PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पोखरामा च्यांग्राको मासु खाने प्रचलन संस्कृति बन्दैः व्यापारीका लागि भने जुवा खेलेजस्तै 

पोखरामा च्यांग्राको मासु खाने प्रचलन संस्कृति बन्दैः व्यापारीका लागि भने जुवा खेलेजस्तै 

विष्णु गौतम/पहिलोपोस्ट


पोखरा: पोखरामा दशैंको परिभाषा र संस्कृति फेरिएको छ अहिले। मान्यजनको हातबाट टीका लगाएर आर्शिवाद थाप्ने परम्परामा एउटा नयाँ संस्कार थपिएको छ पोखरामा, त्यो हो च्यांग्रा। अर्थात् पोखरेलीहरुका लागि आजभोलि दशैं भनेको च्यांग्रा खाने चाड हो। पोखराका संस्कृतिकर्मी तीर्थ श्रेष्ठ च्यांग्रा चलन शुरु भएको एकिन समय भन्न नसकिए पनि यो चलन अनौठो रहेको धारणा राख्छन्। उनी भन्छन्, ‘अहिले च्यांग्राबिनाको दशैं त दशैं नै होइन जस्तो भइसकेको छ। यो पोखरेलीको प्रतिष्ठासँग जोडिन पुगेको छ।’

त्यही प्रतिष्ठा धान्न यस वर्ष पनि दशैंका लागि पोखरामा ३० हजार च्यांग्रा ल्याइँदै छ। पोखरा ल्याइसकेकामध्ये ७५ प्रतिशत पोखरा बजारमै खपत हुने गरेको छ भने २० प्रतिशत जति पोखराबाट बसाइँ सरेका पोखरेली र पोखरामा च्यांग्रा खान बानी परेकाहरुले लैजाने गर्छन्। र, च्यांग्रा लैजाने त्यस्ता ठाउँमध्ये दुई मुख्य ठाउँ हुन्– बुटवल र नारायणगढ। 

दशैंका बेला पोखरामा करिब ८० करोड रुपैयाँ बराबरको मासुको कारोबार हुने अनुमान छ। जसमा ६० करोड रुपैयाँभन्दा बढी च्यांग्राको कारोबार हुने पोखराका मासु व्यवसायीहरु बताउँछन्। गत वर्ष पोखरामा २५ हजार हाराहारीमा च्यांग्रा भित्रिए पनि यस वर्ष पोहोरभन्दा बढी भित्रिने अनुमान पोखरा खसी बोका व्यवसायी संघको छ। यो वर्ष एउटा च्यांग्राको मूल्य पोखरामा १८ हजारदेखि ३५ हजार रुपैयाँसम्म पर्ने व्यवसायीहरुको अनुमान छ ।  

कसरी सुरु भयो च्यांग्राको मासु खाने चलन

पोखरेलीहरुले कहिलेबाट च्यांग्राको मासु खान सुरु गरे भन्ने बारे कुनै एकिन जानकारी भेटिदैन । तर पनि तत्कालीन लमजुङका राजा कुलमण्डनले भारतका मुगल बादशाहलाई खुसी पार्न झारल, घोरल तथा हिमाली च्यांग्राको सुकुटी लगायत अनेक जडीबुटी उपहार पठाएको पाइन्छ। इतिहासका अध्येता ठाकुरप्रसाद त्रिपाठी भन्छन्, ‘यसको ठोस मिति त फेला परेको छैन तर हामीले सुनेको र कतै कतै किम्वदन्तीहरु सुनिए अनुसार कास्कीका राजाहरुले च्यांग्राको मासु र सुकुटी खाने गरेका थिए।’

पोखरामा सर्वसाधारणका लागि भने करिब १५० वर्ष पहिले च्यांग्राको मासु खान थालिएको अनुमान गरिन्छ। थकाली संस्कृतिका अध्येता ८२ वर्षिय पूर्णप्रसाद तुलाचनका अनुसार पोखरामा पहिला हिमालपारि भोटबाट नुन ल्याउने र नुन साट्न अन्न लैजाने चलनसँगै सर्वसाधारणमा च्यांग्रा खाने चलन सुरु भएको हो। उनले भने, ‘त्यो बेला हाम्रा पुर्खाहरुले पुस, माघ र धेरै हिउँ पर्ने समयमा बलिया च्यांग्रामा नुन बोकाएर ल्याउने र पोखरामा नुनसँग धान तथा अन्य अन्न साटेर लैजाने गरेका थिए।’ 

अध्येता तुलाचनका अनुसार मौसमका कारण कतिपय च्यांग्राहरु बिरामी हुने र ती फिर्ता नजाने भएकाले कसैले एक दुई छाक खान दिँदा वा निकै सस्तोमा ती च्यांग्रा दिएर जान्थे। ‘यसले गर्दा पोखरासँग एक खालको सम्बन्ध जस्तो पनि भयो अनि थोरै भए पनि व्यापार जस्तो पनि भयो,’ तुलाचनले भने। हिमाली भेगमा बसोबास गर्ने जातिले पहाडका बासिन्दाहरुसँग आउँदा जाँदा बनाउने सम्बधलाई 'इस्ट' भन्ने गरिन्छ। 

त्यसो त अध्येता त्रिपाठी पनि तुलाचनको कुरामा समर्थन जनाउँछन्। उनले भने, ‘खसीलाई नुन बोकाएर पोखरा ल्याउने गरिन्थ्यो। तिनै ‘नुन बोक्ने बोका खसी’ खाँदा खाँदा पोखरेलीहरुलाई च्यांग्राको बानी पर्न थाल्यो।’ हिमालपारिका भेडा, च्यांग्राले हिमाली भेगका यार्सागुम्बा लगायत विभिन्न जडीबुटी खाने भएकाले मासु निकै स्वादिलो र स्वस्थ्य हुन्छ भन्ने विश्वासमा पोखरामा च्यांग्रा खाने प्रचलन चलेको हो भनेर अनुमान गरिन्छ । 

पोखरेलीले किन दशैंमै च्यांग्रा खान्छन् ?

दशैंमा देवी नवदुर्गा भवानीको निकै धुमधामसाथ पूजा आराधना गरिन्छ। संस्कृतिकर्मी तीर्थ श्रेष्ठ भन्छन्, ‘हाम्रातिर च्यांग्रालाई देवीलाई भोग चढाएको त थाहा छैन तर पनि मासु खाने गरिएको छ। अरु बेलामा नखाए पनि दशैंमा सबैको घरका मासु खाने चलनले गर्दा पनि यो बेला मिठो खाने नाममा च्यांग्राको मासु खाने चलन चलेको हुनुपर्छ।’ 

उनका अनुसार दशैंमा पोखरेलीहरुले आफैं खान र टीका लगाउन आउने पाहुनाका लागि च्यांग्रा किन्छन्। केही अघिसम्म पनि च्यांग्रा बाँडेर खाने चलन थियो, खुट्टा हिसाबले (एउटा खुट्टा बराबर च्यांग्राको एक चौथाइ मासु)। बिस्तारै अहिले घरघरमै एउटा च्यांग्रा काट्ने चलन छ। अनि मौसमका दृष्टिले पनि यतिबेला न गर्मी न जाडो ठिक्कको मौसम हुने भएकाले पनि दशैंमा पोखरेलीले च्यांग्रा खाने थालेको अनुमान गरिन्छ। 

बलिको प्रचलन घट्दै, मासु खाने प्रचलन बढ्दै

देवीका नाममा बलि दिने प्रचलन बिस्तारै घट्दै गएको छ। तर मासु खानेहरुको संख्या अत्यधिक बढेको छ। पहिला पहिला बलि दिएर मात्र देवीको प्रसादका रुपमा मासु खाने चलन थियो। आजभोलि बलि दिन छाडेका छन् तर मासु भने खान्छन्। श्रेष्ठ भन्छन्, ‘हामी युवा हुँदाको समयभन्दा अहिले बलि दिने प्रचलन करिब ९० प्रतिशत घटेको छ तर दशैंमा मासु खानेको संख्या ९९ प्रतिशत बढेको छ।’ 
उनका अनुसार पोखरामा च्यांग्रा आएपछि मात्र बल्ल दशैं आयो भन्ने महसुस हुन्छ। 

कहाँबाट ल्याइन्छ च्यांग्रा

पोखरामा सबैभन्दा पहिला तिब्बतबाट च्यांग्रा आउँथे। पछि बिस्तारै मुस्ताङको उच्च हिमाली भेगबाट पनि आउन थाले। अहिले राम्ररी खेती पनि नहुने र बस्ती पनि बस्न नमिल्ने स्थानमा जीविकोपार्जनका लागि गाईबस्तु, भेडाबाख्रा तथा च्यांग्रालगायत पशु पाल्ने गरिन्छ। तिब्बती भूभाग, डोल्पाको उत्तरी भूभाग, मुस्ताङको लोमानथाङ, एरा, धारा, चेले, ध्याघर, छुसाङ लगायत स्थानहरुबाट च्यांग्राहरु ल्याउने गरिन्छ। 

