PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

विख्यात आँखाका डाक्टर सन्दुक रूइतको जीवनी अब नेपालीमै



पहिलोपोस्ट

विख्यात आँखाका डाक्टर सन्दुक रूइतको जीवनी अब नेपालीमै

काठमाडौं : विश्वविख्यात आँखा सर्जन डाक्टर सन्दुक रूइतको जीवनी 'सन्दुक रूइत' सार्वजनिक भएको छ। २१ वर्षसम्म पूर्ण दृष्टिविहीन भएर डाक्टर रुइतले गरेको शल्यक्रियाबाट दृष्टि पाएका सल्यानका शिक्षक तोपबहादुर शर्माले पुस्तक अनावरण गरे। अस्ट्रेलियन पत्रकार अली ग्रिपरले लेखेको किताबलाई नेपालीमा अनुवाद भने लेखक खगेन्द्र संग्रौलाले गरेका हुन्।

कार्यक्रममा शर्माले आफूले २१ वर्षको उमेरसम्म पूर्ण रुपमा दृष्टिविहीन भएर जीवनयापन गर्नुपरेको र यसबीचमा डा. रुइतले आफूलाई नयाँ जीवन दिएको बताए। त्यसअघि धेरै दुःख पाए पनि डा. रुइतका कारण आफूले नयाँ संसार पाएको उनको भनाइ थियो।

पुस्तक अनुवादक संग्रौलाले पुस्तक अनुवादको चरणका रोचक प्रसंग सुनाएका थिए। माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म पुस्तक अनुवाद गरेका उनले डा. रुइतको जीवनीले आफूलाई प्रभावित पारेको र त्यसको अनुवादका लागि तत्कालै तयार रहेको प्रतिक्रिया दिए। आफूले अनुवाद गरेका अन्य पुस्तकको तुलनामा यो उत्कृष्ट रहेको उनको भनाइ थियो।

संग्रौलाले भने, 'सन्दुक रूइतको जीवन जिज्ञासा र अन्वेषण, सङ्घर्ष र सङ्कल्प, साहस र सेवाभाव, करूणा र परोपकार तथा त्याग र समर्पणले ओतप्रोत एवम् सादा जीवन, उच्च विचारको आदर्शले शोभित सानदार जीवन हो। रूइतको नागबेली जीवनयात्रा बहुआयामिक विशिष्टतायुक्त, प्रेरणादायी एवम् अनुकरणीय छ। यस्ता उत्कृष्ट मानिसको भव्य जीवन कथा अनुवाद गर्दाका क्षण मेरो जीवनका सुखद र सार्थक क्षणहरु हुन्।'

लेखक एवं पत्रकार विजयकुमारले डा. रुइत जीवनमा संघर्ष, आरोह अवरोह, सफलता आदिको पर्यायका रुपमा रहेको धारणा राखे। जसको जात एवम् धर्मको परिचय छैन, त्यहाँबाट उठेर जीवनमा लाखौं मानिसलाई सम्मानपूर्ण जीवन दिन सक्ने र उनीहरुको जिन्दगीमा उज्यालो दिने व्यक्ति डा. रुइत भएको उनको भनाइ थियो। मानिसको जीवनका सबै किसिमका रङ यो पुस्तकमा रहेको उनले बताए।

कार्यक्रममा डा. रुइतले पुस्तक आफ्नो जीवनको मात्र नभई परिवार, आफ्नो जीवनमा भएका उतारचढाव, सफलता, आरोहअवरोह एवम् तिलगंगा आँखा अस्पतालको संघर्षको कथा भएको बताए। डा. रुइतले भने, 'अङ्ग्रेजीमा लेखिएको मेरो जीवनीको नेपाली अनुवाद आएकोमा म एकदम हर्षित भएको छु। मेरो पुस्तकले कसैलाई परोपकार वा सत्कर्मको बाटोमा लाग्न प्रेरित गर्‍यो भने मेरो जीवनी सार्थक भयो भन्ने ठान्नेछु।'

पुस्तक फाइनप्रिन्टले ल्याएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell