PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

पोखरामा नवदुर्गा महोत्सव शुरुः पाँच किलोमिटर लामो कलशयात्रा

पोखरामा नवदुर्गा महोत्सव शुरुः पाँच किलोमिटर लामो कलशयात्रा

विष्णु गौतम/पहिलोपोस्ट


पोखराः विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव शुरु गरेको छ। महोत्सवको पहिलो दिन विन्ध्यवासिनी मन्दिरदेखि नवदुर्गा शोभायात्रा निकालिएको थियो। बाजागाजासहित करिब ५ किलोमिटर लामो शोभायात्राले नगर परिक्रमा गरी विन्ध्यवासिनी मन्दिरमै फर्केर नवरात्रको पहिलो दिनको शुरुवात गरेको थियो।

शोभायात्रा मोहरियाटोल, भैरवटोल, नालामुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थ चोक हुँदै विन्ध्यवासिनी मन्दिर पुगेको थियो। दशैंको महत्व बढाउन शोभायात्रा र श्रीमद्देवी भागवत ज्ञान महायज्ञ सञ्चालन गरिएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए।

करिब ३ सय विभिन्न समूहहरु ब्यानरसहित शोभायात्रामा सहभागी भएको अध्यक्ष श्रेष्ठले बताए। शोभायात्रामा पोखराका आमा समूहहरु, बैंक तथा वित्तिय संस्थाहरु, विद्यालयहरु, सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, धार्मिक संघ संस्थाहरु, लायन्स क्लबहरु लगायत हजारौं सर्वसाधारणको सहभागिता रहेको थियो। 

शोभायात्रामा कलशसहित विभिन्न आमा समूह र जातजातीका वेशभूषासहित सहभागी भएका थिए। भोलि श्रीमददेवी भागवत संगीतमय तवरबाट सञ्चालन हुने पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए। समितिले विन्ध्यवासिनीको धार्मिक तथा भौतिक विकासका लागि  श्रीमददेवी भागवत महायज्ञ लगाएको उनले जानकारी दिए। तस्बिरमा शोभायात्राः
 



ट्रेन्डिङ पोस्ट

Ncell