PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

खाली भयो सभामुखको कुर्सी, महराको राजीनामापत्र कार्यवहाकलाई संसद सञ्चालन गर भने जस्तो



पहिलोपोस्ट

खाली भयो सभामुखको कुर्सी, महराको राजीनामापत्र कार्यवहाकलाई संसद सञ्चालन गर भने जस्तो

काठमाडौं : संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई शारीरिक दुर्व्यवहार गरेको आरोप लगाएपछि महराले पदबाट राजीनामा दिएका छन्। महराको राजीनामासँगै सभामुखको पद खाली भएको छ।

तर, सभामुखकै 'लेटर प्याड' प्रयोग गरी विज्ञप्ति निकाल्दै महराले छानविन र अनुसन्धान गर्न सहज होस् भनेर नैतिकताका आधारमा छानबिन प्रक्रिया नसकिँदासम्मका लागिमात्र राजीनामा दिएको उल्लेख गरेका छन्।

राजीनामापत्रबारे बहस चल्दै गर्दा महराका प्रेस संयोजक डिल्ली मल्लले फेसबुकबाट सभामुखज्यूले गम्भीर आरोप लागेको सन्दर्भमा त्यसको अनुसन्धान र छानबिन प्रक्रिया, निष्पक्ष, स्वतन्त्र र सत्यतथ्य रुपमा होस् भनेर छानबिन अवधिसम्मका लागि सभामुखको सम्पूर्ण जिम्मेवारी छोडेर राजीनामा दिएको फेरि उल्लेख गरेका छन्। राजीनामाबाट छानबिन प्रक्रियालाई सहयोग पुग्ने बताउँदै मल्लले महराको राजीनामाको निर्णयबाट कोही पनि आत्तिनुपर्ने वा खुशी हुनुपर्ने जरुरी नभएको समेत दाबी गरेका छन्।

महरा र मल्लका अनुसार छानविन नटुंगिएसम्मका लागि मात्रै महरा सभामुख पदमा रहने छैनन। आरोप प्रमाणित नभए महरा फेरि सभामुखमा फर्कनेछन्।

तर, संवैधानिक कानुनका जानकारहरुले भने सभामुखले उपसभामुखलाई राजीनामा दिएसँगै सभामुख पद रिक्त भएको बताएका छन्।

संविधानको धारा ९१ को उपधारा ६ मा सभामुख र उपसभामुखको पद रिक्त हुने अवस्थाबारेमा उल्लेख गरिएको छ। त्यस अन्तर्गत सभामुख वा उपसभामुखले लिखित राजीनामा दिएमा, व्यवस्थापिका संसदको सदस्य नरहेमा, निजले पद अनुकूलको आचरण गरेको छैन भन्ने प्रस्तावमा संसदको सम्पूर्ण सदस्यको कम्तीमा दुई तिहाइ सदस्यको बहुमतबाट पारित भएमा वा निजको मृत्यु भएमा पद रिक्त हुने व्यवस्था छ।

यस अर्थमा महराले उपसभामुखलाई राजीनामा बुझाइसकेकाले उनी फेरि सभामुख पदमा फर्कने अवस्था नरहेको बताउँछन् अधिवक्ता बुद्धि कार्की। राजीनामा पत्रमा उल्लेखित अन्तिम ३ शब्द 'राजीनामा दिएको छु' मात्रै सान्दर्भिक हुने र बाँकी कुराको कुनै अर्थ नहुने भन्दै कार्कीले सभामुख पद खाली भएको बताए।

 

यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि महराको राजीनामा पत्रप्रति प्रश्न उठाएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महरामाथि लागेको आरोपको आमनागरिक जस्तै छानबिन हुनुपर्ने माग गरे। शर्माले संसद सभामुखबिहीन हुन नसक्ने बताए। महराले राजीनामा पत्रबाट राजीनामा नभइ मार्ग प्रशस्त गर्न कार्यवाहक दिएको जस्तै देखिएको भन्दै उनले कार्यवाहकले बैठक सञ्चालन गर्न दिएको जस्तो पत्र आएको बताए।

सोमवार महराको बारेमा समाचार प्रकाशित भएपछि मंगलवार बिहान सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को आकस्मिक सचिवालय बैठक बसेको थियो। सो बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाव दिएको थियो। तर, महराले हाललाई सभामुख पदबाट मात्रै राजीनामा दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell