PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

जबर्जस्ती करणीको आरोप लागेका सभामुख महरासँग के छन् विकल्प? शीर्ष नेताहरुसँगको परामर्शपछि राजीनामाको मुडमा



पहिलोपोस्ट

जबर्जस्ती करणीको आरोप लागेका सभामुख महरासँग के छन् विकल्प? शीर्ष नेताहरुसँगको परामर्शपछि राजीनामाको मुडमा

काठमाडौं : सभामुख कृष्णबहादुर महरामाथि संघीय संसद् सचिवालयमा काजमा कार्यरत एक महिलाले जबर्जस्ती करणीको आरोप लगाएपछि राजनीति तरङ्गित भएको छ।

स्वास्थ्य सेवामा दरबन्दी भई सचिवालयमा काजमा रहेकी ती कर्मचारीले आइतबार राति आफ्नै कोठामा आएर ‘मदिराको मातमा सभामुख महराले जबर्जस्ती गरेको आरोप लगाएकी हुन्।

सभामुख महराको सचिवालयले भने उक्त भनाईको खण्डन गरेको छ। सभामुख महरा स्वयंले पनि उक्त घटना नियोजित भएको स्पष्टीकरण सञ्चारमाध्यमलाई दिएका छन्।

यही विषयलाई लिएर आजै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक समेत डाकिएको छ। मंगलवार बिहान नेकपाका दुई अध्यक्ष र संसदीय दलका उप नेता सुवास नेम्बाङसँग समेत महराले परामर्श गरेका छन्। महरा सचिवालय बैठक निर्णय कुरेर बसेका छन्। उनले भेटेका तीनै जना शीर्ष नेताले राजीनामाका लागि सुझाएका छन्।

त्यसो त महराले छानबिन प्रक्रियाको सहजीकरणका लागि राजीनामा दिनसक्ने संकेत गरिसकेका छन्।

महरानिकट स्रोतले भन्यो, ‘स्पष्ट रुपमा कुनै निर्णय त भइसकेको छैन। तर, परामर्शमा धेरैले राजीनामा सुझाएका छन्। उपयुक्त निर्णय लिनुहुन्छ।’

महराले घटनाबारे सार्वजनिक रुपमा सञ्चारमाध्यममा आफैँले जानकारी दिने तयारी गरेको पनि निजी सचिवालयले जनाएको छ।

आरोपपछि संवैधानिक रुपमा महरासामु सीमित विकल्पहरु छन्। ती विकल्पमध्ये एक स्वेच्छिक राजीनामा नै हो। दोस्रो विकल्प, सदनमा दर्ता हुने आचरणको प्रश्न हुन्छ।

के छन् विकल्प?

संविधानको धारा ९१(६) को व्यवस्था अनुसार सभामुख प्रतिनिधिसभा सदस्य नरहेमा वा लिखित राजीनामा दिएमा पदमुक्त हुने व्यवस्था छ।

यस्तै, निजले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभाले दुई तिहाइ बहुमतबाट पारित भएमा पनि सभामुखको पद स्वतः रिक्त हुने संवैधानिक व्यवस्था छ।

जसको उठान आचरण अनुकूल नभएको प्रश्नबाट सुरु हुन्छ।

प्रतिनिधिसभा नियमावलीको नियम २०७ अनुसार सभाध्यक्षको आचरण गलत लागेमा एक चौथाइ सदस्यले आचारण अनुकूल काम नगरेकोमा प्रस्ताव दर्ता गर्न सक्नेछन्। यस्तो प्रस्ताव प्रतिनिधिसभाको दुई तिहाइ बहुमतले स्वीकृत गर्नुपर्नेछ।

यस्तो प्रस्ताव दर्ता भएमा सभाध्यक्षले अध्यक्षता गर्न मिल्दैन। निलम्बनको अवस्थामा रहने नियमावलीमा व्यवस्था छ।

महरासामु राजीनामा वा अनुकूल आचरण नभएको प्रस्ताव फेस गर्ने दुई विकल्प छन्।

सत्तारुढ दलले उक्त प्रस्ताव दर्ता नगराएको अवस्थामा पनि विपक्षी दल कांग्रेसले यो प्रस्ताव दर्ता गर्न सक्छ। प्रस्ताव दर्ताका लागि ६९ सदस्य आवश्यक पर्छ।

सचिवालयको खण्डन

जबर्जस्ती करणीको आरोप सभामुख महराको निजी सचिवालयले भने खण्डन गरेको छ। उक्त आरोपलाई नियोजित भनिएको छ।

खण्डन विज्ञप्तिमा भनिएको छ - ‘हिजो आइतवार घटना भएको भनी जसरी सभामुखज्यूको चरित्र हत्या गर्ने दुस्प्रयास भइरहेको छ, त्यसमा कुनै पनि सत्यता नभएको म सम्पूर्ण मिडिया र सञ्चारकर्मी साथीहरुमा जानकारी गराउँछु। सभामुखज्यू हिजो असोज १२ गते आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर बालुवाटार निवासमा फर्किएको बाहेक उहाँ त्यसपछि अन्यत्र कहीँ नगएको पनि म यसै विज्ञप्तिबाट प्रष्ट पार्न चाहन्छु। साथै समाचारमा आएको जस्तो चश्मा, जुत्ताका कुरा पूरै निराधार भएको र उहाँको चश्मा आफैंसँग रहेको र सभामुखज्यूले त्यसप्रकारको जुत्ता समेत प्रयोग नगरेको पनि यहाँ उल्लेख गर्न चाहन्छु।’

के हो आरोप?

आइतबार राति ८ बजेतिर सभामुखले आफूमाथि मदिराको लतमा जबर्जस्ती करणको प्रयास गरेको आरोप लगाइएको छ।

पीडित महिलाको बयानमा आधारित समाचारहरुमा सभामुख महराले मदिरा पिउन कर गरेको र त्यसपछि जबर्जस्ती करणीको प्रयास गरेको आरोप लगाइएको छ।

पीडितले यसअघि पनि पटक पटक आफूलाई अभद्र व्यवहार गरेको आरोप लगाएकी छन्। पीडित महिलाले प्रहरीलाई जानकारी गराएको बताए पनि प्रहरी भने औपचारिक जाहेरी नपरेको भन्दै पन्छिरहेको छ।

के भयो सोमवार?

आइतवार राति घटना भएको ‘हल्ला चलेपछि’ सोमबार प्रतिनिधिसभाका केही महिला सांसद्हरुले सञ्चारकर्मीलाई खबर गरेका थिए।

अपत्यारिलो यो सूचना समाचारका रुपमा बाहिरिन भने निकै समय लागेको थियो।

यसबीचका घटनाको हल्ला बालुवाटारसम्म पुग्यो। महराको सचिवालयले हल्लाबारे थाहा पाएपछि सभामुखसँग बुझ्न खोज्यो तर तत्कालै सञ्चार हुन पाएन।

त्यसपछि महराको सचिवालयबाट पीडित महिलासँगको टेलिफोन सम्पर्कको प्रयास पनि भयो। तर, सम्वाद हुन नसकेपछि घटनाबारे सभामुखलाई नै विस्तृत जानकारी गराइएको थियो।

घटना बाहिरिएको जानकारी पाएपछि सभामुख महरा स्वय‌ंले पीडित महिलालाई फोन गरेका थिए। सार्वजनिक भएको भिडियोमा पनि पीडित महिलाले आफूलाई सभामुखले फोन र म्यासेज गरेको बताएकी छन्। सम्वादमा उनले भनेकी छन् – उहाँले फर्गट एस्टरडे भन्नुभयो।

सभामुखसँग भएको कुराकानी बीचैमा रोकिएको उनी निकटहरुको दाबी छ।

संवाद अन्य क्यामेरामा रेकर्ड भएको शंका लागेपछि महराले बीचैमा फोन काटेको उनी निकट बताउँछन्।

सार्वजनिक रुपमा सभामुख महरालाई राजीनामा दिन पनि सुझाइएको छ। तर, औपचारिक रुपमा महराले कुनै धारणा सार्वजनिक गरिसकेका छैनन्। तर, आफू निकटसँग मंगलबार बिहानैदेखि परामर्श भने गरेका छन्। धेरै निकटस्थले राजीनामा दिन नै सुझाएको स्रोतले बतायो।

तर, सभामुखले भने औपचारिक रुपमा कुनै निर्णय लिएका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell