PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

१६ वर्षीया लजालु ग्रेटा टुनबर्गको साहस : स्वीडेनको सडकदेखि राष्ट्र संघको जलवायु सम्मेलनसम्मको यात्रा



हेम रोकाहा

१६ वर्षीया लजालु ग्रेटा टुनबर्गको साहस : स्वीडेनको सडकदेखि राष्ट्र संघको जलवायु सम्मेलनसम्मको यात्रा

यो हप्ता विश्वव्यापी रुपमा ६० लाख भन्दा बढी मानिसहरु सडकमा उत्रिएर प्रदर्शन गरे। १५० बढी देशहरुमा भएका ती प्रदर्शनको एउटै उद्देश्य थियो, जलवायु परिवर्तनलाई नियन्त्रण गर्न आफ्नो सरकारलाई दवाब दिने।

'ग्लोबल क्लाइमेट स्ट्राइक' (विश्वव्यापी जलवायु हडताल) नाम दिइएको उक्त प्रदर्शनमा विशेषगरी स्कुले छात्रछात्राको सहभागिता थियो। तर यो प्रदर्शनमा हरेक तह र तप्काका मानिसहरुको साथ र सहयोग पनि थियो। जलवायु परिवर्तनका लागि विश्वव्यापी रुपमा भएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो प्रदर्शन हो।

यति व्यापक रुपमा भएको प्रदर्शनको नेतृत्व भने एक १६ वर्षीया लजालु किशोरीले गरिन्। उनी हुन्, स्वीडेनकी ग्रेटा टुनबर्ग (स्वीडिस् उच्चारण : ग्रीयटा)। उनी एकजनाबाट नै 'क्लाइमेट स्ट्राइक'को सुरुवात भएको हो। सन् २०१८ को अगस्टमा उनी एक्लै स्वीडेनको संसद अगाडि 'स्कुल स्ट्राइक फर क्लाइमेट' लेखिएको कार्डबोर्ड लिएर उभिइन्, अनि शुरु भयो 'क्लाइमेट स्ट्राइक'।

'क्लाइमेट स्ट्राइक'को गर्भ

ग्रेटा ८ वर्षको हुँदा उनले पहिलो पटक जलवायु परिवर्तनबारेमा थाहा पाएकी थिइन्। 'समुन्द्रमा प्लास्टिक', 'माछाको अभावमा भोकाएका पोलार बियर', 'चरम जलवायु प्रकोप' आदिबारे उनका शिक्षकले भनिरहँदा त्यसको प्रभाव उनको कलिलो मस्तिष्कमा गाढा रुपमा पर्‍यो। शिक्षकले उनको मस्तिष्कमा छापिदिएका यस्ता चित्रहरु हट्न सकेनन्। उनी यिनै कुराहरुबारे मात्रै सोच्न थालिन्।

उनी करिब ११ वर्ष पुग्दासम्म यी कुराले उनलाई यतिसम्म प्रभाव पारेकी उनी डिप्रेसनमा गइन्। त्यसकै परिणाम स्वरुप उनले खान र कसैसँग कुरा गर्न नै छाडिन्। उनले स्कुल जान पनि बन्द गरिन्। जब उनले यो विषयमा आफूले गर्न सक्ने कुराहरुबारे सोच्न थालेपछि मात्रै उनी डिप्रेसनबाट मुक्त भइन्।

त्यो दिन उनलाई सायद थाहा थिएन कि उनले कति ठूलो काम गर्न जाँदैछिन् भनेर, जुन दिन उनले कार्डबोर्डमा केही कुराहरु लेखिन् र स्वीडेनको संसदतिर लागिन्। उनले त्यसअघि पनि यस्ता प्रदर्शनबारे उनले सुनेकी र पढेकी थिइन्। केहीमा उनले भाग लिएकी पनि थिइन्। तर विशेषगरी अमेरिकामा विद्यार्थीहरुले गरेको एक प्रदर्शनबाट नै निकै प्रभावित भइन् र आफैँ नै 'स्कुल स्ट्राइक फर क्लाइमेट'को सुरुवात गरिन्।

फोटो : businessinsider.com ।

फोटो : businessinsider.com ।

पहिलो दिन त संसद अगाडि उनी एक्लै थिइन्। तर जब स्थानीय मिडियाले उनीबारे प्रचार गर्न थाले तब दोस्रो दिनबाट नै उनलाई साथ दिन फाट्टफुट्ट मानिसहरु आउन थाले। दुई, चार, आठ हुँदै सो संख्या हजारौं मात्रै नभइ लाखौंमा परिणत भयो। त्यसपछि भने उनले कहिल्यै एक्लो हुनु परेन। संसारभर नै उनको चर्चा भयो। संसद अगाडि एक्लै कार्डबार्ड लिएर बसेको उनको फोटो भाइरल नै बन्यो।

'सुरुवातमा मलाई कहिल्यै लागेको थिएन कि यो अभियानले यति ठूलो रुप लिन्छ भनेर', भाइससँगको अन्तर्वार्तामा उनले भनेकी छिन्।

पहिलो 'क्लाइमेट स्ट्राइक' : २० अगस्ट, २०१८

९ कक्षामा पढ्ने ग्रेटा २० अगस्ट २०१८ बाट सेप्टेम्बर ९ मा हुन लागेको (भएको) स्वीडेनको आम चुनावसम्म स्कूल नजाने निर्णय गरिन्। उनले स्कूलको समयमा हरेक दिन संसद बाहिर बसेर 'स्कुल स्ट्राइक फर क्लाइमेट' लेखिएको कार्डबोर्ड प्रदर्शन गरिन्। स्विडिस सरकारले पेरिस सम्झौताअनुसार कार्बन उत्सर्जन घटाओस् भन्ने उनको माग थियो।

आम चुनावको ठीक अगाडि सेप्टेम्बर ७ मा उनले स्वीडेनले पेरिस सम्झौता अनुसार नगरेसम्म हरेक शुक्रबार स्कुल नजाने र हडताल गर्ने घोषणा गरिन्। उनले 'फ्राइडे फर फ्यूचर' भन्ने नाराको पनि सुरुवात गरिन्, जुन अहिले विश्वव्यापी रुपमा प्रख्यात छ। उनले विश्वभरका स्कूले विद्यार्थीलाई हड्तालमा भाग लिन प्रेरितसमेत गरिन्।

फोटो: सामाजिक सञ्जाल ।

फोटो : सामाजिक सञ्जाल ।

'ग्लोबल क्लाइमेट स्ट्राइक' : १५ मार्च २०१९

ग्रेटाको अभियानबाट प्रेरित भएर अस्ट्रेलियाका विद्यार्थीहरुले प्रधानमन्त्रीको 'बढी स्कुलमा सिक्ने र बाहिर कम सक्रिय हुने' भन्ने नारालाई बेवास्ता गर्दै हरेक शुक्रवार प्रदर्शन गर्न थाले। त्यसलगत्तै पोल्यान्डको कोटाविकमा गरिएको सम्मेलनपछि विद्यार्थीहरु अझ संगठित भएर प्रदर्शन गर्न थाले, जसले २७० सहर तातेका थिए। जसमध्ये अस्ट्रेलिया, अस्ट्रिया, बेल्जियम, क्यानडा, नेदरल्याण्ड्स, जर्मनी, फिनल्याण्ड, डेनमार्क, जापान, स्विजरल्याण्ड, बेलायत र अमेरिकाका सहरमा व्यापक रुपमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिए।

स्वीडेनमा ग्रेटाले प्रदर्शन गरिरहँदा संसारभरमा विद्यार्थीहरुले आआफ्नो देशमा नेतृत्व गर्दै उनको पथलाई पछ्याए। जसमा विशेषगरी टिनेजर र युवायुवतीको पनि सहभागिता थियो।

'ग्लोबल क्लाइमेट स्ट्राइक' हुनुभन्दा तीन हप्ता पहिले मुख्य सहरका प्रदर्शन आयोजकहरु पहिलोपल्ट बेल्जियमको ब्रसेल्समा एक ठाउँ भएका थिए। जसमा स्वीडेनबाट ग्रेटा, जर्मनीबाट लुइसा नूबोवर, बेल्जियमबाट एन्ना डी वेभर तथा बेलायतबाट एन्ना टेलर र स्कारलेट पोसनेटले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। जसमा १० हजार विद्यार्थीहरुको सहभागिता थियो। त्यसपछि मुख्य आयोजकले फ्रान्सको पेरिसमा भेट गरेका थिए। त्यहाँ उनीहरु अझ संगठित हुने मौका पाए।

'ग्लोबल क्लाइमेट स्ट्राइक' हुनुभन्दा ५ दिन पहिले मुख्य युरोपेली सहरका 'क्लाइमेट स्ट्राइक' आयोजकलाई युरोपेली संसदमा डाकियो। त्यहाँ उनीहरुको कुरा सुन्नेभन्दा पनि उनीहरुलाई स्कुल फर्कन राजनीतिज्ञले दवाब दिएका थिए। राजनीतिज्ञको कुराले आक्रोशित बनेका उनीहरुले त्यही नै १५ मार्चमा कम्तीमा ६८ देशमा आफूहरुले 'ग्लोबल क्लाइमेट स्ट्राइक' गर्ने घोषणा नै गरिदिए।

फोटो : Patrícia de Melo Moreira/AFP ।

फोटो : Patrícia de Melo Moreira/AFP ।

१५ मार्चमा ६८ देशमा गर्ने भनिएको 'ग्लोबल क्लाइमेट स्ट्राइक' करिब १२५ देशका २ हजार २ सयभन्दा बढी सहर जलवायु परिवर्तनको खबरदारी सम्बन्धी नाराले घन्किए। अरु त अरु अन्टार्कटिका महाद्विपमा पनि विद्यार्थीहरुले प्रदर्शन गरेका थिए। यो विश्वव्यापी रुपमा गरिएको पहिलो 'ग्लोबल क्लाइमेट स्ट्राइक' थियो।

दोस्रो 'ग्लोबल क्लाइमेट स्ट्राइक' २४ मे २०१९ मा भयो। उक्त अवसरमा १२५ देशका १ हजार ६०० सहरमा लाखौं विद्यार्थीहरुले प्रदर्शन गरेका थिए। २०१९ को युरोपेली संसदको चुनावलाई प्रभाव पार्न उक्त प्रदर्शन गरिएको थियो।

त्यसपछि संयुक्त राष्ट्र संघले आयोजना गर्ने 'यूएन क्लाइमेट एक्सन समिट' (संयुक्त राष्ट्र संघ जलवायु शिखर सम्मेलन, २३ सेप्टेम्बर) को अवसर पार्दै गत सेप्टेम्बर २० देखि २७ सम्म 'ग्लोबल क्लाइमेट स्ट्राइक'को 'ग्लोबल विक फर फ्युचर' आयोजना गरिएको थियो। जसको समर्थनमा १५० देशका ४ हजार ५ सय सहरमा प्रदर्शन भएको थियो। २० सेप्टेम्बरको दिनमा मात्रै ४० लाख मानिस विश्वव्यापी रुपमा सडकमा उत्रिएका थिए।

फोटो : Ranita Roy/Reuters ।

फोटो : Ranita Roy/Reuters ।

वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुको साथ

ग्रेटा र उनको 'ग्लोबल क्लाइमेट स्ट्राइक'लाई वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुको पनि साथ र सहयोग छ। सबैभन्दा पहिले ३१ जनवरी २०१९ मा बेल्जियमका ३ हजार ४ सय वैज्ञानिक तथा विज्ञहरुले खुल्ला पत्रमा संयुक्त हस्ताक्षर गर्दै 'ग्लोबल क्लाइमेट स्ट्राइक'को समर्थन गरेका थिए। त्यसलगत्तै ५ मार्च २०१९ मा जर्मनीका ७ सय अनुसन्धानकर्ताहरुले समर्थन गरेका थिए। उनीहरुले एक विज्ञप्तिमा संयुक्त रुपमा हस्ताक्षर गर्दै त्यसमा समर्थन जनाएका थिए।

११ मार्चमा नेदरल्याण्ड्सका ३ सय ४० वैज्ञानिक र फिनल्याण्डका १ हजार २ सय अनुसन्धानकर्ताहरुले पनि खुल्ला पत्रमार्फत उनीहरुको समर्थन गरे। १४ मार्चमा क्लब अफ रोमले विज्ञप्ति जारी गर्दै ग्रेटा र उनको अभियानलाई समर्थन गरेको जनाएको थियो।

