
काठमाडौं: आज असोज शुक्ल प्रतिपदा। नेपालीहरुको महान चाड बडादशैं आबजदेखि सुरु भएको छ। आज घरघरमा जमरा राखेर घटस्थापना गरिँदैछन। शास्त्रीय विधान अनुसार विधिवपूर्वक दशैं घर वा पूजा कोठामा कलश स्थापना गरि दुर्गा भवानीको आह्वान गर्ने गरिन्छ। कलशलाई दुर्गा भगवतीको प्रतीकका रुपमा पूजा गरी नदीबाट ल्याएको पानी र बालुवामा धान, गहुँ, जौं आदि छरेर घटस्थापना गर्ने गरिन्छ। यस वर्षको घटस्थापनाको शुभ साइत बिहान १० बजेर ३५ मिनेट रहेको राष्ट्रिय पञ्चांग निर्णायक समितिले जनाएको छ।
जमरालाई देवी भगवतीको मनपर्ने फूलका रुपमा लिइन्छ। त्यसैले जमरा राखेको स्थानमा कलश स्थापना गरि अबको ९ दिन सम्म देवी दुर्गा भगवतीका विभिन्न ९ रुपको आराधना गर्ने गरिन्छ।
दशैंको पहिलो दिन आज शैलपुत्री देवीको पूजा गर्दै घटस्थापना गरिँदैछ। पर्वत राज हिमालयको पुत्रीका रुपमा जन्म लिएकीले उनको नाम शैलपुत्री रहन गएको शास्त्रमा वर्णन गरिएको छ। शैलपुत्रीको आराधना गर्नाले धन, सौभाग्य मोक्ष प्राप्त गर्नुका साथै रोग व्याधी र दीर्घ रोगबाट मुक्ती पाउने शास्त्रीय मान्यता रहेको छ।
दशैंको पहिलो दिनदेखि नै नवरथ जाने परम्परा रहेको छ। संस्कृतिकर्मी लक्ष्मण राजवंशीका अनुसार पहिला काठमाडौंमा ९ दिनसम्म ९ तीर्थहरु क्रमश: शंकरतीर्थ (शंखमूल), निर्मलतीर्थ (शोभा भगवती), पुण्यतीर्थ (गोकर्ण), कालमोचनतीर्थ (कालमोचन), पन्चनारीतीर्थ (पचली), मनोरथतीर्थ (टोखा) , देवतीर्थ (देउपाटन), चिन्तामणी तीर्थ ( टेकु), भवानी तीर्थ (ढोका टोल) गइ स्नान गर्ने परम्परा रहेको थियो। नवमीको दिन नवरथ गएकाहरु दशमीका दिन गुहेश्वरीस्थित शान्ततीर्थमा गएर स्नान गरी नवरथ टुंग्याउने गर्थे। सबै स्थान जान नसक्नेहरु नजिकको मन्दिरमा गएर पूजा गर्ने गर्थे। हाल भने नवरथ जाने परम्परामा कमी आएको छ। मानिसहरु नजिकैको दुर्गा भगवतीको मन्दिरमा गएर पूजा गर्ने गर्छन् भने नदीबाट बालुवा ल्याइ जमरा राख्ने प्रवृत्तीमा समेत कमी आएको देखिन्छ।
घटस्थापनाको भोलिपल्ट ब्रह्मचारिणी देवीको पूजा गरिनेछ भने त्यसपछि महानवमीसम्म क्रमश चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्रीको आराधना गर्ने गरिन्छ। यससँगै दशै अवधीभर नव दुर्गाका साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको समेत विशेष पूजा गर्ने गरिन्छ।
विजयी दशमीका दिन भने देवीको आशीर्वाद स्वरुप ठूलाबडाको हाताबाट टीका लगाउने परम्परा रहेको छ।
यस वर्ष असोज २१ गते मंगलवार विजया दशमीका दिन बिहान ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको उत्तम साइत रहेको र टीका लगाउने उपयुक्त समय भने बिहान १० बजेर ३५ मिनेट जुरेको पञ्चांग निर्णायक समितिले जनाएको छ।