PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

नियम मिचेर पर्साका १३ जना शिक्षकको सरुवा, शिक्षक महासंघले घेर्‍यो एकाइ प्रमुखलाई



राधेश्याम पटेल

नियम मिचेर पर्साका १३ जना शिक्षकको सरुवा, शिक्षक महासंघले घेर्‍यो एकाइ प्रमुखलाई

वीरगन्ज: नेपाल शिक्षक महासंघ पर्साले शिक्षा विकास तथा समन्वय एकाइ पर्साका प्रमुख फतबहादुर श्रेष्ठलाई घेराउ गरेको छ। गत भदौ २४ गते र असोज ८ गते दुई पटकमा गैरकानुनी तवरबाट १३ जना शिक्षकलाई विभिन्न जिल्ला र स्कुलमा सरुवा गरेको भन्दै डेलिगेशन गएको शिक्षक महासंघको टोलीले श्रेष्ठलाई उनको कार्यालयमै मंगलवार घेराउ गरेको हो।

शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवका अनुसार १३ जनालाई एकाइ प्रमुख श्रेष्ठले नियम, कानुन मिचेर अधिकांश सरुवा गरेको आरोप लगाए। 

साउन २३ गते शिक्षक महासंघ पर्सा र शिक्षा एकाइ पर्साबीच भएको सहमति र भदौ २२ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनलाई समेत एकाइ प्रमुख श्रेष्ठले धज्जी उडाएको शिक्षकहरुको आरोप छ। साउन २३ गते शिक्षक सेवा आयोगले खोलेको विज्ञापनको नतिजा आएर प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा शिक्षक पदस्थापन नहुन्जेल सरुवा नगर्ने सहमति शिक्षा एकाइ र महासंघबीच भएको थियो। शिक्षा मन्त्रालयले भदौ २२ गते अन्तरजिल्ला सरुवामा नगर्न निर्देशन गरेको थियो। 

तर मन्त्रालयले दिएको निर्देशनको दुई दिनपछि नै भदौ २४ गते एकाइ प्रमुख श्रेष्ठको निर्णयबाट नवलपरासीको गैंडाकोटस्थित जनक माविमा माध्यमिक तहका शिक्षक पप्पुप्रसाद चौहानलाई जिल्ला उच्चांगल रामदेव कलवार नमुना प्राविधिक विद्यालय पोखरियामा सरुवा गरेका थिए। त्यस्तै बहुदरमाई नगरपालिकाको मुखदेव सुशीला मावि रामनगरीबाट माध्यमिक शिक्षक प्रमोद तिवारीलाई जिल्ला समन्वय समितिको निर्णय नलिइ र दुवै नगरपालिकाको सहमतिबिनै नेरा आधारभूत विद्यालय गर्दौलमा सरुवा गरिएको छ। 

त्यसैगरी प्राथमिक तहका शिक्षक आसुदेव महतोलाई पटेर्वा सुगौलीको नेरा प्रावि वैरियाबाट सखुवापरसौनी गापाको नेराप्रावि दोहरीमा गाउँपालिकाको सहमतिबेगर सरुवा गरिएको छ। त्यसैगरी प्रावि शिक्षक सूर्यनारायण दास थारुलाई मावि सिहरही सथवलबाट नेराप्रावि दोहरीमा विद्यालय व्यवस्थापन समितिको सहमतिबिनै सरुवा गरिएको छ। 

शिक्षक महासंघले अनियमित किसिमले आर्थिक प्रलोभनमा परेर गरेका सरुवा बदर नगरुन्जेल आन्दोलन जारी राख्ने बताएको छ। संघले यस विषयमा चाँडै पहल चाल्न एकाइ प्रमुखसँग माग गरेको छ। शिक्षक महासंघको कुरा सुन्दै एकाइ प्रमुख श्रेष्ठले सरुवा गरिएका व्यक्तिहरुको बारेमा आफूले थप कुरा बुझेर र विभिन्न स्थानीय तहका प्रमुखहरुसँग छलफल गरेर निर्माणमा पुग्ने जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell