काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेटको सर्वोच्च निकाय आइसिसी (अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल)ले नेपालको निलम्बन फुकुवा हुने संकेत दिएको छ।
हालै सम्पन्न क्यान (क्रिकेट एसोसिएसन अफ नेपाल) को निर्वाचनपछि यसको स्वागत गर्दै आइसिसीले मंगलवार जारी गरेको विज्ञप्तिमा आइसिसीका उपाध्यक्ष इमरान ख्वाजाले निलम्बन फुकुवा हुनसक्ने संकेत दिएका हुन्। उनले अर्को साता दुबईमा हुने आइसिसीको बोर्ड बैठकमा यसबारे छलफल हुनसक्ने संकेत गरेका छन्।
आइसिसीका उपाध्यक्ष ख्वाजाले क्यानको निर्वाचनबारे विज्ञप्तिमा भनेका छन्, ‘नेपालमा अहिले भएको क्यानको चुनावबाट हामीलाई खुशी लागेको छ। आइसिसीको नेतृत्वमा पछिल्ला तीन वर्षयता नेपालको क्रिकेट प्रशासनमा भएका सुधार प्रक्रियाले अन्ततः नेपालमा क्यानको सफलतापूर्वक एउटै नेतृत्व चयन भएको छ।’
उपाध्यक्ष ख्वाजाले क्यानको निर्वाचनलाई ऐतिहासिक कोसे ढुंगोको उपमा दिँदै सफलताका लागि नेपाल सरकारसहित नेपाली क्रिकेटका प्रशासक, खेलाडी तथा प्रशंसक सबैलाई यसका लागि बधाईसमेत दिएका छन्।
उपाध्यक्ष ख्वाजाले तीन वर्षयता नेपाली क्रिकेट नयाँ उचाइमा पुगेको, पुरुषतर्फ अन्तर्राष्ट्रिय एकदिवसीय टोलीको मान्यता पाएको उल्लेख गर्दे महिला तथा युवा टोलीले आइसिसी क्वालिफायर्समा राम्रो खेलेको समेत उल्लेख गर्दै खुशी व्यक्त गरेका छन्।
उपाध्यक्ष ख्वाजाले क्यानको सफल निर्वाचनसँगै अब नेपालमाथिको आइसिसीको प्रतिबन्ध पनि खुल्ने अपेक्षा व्यक्त गरेका छन्। उनले यसका लागि आइसिसीको पहिलो शर्त नेपालले क्यानको निर्वाचन सफलतापूर्वक गरी पूरा गरेको बताएका छन्।
क्यानको प्रावधानअनुसार गठित स्वतन्त्र कमिटीले निर्वाचन गराएको आइसिसीले जनाएको छ। उक्त निर्वाचन कमिटीमा आइसिसीका तर्फबाट अम्मार शेख, मुहम्मद अली र नितिश कोठारीसमेत समावेश रहेको पनि आइसिसीको विज्ञप्तिमा उल्लेख छ। आइसिसीका तीन जना प्रतिनिधिसँगै राष्ट्रिय खेलकुद परिषदका प्रतिनिधि लेखबहादुर क्षेत्री र क्यानको केन्द्रीय कार्यसमितिका प्रतिनिधि ठाकुरप्रताप थापासमेत क्यानको निर्वाचनमा उपस्थित थिए।
आइसिसीको प्रावधानविपरीत सरकारले सन् २०१६ मा तत्कालीन क्यानलाई निलम्बन गरेपछि आइसिसीले सरकारबाट गठित क्यान कार्यसमितिलाई मान्यता दिएको थिएन। त्यसपछि आइसिसीले क्यानको स्वतन्त्र र निष्पक्ष चुनाव नगराउन्जेलसम्मका लागि नेपाललाई निलम्बन गरेको थियो। नेपाली क्रिकेट टोलीको चयनदेखि अन्तर्राष्ट्रिय खेल र प्रतियोगितामा सहभागीता सम्बन्धी सबै कुरा आइसिसीले नै हेर्दै आएको थियो।