PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

यसरी हुँदैछ फेवातालको सफाइः दैनिक सय ट्रक जलकुम्भी निकालिँदै, विदेशी पर्यटक पनि सहभागी

यसरी हुँदैछ फेवातालको सफाइः दैनिक सय ट्रक जलकुम्भी निकालिँदै, विदेशी पर्यटक पनि सहभागी

विष्णु गौतम/पहिलोपोस्ट


पोखराः सुन्दर ताल जलकुम्भीले ढाकेर चौरजस्तै देखिन थालेपछि घुम्न आएका विदेशी पर्यटक पनि फेवाताल सरसफाइमा जुटेका छन्। अस्ट्रेलिया तथा इटालीबाट पोखरा घुम्न आएका पर्यटक सफाइ अभियानमा जोडिएका हुन्। 

पोखरा महानगरपालिकाले सफाइ अभियान सुरु गरेको हो। जसलाई विभिन्न संस्थाले पनि साथ दिएका छन्। सफाइमा नागरिकहरू समेत खटिएका छन्।

फेवातालबाट अहिले दैनिक एक सय ट्रक जलकुम्भी झार झिकिएको पोखरा महानगरपालिका ६ का वडाध्यक्ष जगत पहारीले बताए। पहारीले भने, ‘फेवाताल अहिले जुन अवस्थामा छ यो अप्रत्याशित हो। यति धेरै जलकुम्भी अहिलेसम्म देखेको थिइनँ। हामीले सकेको फाल्ने प्रयास गरेका छौँ।’

महानगरपालिकाले पूर्व जिल्ला विकास समितिका सभापति पुण्य पौडेलको संयोजकत्वमा जलकुम्भी झार नियन्त्रण समिति बनाएर तालभित्रको पूरै झार फाल्ने अभियान चलाएको छ। संयोजक पौडेलका अनुसार अहिलेसम्म तालको ६० प्रतिशत झार झिकिसकिएको छ। बाँकी झार अबको एक साताभित्र निकालिसक्ने उनले बताए।

उनले भने, ‘महानगरको यो अभियानमा अहिले दैनिक ५ सयभन्दा बढीको सहभागिता रहेको छ। अबको एक हप्तामा तालको जलकुम्भी झार कम्तीमा किनारासम्म ल्याउन सकिन्छ भन्ने विश्वास छ।’

विदेशी पर्यटकहरु सफाइ अभियानमा सामेल हुन पाउँदा खुशी भएको बताउँछन्। सफाइमा खटिएका अस्ट्रेलियाई नागरिक रिचार्डले भने ‘यो हाम्रो लागि अवसर पनि हो सुन्दर मान्छेहरुसँग मिलेर सुन्दर ताललाई झन् सुन्दर बनाउने पाइयो । यसको लागि पनि हाम्रो अर्को १८ जनाको टिम भोलि पोखरा आउँदै छ। त्यो टिमलाई पनि यो सरसफाइ अभियानमा सहभागी गराउँछौँ ।’

पर्यटक टोलीको नेतृत्व मुक्तिनाथ विकास बैंकले गरेको छ।

को को छन् सहभागी?

ताललाई नै ढाक्नेगरी फैलिएको जलकुम्भी झारलाई पानीको सतहबाट हटाउन अहिले दैनिक ५ सय जना स्वःस्फूर्त रूपमा आएको समूह लागेको छ। महानगरको अगुवाइमा वडाहरूका सबै प्रतिनिधि, आमा समूहहरू, विभिन्न होटलका टिमहरू, युवा क्लबहरू, पोखरा आएका पर्यटकहरू, विभिन्न बैंक, नारी जागरण अभियान गण्डकीका सदस्य, पोखरा बृहत् सरसफाइ अभियानका सदस्य अभियानमा सहभागी छन्।

यस्तै, जलाहारी समूह, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका समूह पनि सफाइ अभियानमा सहभागी छन्।

बिहान ७ बजेदेखि ९ बजेसम्म किनारामा रहेका झारलाई माथि तान्ने र दिनमा तालको बीचमा रहेको झारलाई डुंगा व्यवसायी समूह, जलाहारी समूह र एक मेसिनको सहायताले किनारसम्म ल्याउने काम हुन्छ।

गुनासो गर्छन् सफाइ अभियन्ता

ताललाई देखाएर करोडौँ आम्दानी गर्नेहरू सफाइमा सहभागी छैनन्। होटेल संघ र रेस्टुरेन्ट व्यवसायी स‌ंघका कुनै पनि प्रतिनिधि संस्थागत रुपम ताल सफाइ अभियानमा सहभागी नभएकोमा अन्य भने गुनासो गर्छन्। 

नारी जागरण अभियान गण्डकीकी संयोजक अञ्जु केसीले भनिन्, ‘हामी दैनिक २० किलोमिटर परबाट पनि आएर सफाइ अभियानलाई सफल बनाउन लागेका हुन्छौँ। तर यही तालसँगै जोडिएका होटेल, रेस्टुरेन्ट तथा पर्यटन व्यवसायीको सहभागिता देखिँदैन।’

सफाइ अभियानका सदस्य एवं महानगरको वडा नं ६ का अध्यक्ष पहारीले भने कतिपय होटलहरुले आफैँ समूह बनाएर आए पनि केही भने नआएको बताए।

कहाँ राखिएको छ निकालिएको जलकुम्भी

५ दिनदेखि दैनिक सय ट्रक जलकुम्भी निकालिएको छ। यो झारलाई लेकसाइडको केदारेश्वर मन्दिरको परिसर, क्याम्पिङ चोकको चौर र त्यसमा पनि नअटे नेपाल ट्रस्टभित्रको चौरमा फाल्ने योजना अभियानको छ। दुई वटा ट्रक र एक जेसिभीको सहायताले झार ओसार्ने काम भइरहेको छ।

संयोजक पौडेल भन्छन्, ‘यसपालि जति पनि जलकुम्भी झिकिन्छ सबैलाई दीर्घकालीन रुपमा नष्ट गर्ने हाम्रो योजना छ।’



ट्रेन्डिङ पोस्ट

Ncell