सिंगापुरमा जारी त्रिकोणात्मक टी २० सिरिजमा नेपालले आयोजक सिंगापुरमाथि सानदार जित हात पारेको छ।
सिंगापुरको इण्डियन एसोसिएसनको मैदानमा भएको खेलमा सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। सिंगापुरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५१ रन बनाएको थियो। सिंगापुरका लागि कप्तान टिम डेभिडले सर्वाधिक ६४ रन बनाएका थिए। त्यस्तै सुरेन्द्रन चन्द्रमोहनले ३५ रन तथा जनक प्रकाशले २५ रनको महत्वपूर्ण योगदान दिए। सिंगापुरको २ विकेट करण केसी र १ विकेट सुशन भारीले झारेका थिए।
ठूलै लक्ष्य पछ्याएको नेपालले आक्रामक खेल खेल्दै १६ ओभरमै चुनौती पछ्याइसकेको थियो। नेपालका लागि कप्तान पारस खड्का र आरिफ शेखकाे साझेदारी महत्वपूर्ण सावित भयाे।
नेपालका लागि कप्तान पारस खड्काले ५२ बलमा अभिजित १०६ रन बनाए। उनले ७ चौका र ९ छक्काको सहायतामा शतकीय पारी खेलेका हुन्। नेपालका ओपनर इसान पाण्डे ६ बलमा ५ रन बनाउदै पभेलियन फर्किएपछि कप्तान पारस खड्का र आरिफ शेख क्रिजमा जमेका थिए। आरिफ शेखले पनि ३८ बलमा ३९ रन बनाए। त्यसका लागि उनले ५ चौका प्रहार गरेका थिए।
नेपाल पहिलो खेलमा बलियो जिम्बावेसँग पराजित भएको थियो। आजको खेलमा जित निकालेसँगै नेपालले ३ अंक जोडेको छ। नेपालले अर्को खेल असोज १४ गते जिम्बावे र १५ गते सिंगापुरसँग खेल्ने छ।