PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

काठमाडौंबाट शनिवारसम्म ७ लाख मानिस बाहिरिए, ८५ हजार टिकट बुकिङ



पहिलोपोस्ट

काठमाडौंबाट शनिवारसम्म ७ लाख मानिस बाहिरिए, ८५ हजार टिकट बुकिङ

काठमाडौं: दशैं मनाउन गाउँ फर्किने मानिसको संख्या दिनदिनै बढ्दै गएको छ।

काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरूमा दशैं मनाउन घर फर्कने यात्रुहरुको संख्या बढेको हो। गत असोज ५ गतेदेखि ११ गतेसम्म उपत्यकाबाट करिब ८६ हजार सवारीसाधन बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। त्यस्तै यो अवधिमा उपत्यकाबाट करिब ७ लाख मानिस बाहिरिएका छन्। ६ लाख ८९ हजार ५७१ जनाले उपत्यका छोडेको महाशाखाका एसएसपी भीम ढकालले जानकारी दिए। 'दिनदिनै उपत्यकाबाट बाहिरिने मानिस र सवारीको संख्या बढिरहेको छ। करिब ७ लाख मानिसले उपत्यका छोडिसकेका छन्।'

दशैं, तिहार र छठ पर्व मनाउनको लागि घर फर्कनेहरुले उपत्यकामा रहेका टिकट काउन्टरमा अहिलेसम्म ८५ हजार ९१ वटा अग्रिम टिकट बुकिङ गरिसकेका छन्। गत १० गतेदेखि यात्रुको लागि अग्रिम टिकट खुल्ला गरिएको हो। तर धेरैले टिकट नपाएको गुनासो गरेका छन्।' टिकट सकिएको र आफूले नपाएको भन्दै गुनासोहरू आउने गरेका छन्। हामीले गुनासोलाई समाधान गर्ने कोसिस गरेका छौँ,' एसएसपी ढकालले भने।

चाडपर्वको मौका छोपी टिकट काउन्टर लगायत अन्यले बढी भाडासमेत असुल्ने गरेको पाइएको छ। प्रहरीले उपत्यका भित्रका विभिन्न १४ वटा स्थानमा सेवाग्राहीको लागि गुनासो डेस्कसमेत सञ्चालनमा ल्याएको छ। त्यति मात्र होइन सादा पोशाकमा प्रहरी परिचालन पनि गरिएको छ। तर कालोबजारी, बढी मूल्य लिने समूह पूर्ण रुपमा निस्तेज नै भइसकेका छैनन्। प्रहरीले ७ दिनको अवधिमा सरकारले तोकेकोभन्दा बढी भाडा लिने १ सय ४७ जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको छ। 'कसैले तोकिएको भन्दा बढी भाडा लिएको पाइएमा हामी तत्काल कारबाही गर्छौ,' एसएसपी ढकालले भने।

प्रहरीले लामो दुरीमा सञ्चालित सवारीसाधनमा दुई जना चालक नराख्ने दुई वटा सवारीलाई कारबाही समेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell