PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

क्यानका नवनिर्वाचित अध्यक्ष चन्द भन्छन, ‘क्यानमा नकारात्मक प्रवृति हावी हुन दिँदैनौ, यही वर्ष नेपाल प्रिमियर लिग हुन्छ’



मुकुन्द घिमिरे

क्यानका नवनिर्वाचित अध्यक्ष चन्द भन्छन, ‘क्यानमा नकारात्मक प्रवृति हावी हुन दिँदैनौ, यही वर्ष नेपाल प्रिमियर लिग हुन्छ’

लामो समयको विवाद, निलम्बन र प्रतिक्षा पछि नेपाल क्रिकेट संघ क्यानको निर्वाचन सम्पन्न भएको छ। लामो समयसम्म विवादमा घेरिएको क्यानले आज नयाँ नेतृत्व पाएको हो। चतुरबहादुर चन्द क्यानको अध्यक्षमा पुन निर्वाचित भएका छन्।

चन्दले २०७२ सालमा पनि क्यानको अध्यक्षमा निर्वाचित भएका थिए। तर, पछि क्यानमा विवाद चुलिएपछि आइसिसीले क्यान निलम्वन गरेको थियो।

क्यानको नेतृत्वलाई लामो समययता नियाल्दै आएका चन्दको विशेषगरी सुदुरपश्चिमको क्रिकेटको विकास गर्न विशेष योगदान रहेको बताइन्छ। यता क्यानमा भने उनी आफू निर्वाचित अध्यक्ष भएर पनि कार्यसम्पादन गर्न नपाएको बताउँदै आएका थिए।

राजनीतिक हिसावले चन्द नेपाली कांग्रेस वैतडीका उपसभापतिसमेत हुन्। त्यस्तै शिक्षण पेशामा समेत रहिसकेका चन्दले जिपी कोइराला फाउन्डेसनको समेत नेतृत्व गरिरहेका छन्।

आज क्यानमा नेतृत्व निर्वाचित भएसँगैसँगै आइसिसीले पनि निलम्वन फुकवाको आश्वासन दिएको छ। आइसिसीका प्रतिनिधि अमर शेखले अक्टोबरमा हुने आइसिसीको बैठकमा नेपालको निलम्बन फुकुवाको विषयमा प्रवेश गर्ने बताए। उनले ३ वर्षको लामो प्रक्रियाहरुबाट क्यानले पाएको नेतृत्व ऐतिहासिक रहेको बताए।

क्यानको केन्द्रीय कमिटीले पूर्णता पाएसँगै चुनौतीका चाङ थपिएको छ। यसलाई इङ्कित गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले भनेका थिए, ‘पारदर्शिता, क्रिकेटको विकास र सुधारमा नयाँ नेतृत्वलाई अझ धेरै चुनौती हुनेछन्,’

यता नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्द सबैभन्दा पहिला आफूहरु पूर्वाधार र प्रतियोगिता आयोजनामा लाग्ने बताए। उनले प्रदेश र जिल्लाको लिगहरुको अवस्था पछिल्ला केही वर्षयता विग्रिएको बताउँदै त्यसलाई आफ्नो नेतृत्वले चुस्त बनाउने दाबी गरे।

सर्वप्रथम सातै प्रादेसिक प्रतियोगितालाई बढावा दिने उनले दाबी गरे। ‘हुन त धेरै प्रतियोगिताहरु भइरहेका छन्। तर, अब झारा टार्ने हिसाबमा होइन, क्यानको स्ट्यान्डरमा, आइसिसीको मापदन्डमा रहेर प्रतियोगिताहरु आयोजना गरिने छ।’

यसबाट राष्ट्रिय टिममा खेलाडी तयार गर्न खेलाडीहरुलाई अगाडि बढाउन पनि आवश्यक लिगहरु आवश्यक रहेकोले आफूहरु जोडतोडका साथ यसमा अघि बढ्ने दाबी गरे।

चन्दले क्रिकेट विकासका लागि प्रतियोगिता नै पहिलो आवश्यकता रहेको बताउँदै पूर्वाधारको क्षेत्रमा पनि खेलकुद परिषद र मन्त्रालयले प्राथमिकतामा राखेकोले आफूले संवन्धित निकायसँग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

विवाद र राजनीतिले लामो समय थलिएको क्यानलाई नयाँ नेतृत्व दिलाउन नयाँ भिजनको आवश्यकता छ। र, क्यान सञ्चालनका लागि आइसिसीको निलम्वन फुकुवाको ट्ड्कारो आवश्यकता छ। निलम्वन फुकुवाका लागि चन्दले आइसिसीलाई कतिको आस्वस्त गर्न सक्छन, त्यसलेनै नेपाली क्रिकेट कसरी अघि बढ्छ भनेर संकेत गर्ने छ।

