
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले यस वर्षको चियापान कार्यक्रममा एक लाख जनालाई निमन्त्रणा दिने भएको छ।
ने क पाले दशैँतिहार, नेपाल संवत्, इद, ल्होसार र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्नका लागि असोज २९ गते प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना गर्न लागेको चियापान कार्यक्रममा एक लाख निमन्त्रणा कार्ड बाड्ने भएको हो।
आज पार्टी केन्द्रीय कार्यालयमा महासचिव विष्णु पौडेलको अध्यक्षतामा चियापानको तयारी बैठक बसेको थियो। ने क पाले कार्यकर्ता, सर्वसाधारण, राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक नियोगका पदाधिकारी, संवैधानिक निकायका र उच्चपदस्थ कर्मचारीलाई निम्तो दिँदैछ।
चियापानमा निम्ताका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्ताक्षर भएको निमन्त्रणा कार्ड बाँडिने ने क पा केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए। गत वर्ष पनि ने क पाले सोही ठाउँमा चियापान कार्यक्रम आयोजना गरेको थियो।