
स्पेनिस ला लिगाको गएराति भएको खेलमा बार्सिलोनाले गेटाफेमाथि २–० को जित निकालेको छ। महत्वपूर्ण खेलाडी लियोनेल मेस्सीबिनै उत्रिएको बार्सिलोनाका लागि लुइस स्वारेज र जुनियर फिर्पोले गोल गरेका थिए।
बार्सिलोनाले पहिलो हाफमा १ गोल र दोस्रो हाफमा अर्को गोल गर्दै जित सुनिश्चित गरेको थियो। बार्सिलोनाका लागि खेलको ४१ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। त्यस्तै दोस्रो हाफको सुरुमै फिर्पोले गोल गर्दा बार्सिलोन २–० ले आगाडि रह्यो। र, यो बार्सिलोनालाई जितका लागि पर्याप्त बन्यो।
खेलको ८२ औं मिनेटमा लेनग्लेट रातो कार्ड खाँदै बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो।
रियल मड्रिड र एथ्लेटिको मड्रिडको बराबरी
गएराति नै भएको अर्को खेलमा रियल मड्रिड र एथ्लेटिको मड्रिडले गोल रहित बराबरी खेलेका छन्। एथ्लेटिकोको मैदानमा भएको खेलमा रियलले आक्रमणको धेरै प्रयासहरु गरेका पनि सफल हुन सकेन।
त्यस्तै अर्को खेलमा ग्रानडाले लेगानसलाई १–० ले पराजित गर्न सफल भयो। ग्रानडाका लागि एन्टोनियो पुर्टस्ले खेलको २८ औं मिनेटमा निर्णायक गोल गरेका थिए। त्यस्तै हिजै भएको अर्को खेलमा भिल्लारियलले रियल बेटिसमाथि ५–१ को शानदार जित निकाल्यो। पहिलो हाफमा १ गोलले अग्रता लिएको भिल्लारियलले दोस्रो हाफमा ४ गोल थपेको थियो। उता, रियल बेटिसका लागि ४८ औं मिनेटमा इमर्सनले १ गोल गरेका थिए।