
बिहार : मुशलधारे वर्षापछि आएको बाढीका कारण भारतीय राज्य बिहार र उत्तर प्रदेशमा १ सय जनाभन्दा बढीको मृत्यु भएको छ।
बाढीबाट भएको क्षतिको विवरण आउने क्रम जारी रहेको भारतीय अधिकारीहरुलाई उदृत गर्दै बिबिसीले जनाएको छ। बाढीका कारण रेल सेवा, राजमार्ग, स्वास्थ्य संस्था, स्कुल तथा विद्युत प्रसारणमा अवरोध उत्पन्न भएको छ। उत्तर प्रदेश सरकारको तथ्यांकअनुसार गत बिहीवारदेखि हालसम्म ९३ जनाको मृत्यु भएको छ।
बिहार राज्य विपद व्यवस्थापन निकायका अनुसार बिहारमा हालसम्म २९ जनाको मृत्यु भएको छ। बाढीको बढी प्रभाव मुख्य शहर पटनामा रहेको छ।
बाढीका कारण पूर्वी उत्तर प्रदेशका बल्लिया जिल्लाका कारागारमा रहेका ५ सयभन्दा बढी कैदीलाई अन्यत्रै सारिएको बताइएको छ।
वर्षा अझै नरोकिएको र खोजी एवं उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। लगातारको वर्षापछि शहरमा बाढी पसेको हो। गत शुक्रवारबाट बाढीको प्रभाव देखिन थालेको थियो। बाढीका कारण शहरका सडक डुबानमा परेका छन्। शहरमा भएको सो वर्षा अप्रत्यासित भएको त्यहाँका अधिकारीलाई उदृत गर्दै पिटिआईले बताएको छ।
बिहार सरकारले बाढी प्रभावित मानिसको उद्धार गर्न, सहायता सामग्री र औषधि गाउँ नगरमा पुर्याउन भारतीय वायु सेनालाई दुई वटा हेलिकप्टर उपलब्ध गराउन अनुरोध गरेको छ। साथै सडकको पानी पम्प लगाएर निकास गर्न पनि सेनालाई निर्देशन दिइएको छ।
भारतीय जलवायु विज्ञान विभागका अनुसार बिहार र आसपासका क्षेत्रमा अझै दुई दिन भारी वर्षा हुनेछ।