काठमाडौं: असोज १ गते बिहान कपन तेन्जिङ चोकनजिकै एउटा घरमा आफ्नै कोठाभित्र हत्या गरि फरार भएका केही अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
महानगरीय प्रहरी वृद्ध बौद्धको टोलीले मकवानपुर घर भएका सोमलाल थिङ, ओखलढुंगाका पासाङ तामाङ, रौतहटकी पासाङ तामाङ, ओखलढुंगाका पासाङ शेर्पा र रामकृष्ण कार्कीलाई नियन्त्रणमा लिएको हो। 'घटनामा संलग्न केही नियन्त्रणमा लिएका छौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।
कपनको तेन्जिङ चोकनजिकै रहेको घरमा डेरा गरी बस्ने कपिलवस्तु घर भएकी ५५ वर्षीया कमला कार्की मृत अवस्थामा फेला परेकी थिइन्। कोठाभित्र हात र मुख सलले बाँधिएको अवस्थामा उनको शव भेटिएको थियो। भदौ ३१ गते राति उनीहरुले सँगै मदिरा खाएको र हत्या भएको खुलेको छ। उनीहरुबीच पहिलेदेखि नै चिनजान भएको खुलेको हो। 'उनीहरु चिनजान कै हुन्। पहिले पहिले पनि कोठामा गएर मदिरा खाने गरेको देखिएको छ,' डिएसपी बोगटीले भने।
कमलाले केही समयदेखि किराना तथा रक्सी पसल गर्दै आएकी थिइन्। कोठामा उनीमात्र एक्लै बस्ने गरेको पनि देखिएको छ। उनीहरुले मदिरामा नशालु पदार्थ मिसाएर लट्ठयाएर लुट्ने योजना बनाएको देखिएको छ। कमलाको कोठामा केही रकम र सुनका गहना भएको थाहा पाएपछि लुट्ने योजना बनाएको उनीहरुले प्रहरीसँग दिएको बयानमा भनेका छन्। 'वियरमा नशालु पदार्थ मिसाए त्यसपछि कमला बेहोस् भइन् र लुट्न थाले,' डिएसपी बोगटीले भने।
उनीहरुले कमलाको साथमा भएको ४५ हजार रुपैयाँ र चारवटा सुनको औंठी लुटेको थिए। 'हातको औंठी झिक्न लाग्दा ब्युँझिएपछि कमलाले प्रतिकार गर्न खोज्दा घाँटी थिचेर हत्या गरेको देखियो,' डिएसपी बोगटीले भने।
मोबाइल ट्रयाकले खुल्यो रहस्य
प्रहरीले मृतकले मोबाइल प्रयोग गर्ने गरेको तर घटनास्थलबाट मोबाइल फेला नपर्नुले थप शंका पैदा गरेको थियो। कमलाको मोबाइल घटनास्थलमा फेला परेको थिएन। उनले बोक्ने मोबाइल बौद्ध महांकाल लोकेसनमा अफ भएको देखिएको थियो। त्यस्तै कमलाले बोक्ने एउटा झोलासमेत कोठाबाट गायब भएको देखिएको थियो। उनीहरुले मोबाइल समेत चोरी गरेको खुलेको छ।
प्रहरीले कमलाको मोबाइल नम्बरमा कल हेर्दा उनीहरुको सम्पर्क देखिएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो। 'हामीले मोबाइलमा भएको सम्पर्क केलाउँदै जाँदा घटनाको क्लु फेला पर्यो,' एक अनुसन्धान अधिकृतले भने।
घटनाको अनुसन्धान अहिले महानगरीय अपराध महाशाखाले पनि गरिरहेको छ। हत्या भएको रात कमलाको कोठामा देखिएका उनीहरुको स्केच बनाएको थियो। काम भइरहेको छ। प्रहरीले नियन्त्रणमा लिएकाहरुको बयानको आधारमा स्केच बनाउन लागेको हो।