त्यसो त अन्तर्राष्ट्रिय निकायहरुसँग अध्यक्षपदका प्रत्यासीसमेत रहेका विनयराज पाण्डेको राम्रो सम्वन्ध रहेको बताइन्छ। आइसिसीसँग उनको राम्रो पहुँच रहेको बताइन्छ। हुन त चन्दले पनि त्यसतर्फ संकेत गर्दै पाण्डेसँग भएका क्रिकेटसम्वन्धी ज्ञान तथा भिजनहरुलाई आफूहरुले पनि ग्रहण गर्ने बताए।

चन्द आइसिसीसँग राम्रो सम्वन्ध बनाउनु निर्वाचित कमिटीका लागि चुनौती हुने बुझेका छन्। यसका लागि पहिलो पक्ष आफूहरुले क्यानको निलम्वन फुकुवामा पहल कदमी गर्दै स्वतन्त्र रुपले क्यान नेतृत्व गर्न लागि तयार रहेको चन्दको भनाइ छ।

उनले शनिवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्य चुनौतीको रुपमा आइसिसीसँग राम्रो सम्वन्ध बनाउने रहेको बताए।

‘आइसिसीसँग समन्वय गर्ने चुनौती रहेको छ। अझै पनि आइसिसीले नेपाली क्रिकेटलाई चुस्त दुरुस्त रुपमा चल्दैन कि भनेर शंकाको दृष्टिले हेरेको छ। त्यसलाई चिर्दै राम्रो सम्वन्ध बनाएर नेपाली क्रिकेटको विकास गर्ने हाम्रो लक्ष्य छ।’

 

उनले नेपाली क्रिकेटमा हुने राजनीतिलाई संकेत गर्दै क्रिकेटमा चलखेल हुन नदिन आफूहरु चनाखो रहेको दाबी गरे।

‘क्रिकेटलाई नकारात्मक बाटो तिर लैजान खोज्ने या नकारात्मक उर्जा दिनखोज्ने साथीहरुसँग हामी सम्वन्ध राख्दैनौ। मात्र सकारात्मक र नेपाली क्रिकेटलाई सकारात्मक दिशातिर डोहोर्‍याउन चाहने साथीहरुसँग हामी सम्वन्ध राख्ने छौं।’ उनले भने।

उनले आफूहरुले पहिलाबाट नै आइसिसीसँग राम्रो समन्वय गर्दै आएकोसमेत दाबी गरेका छन्। ‘पुरानो कमिटीले आइसिसीसँग समन्वय गर्न नसकेको भन्ने कुरा होइन। समस्या पहिले देखि थियो। बिचमा चुनावमा विवाद भयो र निलम्बन भयो। त्यसपछि त समन्वय गर्दै गर्दै अहिलेसम्मको स्थितिसम्म त ल्याइसकेका छौं,’ उनले भने।

उनले अध्यक्षका अर्का प्रत्यसी विनयराज पाण्डे क्रिकेटको अग्रज ब्यक्ति भएकाले वहाँसगको सल्लाह सुझाव र योजनाहरुलाई मनन गर्दै र लिँदै कार्यसम्पादन गर्ने बताए।

उनी नेपाली क्रिकेटलाई अब विवादरहित हिसावले अघि बढाउनेमा आत्मविश्वासी देखिन्छन्। ‘ सबैको आँखा नेपाली क्रिकेटलाई राम्रो बनाउँ भन्नेमा केन्द्रीत छ। हामीसँग नेपाली क्रिकेट खेलाडी र खेलप्रेमीसबैको अपेक्षा पनि ठूलो छ। अब नेपाली क्रिकेटले नयाँ तरिकाले निकास पाउँछ र विवादरहित तरिकाले अघि बढ्छ भन्नेमा म विश्वस्त छु। ’

यसरी हेर्दा नेपाली क्रिकेटमा अबको नयाँ नेतृत्वलाई चुनौतीको कमी छैन। तर आइसिसी स्वतन्त्र कमिटी र राष्ट्रिय खेलकुद परिषदको उपस्थितिमा  निर्वाचित क्यानलाई अब काम गर्ने वातावरण भने राम्रो छ। निर्वाचित कमिटीले कृकेट खेलमा बढ्दो रुची र सम्भावनालाई मध्यनजर गर्दै अघि बढ्न आवश्यक देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell