
बाँके : बडादशैँको अवसरमा बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका राजधानी पठाउने भएका छन्। दशैँको मुखमा बजारमा खसीबोकाको कृत्रिम अभाव देखाई भारतबाट खसीबोका भित्रिरहेका बेला बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका काठमाडौं र अन्य शहरमा पठाउने भएका हुन्।
मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले बाँके र बर्दियाका गृहिणी महिलाले व्यावसायिक बाख्रापालनबाट उत्पादन भएका खसीबोका व्यावसायिक रुपमा काठमाडौं तथा अन्य शहर पठाउन थालेका हुन्। दशैँ र तिहारलाई लक्षित गरी विभिन्न सहकारीमा आबद्ध महिलाले पाँच हजार खसीबोका काठमाडौंलगायतका अन्य शहरमा पठाउन लागेको सामाजिक उद्यमी महिला सहकारी जिल्ला संघ बाँकेकी अध्यक्ष गंगा चन्द ठकुरीले बताइन्।
केही व्यवसायीले बजारमा कृत्रिम अभावको अवस्था सृजना गरेर भारतीय खसीबोका भित्र्याउने चलखेल गरेको अध्यक्ष ठकुरीले आरोप लगाइन।
उनले भनिन्, 'अहिले बजारमा खसीबोका छैनन् भनेर कृत्रिम अभाव देखाउने र चर्को मूल्यमा भारतबाट ल्याइएका खसीबोका बेच्ने दाउमा केही व्यापारी हुनुहुन्छ। अहिले पनि हामीसँग ५०० भन्दा बढी खसीबोका ‘हाम्रो ढकेरी बिक्री कक्ष’मा छन्। हामी पाँच हजार खसीबोका बिक्री गर्दैछौँ।'
उनले उद्यमी महिलाले स्थापना गरेको सहकारीमा आबद्ध बाँकेका १५ र बर्दियाका चार वटा सहकारीका सात हजारभन्दा बढी सदस्य महिलाले उत्पादन गरेका चार हजार खसीबोका काठमाडौं र एक हजार नेपालगञ्ज, बुटवल, तुलसीपुरलगायतका शहरमा पठाउन लागिएको जानकारी दिइन्। उनले राज्यले व्यवसायमुखी वातावरण बनाउन सके बाँके र बर्दियाका महिलाले उत्पादन गरेका खसीबोका पठाएर काठमाडौंमा खसीबोका अभाव हुन नदिने दाबी गरिन्।
उद्यमी महिलाले उत्पादन गरेका खसीबोका स्थानीय महिला उद्यमी सहकारीले खरीद गरेर सहकारी जिल्ला संघमार्फत काठमाडौंलगायतका शहरमा पठाउने गरेका छन्। उनले पछिल्लो समयमा भारतबाट अवैधरुपमा भित्रिने खसीबोकाका कारण आफूहरुले गरेको उत्पादनले बजार नपाउने अवस्थामा हाल केही सुधार भए पनि प्रहरी प्रशासनले कागज हुँदाहुँदै पनि अनावश्यक दुःख दिने गरेको गुनासो गरिन्।
ठकुरीले जिउँदो खसी प्रतिकिलो ४५० देखि ५१५ रुपैयाँका दरले खरीद गर्दै आएको र ५०० देखि ५५० रुपैयाँसम्ममा बिक्री गर्ने गरेको बताइन्। दशैँलाई लक्षित गरी किसानको घरघरबाट संकलन गरिएका ५०० भन्दा बढी खसीबोका संघको बिक्री केन्द्र ढकेरीमा राखिएको सामाजिक उद्यमी महिला सहकारी जिल्ला संघ बाँकेले जनाएको छ। संघका अनुसार घटस्थापनासम्म दुई हजारभन्दा बढी खसीबोका बिक्री केन्द्रमा जम्मा गरिनेछ।
सामाजिक उद्यमी महिला सहकारी जिल्ला संघ बाँकेकी अध्यक्ष ठकुरीले सरकारले गत फागुन ३ गतेदेखि नेपालमा भारतीय खसीबोकाको आयातमा कडाइ गरेपछि नेपाली कृषकलाई राहत भएको ठकुरीले बताइन्।
उनले भनिन्, 'सरकारले भारतीय खसीबोका ल्याउन बन्देज लगाउँदा पनि आन्तरिक उत्पादनले बजारको माग धान्न सक्छ। यसका लागि सरकारले अब कृषकका लागि प्रोत्साहनका कार्यक्रमहरु ल्याउनुपर्छ।'
पशु क्वारेन्टाइन मापदण्डअनुसार स्वस्थता प्रमाणपत्रका आधारमा मात्रै खसीबोका भित्रिन दिने सरकारी नीतिले पशुपालक कृषकलाई थप हौसला मिलेको छ। व्यापारीले यस्तो प्रमाणपत्र ल्याउन नसक्दा भारतीय खसीबोका नेपाल भित्रिएका छैनन्। भारतीय क्वारेन्टाइनको स्वस्थता, सेनेटरी प्रमाण र ल्याब रिपोर्ट नल्याए खसीबोका भन्सार पास हुँदैनन्। सरकारको यस कदमले आफूले पालेका खसीबोकाले बजार पाउँछन् भन्नेमा नेपाली कृषक ढुक्क बनेका छन्। रासस