प्रतिद्वन्दी लाक्पा लामाले ४ मत प्राप्त गरे। प्रदेश ३ सदस्यमा अमितवीर पाण्डे १३ मत सहित विजयी हुँदा उनका प्रतिद्वन्दी कैलाश प्रधान ७ मत पाए।

अन्य प्रदेश सदस्यहरु भने यसअघि नै निर्विरोध निर्वाचित भएका छन्। निर्विरोध निर्वाचित हुनेमा प्रदेश २ बाट दाउद अन्सारी, प्रदेश ४ बाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रसान्त बिक्रम मल्ल, प्रदेश ६ बाट पदम बहादुर खड्का र प्रदेश ७ बाट बिक्रम बिष्ट हुन्। यस्तै जयन्ती भट्ट महिला सदस्यमा निर्विरोध निर्वाचित भएकी छन्।

यस्तै खुला सदस्यमा ११ जनाको उम्मेद्वारी परेको थियो। जसमा दुर्गाराज पाठक ४२ मत, वीरेन्द्र बहादुर चन्द ३६ मत, माधव कुमार कर्माचार्य ३५ मत, संजय राज सिंह ३४ मत र करन महोत्रा छेत्री ३० मतसहित विजयी भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell