PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

धराशायी नेपाली क्रिकेट उकास्ने चतुरबहादुरको प्रतिबद्धता, भन्छन्, 'क्यानलाई निलम्बनबाट फुकुवा गर्नु पहिलो एजेन्डा'



मुकुन्द घिमिरे

धराशायी नेपाली क्रिकेट उकास्ने चतुरबहादुरको प्रतिबद्धता, भन्छन्, 'क्यानलाई निलम्बनबाट फुकुवा गर्नु पहिलो एजेन्डा'

क्यानको चुनावबाट चतुरबहादुर चन्द शनिवार अध्यक्षमा निर्वाचित भएका छन्। राष्ट्रिय खेलकुद परिषद्, स्वतन्त्र कमिटी र आइसिसीको रोहवरमा भएको निर्वाचनबाट निर्वाचित कमिटीले नेपाली क्रिकेटको विकासका लागि गर्नपर्ने धेरै कामहरु बाँकी छन्। यसै विषयमा नवनिर्वाचित अध्यक्ष चन्दले आगामी दिनका लागि विभिन्न योजना तय गरेका छन्। क्यान नेतृत्वमा विजयी भएसँगै चन्दसँग गरिएकाे कुराकानीमा आधारित नेपाली क्रिकेटबारे याेजना र धारणाहरु उनकै शब्दमा।

निर्वाचित कमिटीबाट अपेक्षा

एउटा ठूलो चुनौती छ। धेरै अपेक्षाहरु पनि। क्रिकेट एकदमै धराशायी भइरहेको छ। यस्तो अवस्थामा क्रिकेटको विवादले क्रिकेटलाई हेर्न नजर नै नकारात्मक हुँदै गर्दा धेरैको आशा, अपेक्षा नेपाली क्रिकेटलाई अब व्यवस्थित भएर, विवादरहित तरिकाले माथि लैजाने भन्ने छ।

पूर्वाधार र लिगहरुमा जोड

यसका लागि सबैभन्दा पहिला पूर्वाधार बनाउनु पर्‍यो। प्रतियोगिताहरु सञ्चालन गर्नु पर्‍यो। त्यस्तै किसिमका सुविधाहरु उपलब्ध गराउनु पर्‍यो। अधिकभन्दा अधिक घरेलु क्रिकेटहरु सञ्चालन गर्नु पर्‍यो। यति गरेपछि देशका लागि राम्रो खेल्ने खेलाडीहरु उत्पादन हुन सक्छन्।

राष्ट्रिय लिग, प्रादेशिक तहका लिगहरुलाई अझ बढी प्राथमिकता दिनुपर्छ। हुन त धेरै प्रतियोगिता भइरहेका छन्। तर, अब झारा टार्ने हिसाबले होइन, क्यानको लेभलमा, आइसिसीको मापदण्ड अनुरुप प्रतियोगिता हुन्छन्। त्यस्ता प्रतियोगिता गर्‍यो भने त्यहीबाट खेलाडीहरु उत्पादन हुन्छन्। त्यसैले सातवटै प्रदेशमा स्तरीय प्रतियोगिताहरुलाई बढावा दिने र झन्डै बन्द भएको जिल्ला लिगहरुलाई निरन्तरता दिने छौं। अहिलेको स्थानीय सरकारले गर्दा पनि यो अब धेरै हदसम्म सहज हुन्छ। क्रिकेट आयोजना गर्न सपोर्ट हुन्छ।

पूर्वाधारको सवालमा खेलकुद परिषदले पछिल्लो समय ८/१० वटा ग्राउन्ड जिम्मा लिएर काम गरिरहेको छ। परिषदलाई आग्रह गरेर त्यसलाई चाँडोभन्दा चाँडो सम्पन्न गर्न आवश्यक छ। कतिपय ठाउँमा बनाउन सुरु गरेर पनि लामो समयसम्म क्रिकेट खेल्न अयोग्य अवस्थामा रहेका मैदान छन्। त्यसलाई पूरा गर्नु छ। 

क्यान निलम्बन फुकुवा

नेपालको क्रिकेट हामी निर्वाचित भए पनि हाम्रो हातमा आइसकेको छैन। १३ अक्टोबरमा बस्ने आइसिसीको बैठकले निलम्बन फुकुवाबारे निर्णय गर्ने आश्वासन छ। त्यसपछि चाहिँ नेपाली क्रिकेटलाई अघि बढाउने पूर्ण अधिकार  प्राप्त हुन्छ।

हामी आजकै दिनदेखि अनौपचारिक रुपमा आइसिसीसँग छलफल अघि बढाउने छौं।

आइसिसीकै रोडम्यापमा हामीले निर्वाचन पूरा गर्‍यौं। नेपाली क्रिकेटलाई निकास दिन जुन प्रोसेस हामीलाई दिएको थियो, त्यसलाई हामीले पूरा गर्‍यौं। आइसिसीकै निगरानीमा, आइसिसीकै रोहवरमा पूरा गर्‍यौं। अब पहिलो निर्णय गरेर आइसिसीसँग निलम्बन फुकुवाको लागि समन्वय गर्नेछौं।

हाम्रो पहिलो एजेन्डा भनेको क्यानलाई निलम्बनबाट फुकुवा गर्ने हो। मुख्य रुपमा सरकारसँग समन्वय गर्ने र आइसिसीले हामीलाई जुन शंकाको नजरले हेरेको छ, अझै पनि नेपाली क्रिकेट राम्ररी चल्न सक्दैन कि भनेर सोचेको छ, त्यसलाई हामीले चिरेर, सम्बन्ध कायम गरेर, नेपालको आधार बढाउने।

आइसिसीसँगको सम्बन्ध

आइसिसीसँग हाम्रो समन्वय भएरै आएको छ। समन्वय छैन भन्ने होइन। चुनाव हुनुभन्दा २ वर्ष अघिबाटै नेपाली क्रिकेटमा समस्या थियो। यसले गर्दा आइसिसीले आशंका गरेर हेरेको थियो। त्यसपछि हाम्रो चुनाव भयो। चुनावमा विवाद भयो। त्यसलाई छोडौं। विवाद भएकैले आइसिसी झस्कियो। र, क्यान निलम्बनमा पर्‍यो।

तर, पुरानो कमिटीले आइसिसीसँग समन्वय गर्न नसकेको, पत्राचार गर्न नसकेको भन्ने होइन। समस्या पहिलाबाटै थियो। त्यसैबीचमा चुनावमा विवाद भयो। र, निलम्बन भयो। त्यसपछि समन्वय गर्दै गर्दै त अहिलेको अवस्थासम्म ल्याइसक्यौं। नत्र, छोडेर, हात खडा गरेर बसेको भए यो अवस्था आइपुग्दैन थियो।

आइसिसीको फन्ड र पारदर्शिता

आइसिसीको फन्ड आउँछ। तर, आइसिसीले अहिले पनि नेपाललाई हेर्ने दृष्टिकोण शंकाको घेरामा छ। झन्डै ६ वर्ष भयो नेपाली क्रिकेटमा आर्थिक पारदर्शिता हुन सकेन। आरोप प्रत्यारोपहरु चल्यो। 

आइसिसीको फन्ड त चाहिन्छ नै। किनभने आइसिसीको फन्डमै चलिरहेको हो। तर, अहिलेको परिवेशले आइसिसीको फन्डमै मात्र भर पर्दैन। धेरै हामीसँग सम्भावना छ। धेरै हामीसँग शुभचिन्तकहरु छन्। तिनीहरु नेपाली क्रिकेटलाई अघि बढाउन इच्छुक छन्। धेरै खेलप्रेमीहरुले शुद्ध रुपमा नेपाली क्रिकेट अगाडि बढेको हेर्न चाहेका छन्। नेपाली क्रिकेटले विश्वकप खेलोस्, विश्वकपमा पाइला टेकोस् भन्ने उहाँहरुले पनि नेपाली क्रिकेट कुनै न कुनै रुपमा नेपाली क्रिकेटलाई सहयोग गरिरहनु भएकै छ।

तर क्रिकेटको लागि दिएको फन्ड सदुपयोग हुन नसकेको शंका आइसिसीलाई छ। त्यसैले यसपटक हामी सबैभन्दा पहिला विभिन्न प्रक्रियाहरु पूरा गरेर पारदर्शी छौं भन्ने देखाएर अघि बढ्नु छ। विवादरहित छौं भन्ने देखाउनु छ।

नेपाल प्रिमियर लिग

नेपालमा हुने लिगहरुलाई व्यवस्थित गर्दै संघले नेपाल प्रिमियर लिग गर्छ। सबैकुरा ठीक ढंगले अघि बढे र अक्टोबरमा आइसिसीबाट सुखद समाचार सुन्न पायौं भने ढुक्क हुनुहोस् यही वर्षभित्र देशकै ठूलो नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना हुन्छ। नेपाली क्रिकेटको आधिकारिक हुन्छ, सबैभन्दा ठूलो हुन्छ। खेलाडीका लागि र नेपाली क्रिकेटका लागि एउटा फड्को मार्ने अवसर हुन्छ। यसले खेलाडीको करियरसँगै आर्थिक अवस्था पनि बलियो हुन्छ। मेन थिम के हो भने हामी एउटा ठूलो नेपाल प्रिमियर लिग आयोजना गर्न चाहन्छौं।

अबको प्रतिबद्धता

मनपरी तरिकाले क्रिकेट संघलाई हाँक्नु हुँदैन, खेलाडी र समग्र क्रिकेटको विकासको लागि हामी नेतृत्वमा आएका छौं भन्ने सबै कार्यसमितिले हेक्का राख्नु पर्छ। क्रिकेटको लागि हामीले लगानी गर्ने हो, क्रिकेटका लागि हामीले बलिदान दिने हो भन्ने बुझ्न पर्छ र यसलाई मनन् गरेका छौं।

पछिल्लो ४ वर्ष हामीले काम गर्न पाएनौं, अबको ४ वर्ष काम गरेर देखाउने छौं। हामी काम गर्नसक्ने टिम छौं र गरेर देखाउने छौं।

म के कुरामा ढुक्क छु भने क्रिकेटलाई नकारात्मक ऊर्जा दिने या नकारात्मक बाटोतिर लैजाने साथीहरुसँग सम्बन्ध राख्दिनँ। मात्र सकारात्मक र नेपाली क्रिकेटलाई उचाइ दिन म तत्पर रहन्छु। यो मेरो प्रतिबद्धता हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell