PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

'हचुवाको भरमा मनाइँदै छ भिजिट नेपाल २०२०' : प्रदेश नम्बर २ का पर्यटनमन्त्री रामनरेश राय



राधेश्याम पटेल

'हचुवाको भरमा मनाइँदै छ भिजिट नेपाल २०२०' : प्रदेश नम्बर २ का पर्यटनमन्त्री रामनरेश राय

वीरगंज : प्रदेश नम्बर २ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश रायले नेपाल भ्रमण वर्ष २०२० प्रदेश २ मा हचुवाको भरमा मनाउन लागिएको बताएका छन्।

होटल व्यवसायी महासंघ प्रदेश नम्बर २ ले विश्व पर्यटन दिवसको अवसरमा वीरगंजको होटल भिस्वामा आयोजना गरेको डिजाइन टुर प्याकेज कार्यक्रममा उनले यस्तो टिपण्णी गरेका हुन्।

नेपाल भ्रमण वर्ष २०२० को प्रदेश स्तरीय प्रवर्द्धन समितिको अध्यक्ष समेत रहेका मन्त्री रायले कार्यविधि र बजेटको अभावमा 'भिजिट नेपाल' कार्यक्रम प्रभावकारी हिसाबले अघि नबढेकोमा असन्तुष्टि जनाए।

'भिजिट नेपाल २०२० का प्रदेश संयोजक मनिष झा हुनु हुन्छ, धेरै त होइन केही हदसम्म मैले सघाएको छु, तर दुःखको कुरा यसको कुनै कार्यविधि छैन, बजेट त परको कुरा' उनले भने, 'रामभरोसे मनारहे है ये कार्यक्रम, अहिले आएर केही चर्चा शुरु भएको छ, यस्तो हुनुमा संघीय सरकारको दोष छ।'

उनले विगतमा संघीय सरकारले प्रदेश अर्थात मधेसको विभिन्न जिल्लामा कति वटा धार्मिक स्थल वा पर्यटकीय स्थल छन् भन्ने बारेमा यकिन तथ्याक समेत पर्यटन बोर्ड वा पर्यटन मन्त्रालयमा नभएको बताए। अहिले प्रदेश सरकारले गत वर्षदेखि प्रदेशको पर्यटकीय स्थलको बारेमा तथ्याक संकलन गरी योजना बनाउनमै तलिन रहेको उनले बताए।

त्यस्तै प्रदेश नम्बर २ सरकारसँग होटल व्यवासायीहरुले प्रदेश २ मा पर्यटकको चाप बढाउन पोखरा–जनकपुर–पटनाको हवाई सेवाको माग गरेका छन्। पर्यटन प्रबर्द्धन समिति प्रदेश २ का सल्लाहकार एवं पर्यटन व्यवसायी युवराज लामाले २७ कार्यक्रमकै दौरान पर्यटन मन्त्री रायसँग यस्तो माग गरेका हुन्। उनले प्रदेश सरकारले यस विषयमा संघीय सरकारमार्फत भारतसँग कुरा राख्दा यस भेगका होटल व्यवसायीको लागि फलदायी हुने विश्वास व्यक्त गरे।

वीरगंज महानगरका मेयर विजय कुमार सरावगीले महानगरभित्रको खाली जग्गालाई उपयोग गरी टुरिज्म पार्क बनाउन पनि आग्रह गरे। वीरगंजमा सुविधाको अभावमा पर्यटक कम आउने उनले धारणा राखे।

विश्व पर्यटन दिवसको अवसरमा शुक्रवार वीरगंज महानगरपालिकाको आयोजना तथा भिजिट मधेश नेपालको संयोजनमा अन्तर्क्रिया कार्यक्रम भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell