PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'ढुंगामा जीवन भर्दै पोखरेली दाजुभाइ'

'ढुंगामा जीवन भर्दै पोखरेली दाजुभाइ'

पहिलोपोस्ट /पहिलोपोस्ट


  • राजु आचार्य-

पोखरा न्यूरोडको दीप शिखर होटेल नजिक। पहिला/पहिला दमकल राख्ने भएकोले यसलाई दमकल रोड भनेर पनि चिनिँदो रहेछ। त्यही रोडमा एउटा बोर्डमा लेखिएको थियो ‘स्टोन आर्ट एन्ड वाटर फोन्टेन पोखरा’। कलाको लागि सानो ठाउँ छुट्ट्याइएको थियो।

सा-साना ढुंगाहरु मिलाएर बनाएको कला हेर्न धितै मरेन। बुबाले छोरालाई डोर्‍याएको, गाई दुहुँदैकी महिला, बाँसुरी बजाउँदै गरेको पुरुष, घाँस बोकेकी महिला लगायतका कलाहरूले थुप्रै कथा भनी रहेको झैँ लाग्योl पानी चराको झुन्ड, गुम्म परेर बसेको लाटोकोसेरो, खोलामा माछा मार्दै गरेको जलारी हेरेर मलाई लाग्यो यी ढुङ्गाको मिलाइएको समूह मात्रै होइनन्। सबै ढुङ्गाभित्र जीवन छ। नेपाली ग्रामीण समाजलाई प्रतिबिम्बित गर्ने कला देखेर म प्रभावित भए।

सानै उमेरदेखि चित्रकलामा रुचि भएका जीवन जिसीले पछिल्लो समय ढुंगाको कलामा समय खर्चेका छन्। केही वर्ष अघि दुर्घटना परेपछि जीवनले लामो समय आराम गर्नुपर्‍यो। त्यही आरामको बेला उनको अवधारण ढुङ्गामा प्रतिबिम्बित हुन् थाल्यो। कला झन् तिखारियो। छेउमा बसेर हेर्ने रिजन जिसीले पनि बिस्तारै सिक्न थाले।

उनी भन्छन् ‘अहिले भाइले पनि म जत्तिकै बनाउँछ। तर चित्र भने उनीहरू सानैदेखि कोर्थेl' 

उनका कला छरपस्ट हुन् थाले। कोठामा राख्ने ठाउँ भएन। साथीहरूले मन पराए। कतै देखाउने गरी राख्नुपर्छ भनेर हौसला पनि दिए। दाजु भाइको सल्लाह मिल्यो। यिनले कला देखाउने र बेच्ने ठाउँ बनाए।

‘मानिसहरू आएर हौसला दिन्छन् मन परे किन्छन् पनि’ उनले थपे ‘करिब २५०० मानिसले यो हेरिसकेका छन्। केहिले खरिद् पनि गरेका छन्।’

यी दाजुभाइले ढुङ्गाको कला बाहेक थुप्रै फोन्टेन पनि बनाएका छन्। मानिसहरूले आफ्नो अवधारण अनुसार पनि बनाउन आउने गर्छन्। उनले राखेको मूल्य २५०० देखि ३५००० सम्म छ। सामान्य अवस्थामा दाजुभाइले कुनै पनि अवधारणालाई दुई दिनमा कला भर्ना सक्छन्। तर उत्कृष्ट बनाउन १५ दिनसम्म लाग्ने गरेको अनुभव छ।

‘ढुङ्गाको प्रयोग नै किन’ भन्ने प्रश्नमा उनले भने ‘रङ्गले मात्र कला बन्छ भन्नेहरूलाई वरिपरि पाइने ढुङ्गाको पनि कला बन्छ भन्ने देखाउन पनि यसको प्रयोग गरेको हुँ। सहजै उपलब्ध हुन्छ, यस्तो कला जीवन्त र लामो समय सम्म रहन्छ पनि’ उनले थपे।

‘के तपाईँ आफ्नो कलाबाट खुसी हुनुहुन्छ’? मैले सोधेको यो प्रश्नमा उनले भने ‘कला भनेको गर्दै जाने र सिक्दै जाने हो। प्रत्येक पटक सुधार हुँदै जान्छ। एकाग्रता र नयाँपन गर्न चाहने सोचलाई भने मर्न दिनु हुन्न। हामीले बनाएको यो कलाले अहिले नभए पनि बिस्तारै बजार लिन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ।'

‘के ढुङ्गाको कला बेचेर जीवन चल्छ’? मैले सोधेको यो प्रश्नले माहौल शान्त बनायोl एकैछिन् सबै रोकिए जस्तो भयोl जीवनले मौनता तोड्दै भने ‘यो कला बनाउँदा मन छुन्छ। समय बितेको पत्तो हुन्न। सन्तुष्टि पाइन्छ। अहिले नभए पनि भविष्यमा त केही होला नि? बिक्री जतिसुकै भए पनि हामी यो बनाउन छोड्दैनौँ।’ 

नजिकै बसेका भाइको अनुहारमा गज्जबको आत्मविश्वास देखेँ। कलाप्रतिको उत्सुकता पनि। कुरा चलिरहँदा उनको पसलमा दुई जना ग्राहक आएर चुरोट र चाउचाउ किनेर गए। उनले भन्नुअघिनै मैले मेरो प्रश्नको जवाफ पाइसकेको थिएँ। उनको कला प्रदर्शनी र बिक्री कक्षको छेउमा उनको किनारा पसल पनि थियो।

हेरौँ उनका कला



ट्रेन्डिङ पोस्ट

Ncell