PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

चिनियाँ राष्ट्रपति सी रिझाउने सरकारको प्रयास : नेपालका लागि भ्रमण कति होला सफल?



विधुर ढकाल

चिनियाँ राष्ट्रपति सी रिझाउने सरकारको प्रयास : नेपालका लागि भ्रमण कति होला सफल?

सिचुवान : ६ वर्षदेखि जनगणतन्त्र चीनका राष्ट्रपति सी जिङपिङलाई नेपालमा स्वागत गर्ने तीव्र इच्छाका साथ पर्खाइमा रहेको नेपालको चाहना पूरा हुने सम्भावना बढ्दै गएको छ। पछिल्लो पटक नेपाल सरकार र सत्तारुढ दलले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण अगाडि बढाउनका लागि पहल तीव्र पारिरहेका छन्।

यसैको कडीको रुपमा पछिल्लो साता मात्र नेपालमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले सी विचारधाराबारे बहस चलायो।

माओवाद र माओविचारधाराबारे बहस चलाइरहेका नेपालका कम्युनिस्ट पार्टीले चीनमा दुई वर्ष अगाडि मात्र दस्तावेजमा उल्लेख भएको सी जिङपिङ विचारधाराबारे बहस चलाएर राष्ट्रपति सी र उत्तरी छिमेकी चीनको ध्यान तान्ने प्रयास गरेका हुन्।

नयाँ युगका लागि ‘चिनियाँ विशेषता सहितको समाजवादमा सी जिङपिङ विचारधारा’का नामले हालै मात्र चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारको संविधानमा उल्लेख भएको यो विचारधाराले चीनलाई ३० वर्ष भित्र आधुनिक युगमा प्रवेश गराउने रोडप्यापको रुपमा हेरिएको छ।

त्यसो त चिनियाँ राष्ट्रपति सीले प्रजातन्त्रलाई सुदृढ बनाउँदै लैजाने र चिनियाँ जनकंग्रेसमा सुधार गर्दै लैजाने घोषणा गरिसकेका छन्। उनले जनकंग्रेसमा विभिन्न क्षेत्रका विज्ञ तथा स्वतन्त्र व्यक्ति तथा अन्य साना दलको पनि प्रतिनिधित्वको कुरा गरेका छन्।

अहिले सी विचारधाराका बारेमा पार्टीका तल्ला कमिटीहरु, विद्यालय, विश्वविद्यालय, सामाजिक सञ्जालहरु, यहाँका सञ्चारमाध्यममा बहस चलिरहेको छ। चीन सरकारले यसलाई अनिवार्य गराउनका लागि सर्कुलर जारीसमेत गरेको थियो।

चार महिना अगाडि मात्र संस्थापन लक्ष्यका लागि सत्यका साथ अगाडि बढ्ने थिमका साथ जारी भएको सर्कुलरमा यसको सिद्धान्त र यसका विषयहरुमा जानकारी सबैलाई हुनुपर्ने उल्लेख छ। त्यसका लागि चिनियाँ कम्युनिस्ट पार्टीको प्रचार विभागले तयार पारेको आउटलाइनले सहयोग गर्ने उल्लेख छ।

चीनमा माओ, देङ स्याओपिङ सहितको चीनलाई अगाडि बढाउन सक्ने नेतृत्वको रुपमा सीलाई लिइएको छ। त्यसैका लागि गत वर्ष मात्र चीनले संविधान संशोधन गरी राष्ट्रपतिको दुई कार्यकालको व्यवस्था परिवर्तन गरी सीलाई तेस्रो कार्यकाल पनि राष्ट्रपति बन्ने बाटो खोलिदिएको छ।

चीनमा शक्तिशाली बन्दै गएको सीको विचारलाई नेपालमा बहस चलाइनुले नेपालमा हलचलसमेत मच्चिएको छ।

एकातिर सत्तारुढ दल ने क पाले सी विचारधाराबारे बहस चलाइरहँदा अर्कोतिर नेपाली कांग्रेसका नेताहरुले भने ने क पा चिनियाँ कम्युनिस्ट पार्टीको भगिनी संस्था जस्तै भएको आरोप लगाइरहेका छन्।

विचारधाराबारे बहस

चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ थावो उपस्थित कार्यक्रममा सी विचारधाराबारे बहस चलाइनु सीको विकासवादी पथमा नेपाल हिँड्न खोजेको हो त?