विशेष गरी डोल्पाका च्यांग्राहरु पूरै सेता र अलि ठूला खालका हुने गर्छन् भने अन्यत्रका अलि साना र काला तथा अन्य रंगका हुने थकाली संस्कृति अध्येता तुलाचनको भनाइ छ। उनका अनुसार डोल्पाभन्दा मुस्ताङ र तिब्बती च्यांग्राको मासु अझै स्वादिलो हुन्छ। 

पोखरामा अहिले तिनै च्यांग्राहरुलाई ‘खोरपाला’ र ‘नुन बोका’ भन्ने चलन छ । डोल्पाकालाई नुन बोका र मुस्ताङकालाई खोरपाला भनेर भन्ने गरिन्छ । पोखरामा कुनै बेला रुकुमका पनि च्याङग्रा ल्याउने गरेका थिए तारा भोटेहरुले। 

कसरी ल्याइन्छ च्यांग्रा

दशैं आउन एकदेखि डेढ महिनाअघि च्यांग्रा किन्नकै लागि व्यापारीहरु उपल्लो मुस्ताङ पुग्ने गर्छन्। मुस्ताङको पनि उच्च हिमाली क्षेत्रमा व्यावसायिक रुपमा पालिएका च्यांग्राहरु गोटाका हिसाबले घरघरबाट किनेर संकलन गरिन्छ।

उच्च हिमाली भेगबाटै चराउँदै चराउँदै मुस्ताङ, म्याग्दी, पर्वत र कास्की हुँदै पोखरासम्म ल्याइन्छ। यसरी ल्याउँदा चराउँदै चराउँदै गर्मी र हावापानीसँग घुलमिल गराउँदै ल्याइन्छ। करिब ४५ सय मिटरको उचाइका च्यांग्रा १५ सय मिटरको उचाइमा झार्न करिब २० दिन लगाउँछन् व्यापारीले। 

हिमाली भेगमाभन्दा पोखरा गर्मी हुने भएकाले समस्या नआओस् भनेर च्यांग्रा ल्याउन धेरै दिन लगाउने गरेको च्यांग्रा व्यापारी भवत थापा बताउँछन्। भने, ‘सुरक्षित तवरबाट पोखरा ल्याउन झन्डै २० दिन हिँडाएर ल्याउनुपर्ने बाध्यता छ।’ बाटोको सुविधा भएपछि त मुस्ताङबाटै ट्रकमा ल्याउन सकिन्छ तर एकैचोटी चिसो ठाउँबाट पोखरा ल्याउँदा च्यांग्रा मर्ने सम्भावना अत्यधिक हुन्छ।

कतिपयले गाउँमा संकलन गर्ने अनि बाटोमा पर्ने गाउँ गाउँमा बिक्री गर्दै जाने र पछि अर्को पल्ट आएर पैसा उठाएर लैजाने गरेको आफूले देखेको इतिहास अध्येता त्रिपाठी बताउँछन्। 

अहिले भने घटस्थापनादेखि फूलपाती र नवमीसम्म पनि बिक्री नभएका खसी च्यांग्राहरु बेच्न कतिपय बस्छन् भने कतिपय च्यांग्रा बिक्री गर्न तिहारसम्मै पनि बस्ने गरेका छन्। सुरुसुरुमा सकेसम्मको बढी रेटमा बेच्ने र अन्तिम अवस्थामा जती मुल्यमा पनि सक्ने चलन रहेको छ।

अध्येता तुलाचन पोखरामा च्यांग्रा ल्याएर बेच्नुलाई ‘जुवा खेल्नु’सँग तुलना गर्छन्। उनी भन्छन्, ‘यो च्यांग्रा व्यापार जुवा जस्तै हो, सुरु सुरुमा सकेसम्म महँगोमा बेच्यो, अन्तिममा जतिमा किनेको हो त्यतिमै दियो हिँड्यो। घाटा पर्‍यो भनेर फिर्ता लैजाने चलन हुँदैन।’



ट्रेन्डिङ पोस्ट

Ncell