हवाइजहाज चढ्दिनन् ग्रेटा

यात्रा गर्दा ग्रेटाले हवाइजहाजको प्रयोग गर्दिनन्। हवाइजहाजले अत्याधिक कार्बन उत्सर्जन गर्ने भएकाले हवाइजहाजको प्रयोग नगर्ने उनले बताएकी छिन्।

केही समयअघि मात्रै उनले संयुक्त राष्ट्र संघ जलवायु शिखर सम्मेलनमा भाग लिन कार्बनरहित पानीहजाज चढेर दुई हप्ता लामो यात्रापछि न्युयोर्क पुगेकी थिइन्।

शिखर सम्मेलनमा भावुक मन्तव्य

ग्रेटाले गत २३ सेप्टेम्बरमा अमेरिकाको न्युयोर्कमा भएको संयुक्त राष्ट्र संघ जलवायु शिखर सम्मेलनलाई सम्बोधन गरेकी थिइन्। सो क्रममा उनले दिएको भावुक मन्तव्यको निकै चर्चा चलेको छ।

 

सम्मेलनमा भाग लिएका विश्वका राष्ट्रप्रमुखहरुलाई उनले भनेकी छिन्, 'हामीले तपाईहरुलाई हेरिरहेका छौं, यो सबै गलत भइरहेको छ, म यहाँ हुनु हुँदैन थियो। म समुन्द्रपारीको मेरो स्कुलमा पढिरहेको हुनुपर्थ्यो। …. तपाईहरुले मेरो सपना र मेरो बालापन खोस्नुभएको छ, तपाईहरुको हिम्मत कसरी भयो? … मानिसहरु पीडामा छन्, मरिरहेका छन्, सम्पूर्ण इकोसिस्टम ध्वस्त हुँदै छ, ठूलो लोपको सुरुवात हुँदैछ, तर तपाईहरुले पैसा र आर्थिक बृद्धिको दन्ते कथाको बारेमा मात्रै कुरा गर्नुहुन्छ। तपाईहरुको हिम्मत कसरी भयो?'

'नोबेल शान्ति पुरस्कार'को लागि मनोनित

गत २३ अप्रिलमा ग्रेटाले बेलायतको संसदमा बोलेकी थिइन्। त्यसको एक हप्तापछि बेलायत जलवायुको आपतकालिन अवस्था (क्लाइमेट इमर्जेन्सी) रहेको घोषणा गर्ने पहिलो राष्ट्र बनेको थियो।

विश्वव्यापी जलवायु परिवर्तनको हडताल गर्ने तथा विश्वभरका सरकारलाई यसबारे सोच्न र कदम चाल्न बाध्य बनाउने अभियानमा लागेकी ग्रेटा 'नोबेल शान्ति पुरस्कार'को लागि मनोनित पनि भएकी छिन्।

फोटो : AP ।

फोटो : AP ।

'एस्पर्गर' रोगकी बिरामी

ग्रेटा 'एस्पर्गर' नामक डिसअर्डरकी बिरामी हुन्। यो एक प्रकारको बृद्धि विकास सम्बन्धी डिसअर्डर हो। यो डिसअर्डर हुने मानिसहरुमा सामाजिक अन्तर्क्रिया तथा गैरमौखिक संचारमा समस्या हुन्छ। अर्थात उनीहरुलाई समाजमा घुलमिल हुन गाह्रो हुन्छ। यस्ता मानिसहरुमा समाजभन्दा बेग्लै सोच्ने तथा एकोहोरो बानी बढी हुन्छ। यो अटिजम जस्तै भएपनि अन्य मानिसजस्तै सामान्य भाषाशैली र बौद्धिकताका कारण केही हदसम्म त्योभन्दा फरक हुन्छन्।

उनको यसै समस्याका कारण उनलाई आलोचकहरुले मानसिक बिरामी पनि भन्ने गर्छन्। तर उनको साहस, बौद्धिकता, र नैतिकता निकै नै प्रेरणादायी छ।

फोटो : Reuters ।

फोटो : Reuters ।

'मलाई एस्पर्गर भएकाले म सीधा कुरा मात्र गर्छु। अरुले शिष्ट हुन् असल शब्दमा बोल्छन् तर म जे महसुस गर्छु त्यही नै बोल्छु' भाइससँग ग्रेटाले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell