
जकर्ता/मनिला : फिलिपिन्समा आइतवार ६.४ म्याग्निच्युडको भूकम्प गएको छ। दक्षिणी फिलिपिन्सको डाभाओ अक्सिडेन्टल प्रान्तमा गएको उक्त भूकम्पको कम्पन उत्तरी सुलावेशी प्रान्तमा समेत महशुस गरिएको द स्ट्रेट्स टाइम्सले बताएको छ।
फिलिपिन्स र इन्डोनेसियाको सीमावर्ती क्षेत्रमा भुकम्म गएको इन्डोनेसियाको मौसम विज्ञान तथा भूगर्भ एजेन्सीका प्रमुख विद्यात्मोकोले जानकारी दिए।
भूकम्पका कारण सुनामीको खतरा भने ननिम्तिएको इन्डोनेसियाको मौसम विज्ञान तथा भूगर्भ एजेन्सीले जनाएको छ। उक्त भूकम्प शुरुमा ६.७ म्याग्निच्युडको मापन गरिएको एजेन्सीले बताएको छ।
इन्डोनेसिया भूकम्पीय जोखिम क्षेत्रमा अवस्थित छ। जसलाई 'पेसिफिक रिङ अफ फायर' भन्ने गरिन्छ।
गत बिहीवार इन्डोनेसियाको पूर्वी प्रान्त एम्बोनमा ६.५ म्याग्निच्युडको भूकम्प जादा ३० जनाको मृत्यु भएको थियो। सो भूकम्पमा परी १५६ जना घाइते भएका थिए। त्यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सीले बताए अनुसार बिहीवारको भूकम्पका कारण ठूलो मात्रामा पूर्वाधारमा क्षति पुगेको थियो।
आइतबारको भूकम्प स्थानीय समयअनुसार बिहान १० बजे गएको फिलिपिन्सको ज्वालामुखी र भूकम्प विज्ञान संस्थानले जनाएको छ। उक्त भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब ६० मिटर गहिराईमा रहेको थियो।
हालसम्म भूकम्पबाट जनधनको क्षति भएको खवर नआएको संस्थानले बताएको छ। तर भूकम्पका परकम्पन भने अझै आउन सक्ने सम्भावना छ।