नेपालमा विचारधारासम्बन्धी बहस पहिलेदेखि नै छ। अहिले बनेको ने क पाका दुई शक्ति पूर्व माओवादी र पूर्व एमालेबीच विचारको बहस अझै छ। माओवादीले युद्ध चलाउँदा माओवाद मान्दै आएको शान्ति प्रक्रियामा आइसक्दा माओवाद कि माओ विचारधारा भन्ने बहसमा अल्झियो। निचोडमा पुग्न नपाउँदै माओवादबारे बहस गर्न नरुचाउने पूर्व एमालेसँग एकता गर्‍यो। अहिले माओवाद/विचारधाराको बहस थाँती छ। त्यतिमात्र होइन माओवादीले प्रचण्डको नाममा प्रतिपादन गरेको प्रचण्डपथ छाडिसकेको धेरै भयो। एमालेले मदन भण्डारीको विचार जनताको बहुदलीय जनवाद जवजलाई पनि अहिले थाँती राखेको छ।

अहिले आएर मार्क्सको द्विसतवार्षिकीको अवसरमा आयोजित सी विचारधारा बारेको बहसले ने क पा सीकै विकासवादी पथमा अगाडि बढ्ला त?

नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का प्रवक्ता एवम् प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले अरुको सिद्धान्तको नक्कल गर्न नहुने बताएका छन्।

उनले बुधबार ट्वीटमार्फत सी जिनपिङ् विचारधाराबाट ने क पाले केही कुरा सिक्ने तर नक्कल नगर्ने बताएका हुन्।

उनले ट्वीटमा भनेका छन्, 'सी जिनपिङ विचारधारा चिनियाँ कम्युनिस्ट पार्टीको महत्वपूर्ण निर्देशक सिद्धान्त हो, हाम्रो होइन। हामी कुनै पनि लोकतान्त्रिक, प्रगतिशील, क्रान्तिकारी, समाजवादी धारका अनुभवबाट सिक्न तयार छौँ। तर हामी नक्कल गर्दैनौँ। यसमा अस्पष्ट हु्नुपर्ने कारण छैन।'

विचारधाराबारे भएको प्रशिक्षणलाई ने क पाले यसलाई मानेको भन्न नहुने प्रवक्ता श्रेष्ठको भनाइ मान्ने हो भने ने क पा सीको विचारधारामा अगाडि बढ्न अहिल्यै तयार छैन भन्ने प्रष्ट हुन्छ।

अनि किन त प्रशिक्षण?

काठमाडौंमा भएको प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्रीदेखि मन्त्रीसम्म ने क पाका केन्द्रीय नेतृत्वहरुको सहभागिता थियो। कार्यक्रममा बोल्ने प्रधानमन्त्री केपी शर्मा ओली र ने क पाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सीको खुलेरै तारिफ गरे।

उदघाटनमा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिस्ट पार्टी र सी जिनपिङको औधी प्रशंसामै शब्द र समय खर्च गरे।

चिनियाँ कम्युनिस्ट पार्टी मार्क्सवादको रक्षामा अब्बल देखिएको उल्लेख गर्दै यस विकासको श्रेय सी जिनपिङलाई नै जाने ओलीको भनाई थियो।

'विकास गरेर विश्वलाई नै चकित तुल्याएको छ। चिनियाँ मोडल दिगो हुने पक्का देखिन्छ। यसको श्रेय सी जिनपिङलाई नै जान्छ,' प्रधानमन्त्रीले प्रशिक्षणको उदघाटनमा भनेका थिए।

उनी मात्र होइन ने क पाका अर्का अध्यक्ष प्रचण्डले पनि सीको उस्तै तारिफ गरे। प्रचण्डले एक चीन नीतिप्रति नेपाल अडिग रहेको र चीनविरुद्धका कुनै पनि गतिविधि नेपालमा सह्य नहुने बताए।

अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी जिनपिङले अघि सारेको चिनियाँ विशेषतासहितको समाजवादको प्रशंसा गर्दै नेपाललगायतका मुलुकले त्यसबाट सिक्नुपर्नेमा जोड दिएका थिए।

'चिनियाँ विशेषतासहितको समाजवादको अहिले विश्वव्यापी रुपमा बहसको बिषय बनेको छ। त्यसबाट नेपालले के सिक्ने? आज र भोलि हुने छलफलमा कुरा उठ्नेछ', प्रचण्डले भनेका थिए।

यसअघि प्रचण्डले चिनियाँ विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा भएको भेटवार्तामा नेपाल अमेरिकी इन्डो प्यासिफिक स्ट्राटेजीको अंग नहुने स्पष्ट पार्दै चिनियाँ पक्षलाई आश्वास्त पार्ने प्रयास गरेका थिए।

यता ने क पाका दुई अध्यक्षको उपस्थितिमा ने क पा विदेश विभागका प्रमुख वरिष्ठ नेता माधव नेपाल र सोङले ने क पा र सीसीपीबीच साझेदारीका लागि सहमति पत्रमा हस्ताक्षर गरे।

यी सबै परिघटना चिनियाँ राष्ट्रपति सीको हुने भनिएको नेपाल भ्रमणको तयारीका लागि गरिएको प्रयासको रुपमा रहेको छ।

पहिलो कार्यकालमा दक्षिण एसियाका नेपाल र भुटान बाहेकका देशको भ्रमण गरिसकेका सीले नेपालको भ्रमण गर्ने चर्चा कार्यकाल सुरु हुँदा देखिकै हो। भुटानसँग भने चीनको कूटनीतिक सम्बन्ध छैन। तर, लामो कूटनीतिक सम्बन्ध राख्ने र सामरिक दृष्टिले पनि महत्त्वपूर्ण नेपाल सीको भ्रमणमा पर्न सकेको छैन। यसलाई तोड्ने प्रयासमा लामो समयदेखि नेपाल सरकार र संस्थापन पक्ष लागिरहेको छ। यसैको एक कडीको रुपमा काठमाडौंमा सी विचारधाराबारे बहस हो।

होला त भ्रमण?

चीन सरकारले राष्ट्रपति सीको भ्रमण तालिका अन्तिम समयमा मात्र सार्वजनिक गर्दै आएको छ। भ्रमणको मिति कूटनीतिक छलफलकै क्रममा रहेको बताइएको छ। यद्यपि, यही असोजको अन्तिम सातासम्म भ्रमण हुन सक्ने बताइएको छ।

यसैको कडीको रुपमा चिनियाँ नेताहरुको पछिल्ला नेपाल भ्रमणलाई लिन सकिन्छ।

चिनियाँ विदेश विभाग प्रमुख सोङको नेपाल भ्रमण पनि यसैको कडी हो। राष्ट्रपति सीले कुनै पनि देशको राजकीय भ्रमण गर्नु अगाडि उनी पहिल्यै तयारीबारे बुझ्न पुग्ने गर्छन्। ने क पाले आयोजना गरेको कार्यक्रममा उनले सीलाई स्वागत गर्ने नेपालीको आशा पूरा हुने विश्वास दिलाउँदै भनेका थिए, ‘तपाईंहरूको आशा पूरा हुने विश्वास गर्नुहोस्।’

त्यस्तै चिनियाँ विदेश मन्त्री पनि यसको बारेमा बुझ्न नेपाल पुगेका थिए। चिनियाँ विदेश मन्त्री नेपाल पुग्दा छलफलका अन्य एजेन्डा र सहमति गर्ने अन्य विषय थिएनन्। त्यसैले ठूला सहमति भएनन्। तर, प्रमुख एजेन्डा सीकै भ्रमण थियो।

त्यस्तै यसबीच चिनियाँ सुरक्षा अधिकारीहरु पनि सीको भ्रमणको तयारी र सुरक्षा अवस्थाको विषयमा बुझ्न नेपाल पुगेर फर्किएका छन्। यसले सीको भ्रमण सुनिश्चित हुँदै गएको संकेत गर्छ।

यत्तिले मात्र सीको भ्रमण सफल होला त?

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका एजेन्डाहरु के के हुने भन्ने विषय उनको नेपाल भ्रमणको सफलतासँग जोडिन्छ। भ्रमणका क्रममा नेपालले के एजेन्डा प्रस्तुत गर्छ यसले नेपालका लागि कति फाइदा भयो भन्ने लेखाजोखा हुन सक्छ।

तर, भ्रमणका लागि भ्रमण मात्र चीन चाहँदैन। ठोस एजेन्डा चाहन्छ न कि भ्रमणमा आएपछि कुरा गरौँ र त्यसैमा एजेन्डा निस्कनेछन्। चीन सीको भ्रमणाभन्दा पहिले नै एजेन्डामा छलफल गर्न चाहन्छ।

राष्ट्रपति सीको हुने भनिएको नेपाल भ्रमण ‘द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुग्न सफल भयो’ भन्ने किसिमले मात्र उपयोग गर्नु गम्भीर भूल हुने चीनको सिचुवानस्थित लसान नर्मल विश्वविद्यालयका सहप्राध्यापक एवं सेन्टर फर ट्रान्स हिमालयन स्टडिजका सिनियर रिसर्च फेलो डा. बुद्धिप्रसाद शर्मा बताउँछन्।

भ्रमणका क्रममा नेपालले रेलवे, हाइवे, ऊर्जा, सञ्चार, लगानी लगायत पूर्वाधार निर्माणका क्षेत्रमा तयारीका साथ सम्झौता गर्नुपर्ने उनको उनको भनाइ छ।

‘दक्षिण एसियाली क्षेत्रमा आफ्नो रचनात्मक उपस्थिति खोजेको चीनले भूराजनीतिक रूपमा अति महत्त्वपूर्ण नेपालसँगको सम्बन्धलाई निकै प्राथमिकतामा राखेको छ,’ उनी भन्छन्, ‘भूराजनीतिक जोखिम हुन नदिई अत्यन्त सुझबुझपूर्वक शक्ति राष्ट्रहरूको उपस्थिति एवं चासोलाई वर्तमान नेपाली नेतृत्वले सम्बोधन गर्न सक्नुपर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell