अक्टोबर १ बिहान बिहानै एक जना चिनियाँ साथी चिङ खोङ चेन यान्चेइले विच्याटमा म्यासेज गरे। सामान्य रुपमा बिदाको दिन भएकाले अबेरसम्म सुत्ने योजना थियो। चिनजान भएको धेरै पनि भएको थिएन। एक पटकको भेट हो। त्यही पनि ब्याडमिन्टन कोर्टमा। पहिलो भेटदेखि नै भन्दै थिए- लेट्स ह्याभ अ डिनर विथ माइ फ्रेन्ड।
त्यतिबेला अलि बिरामी थिएँ। ‘अदर डे’ भन्दै टारेको थिएँ। युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजी अफ चाइना (युइएसटिसी)मा पढ्ने हामी चार जना नेपाली, ती एक जना चिनियाँ अर्कै क्याम्पसमा पढ्ने। युइएसटिसीमा भएको इन्डोर तथा आउटडोर स्पोर्ट्स सेन्टर (जिम्न्याजियम) एसियाकै सबैभन्दा ठूलो विश्वविद्यालयभित्रकै ठूलो जिम्न्याजियममा नियमित रुपमा व्याडमिन्टन खेल्न आउने उनी। त्यही क्रममा भेट भएको हो हाम्रो।
अर्को भेट अक्टोबर १ मै भएको हो। तर, यसबीच उनले ‘अदर डे’ सम्झिरहेका थिए। हरेक दिन जस्तै डिनरका लागि अफर गरिरहे। मैले टारिरहेको थिएँ।
त्यस दिन बिहानै विच्याटमा म्यासेज गर्दै शुभकामना दिए।
‘लेट्स ह्याव अ लन्च टुगेदर। यु फोर फ्रेन्ड कम टु सिचुवान एग्रिकल्चरल युनिभर्सिटी वि विल ह्याभ लन्च एन्ड प्ले ब्याडमिन्टन।‘
उनको अर्को म्यासेज थियो – ‘यु सुड मिट योर गर्लफ्रेन्ड यु आर टु साई।‘
उनले लेखेको यो म्यासेज भने मेरा लागि थिएन। अर्का एक नेपाली मित्रको लागि थियो। पहिलो भेटमा उनले सोधेका थिए-‘डु यु ह्याभ अ गर्लफ्रेन्ड?’ हामीले झापाका एक जना मित्रको गर्लफ्रेन्ड छ त्यो पनि सिचुवान एग्रिकल्चरल युनिभर्सिटीमा भनेर जिस्काएका थियौं। त्यसैले उनले लन्चको लागि त्यहीँ निम्त्याएका हुन्।
विच्याटमा एड भएका हामी नेपालीमाझ उनले नामले फरक छुट्याउन नसक्दा अलमलिएका हुन्।
‘यु फोर टेक अ डिडी एन्ड कम हियर वि अराइभ्ड’- उनले फेरि म्यासेज गरे।
लौ न केटोले अत्ति गर्यो, गइदिम् न त भनेर हामीले डिडी लियौँ। डिडी नेपालमा पठाओ र टुटल जस्तै अनलाइन ट्याक्सी सर्भिस।
चीनको ७० औं स्थापना दिवसका अवसरमा सडकका पोलपोलमा चिनियाँ झण्डाले सजिएका थिए, अझ सडकमै अस्थायी पार्कसहित। हामी पुग्यौं, सिचुवान एग्रिकल्चरल युनिभर्सिटी। हामीलाई नै कुरिरहेका थिए उनीहरु। यान्चेइ र उनको साथमा थिए उनका साथी
भेट हुनासाथ उनले साथीलाई सोधे- ‘डिड यु कल योर गर्लफ्रेन्ड…’ साथीले भने, ‘नो सी इज नट माई गर्लफ्रेन्ड।’
‘अन्ली फ्रेन्ड’- मतिर फर्किएर मुसुक्क हाँसे। अनि फोन गरेर बोलाउन तारन्तार भनिरहे।
सिचुवान एग्रिकल्चरल युनिभर्सिटीमा करिब ४० जना नेपाली रहेछन्। आएका बेला नेपालीलाई भेटेर फर्किउँ न त? हामी चार जनाको योजना बन्यो।
विश्वविद्यालयमा पुगेपछि एक जना बंगाली विद्यार्थी भेटिए। जनकपुरका राजीव दाइ बंगाली बोल्न पनि खप्पिस। मित्रता कायम गरिहाले। ती बंगालीको रुममेट नेपाली रहेछन्। हामीले उनलाई बोलाउन भन्यौँ। एकैछिनमा १०-१२ जना नेपाली जम्मा भइहाले। त्यसभन्दा अगाडि नै युच्याटमा सिचुवानमा रहेका नेपालीहरुको समूह थियो। हामीले त्यो समूहमा पनि त्यहाँ पुगेको जानकारी राख्यौँ। सोही क्रममा पोखराकी सलिना भट्टराईले आफू भएको भनेर म्यासेज रिप्लाइ गरिन्। हामीले साथीहरु पनि लिएर आउन भन्यौँ। सामान्य भेटघाटमा निकट रहेको दशैँको शुभकामना साटासाट गर्यौँ। चिनियाँ दुई जना मित्रलाई भोक लागिसकेको थियो। लाग्न त हामीलाई पनि लागेको थियो।
त्यहाँबाट छुट्टियौं।
केटाहरुले विश्वविद्यालय बाहिर केहीबेर हिँडाए। खाना खाने ठाउँमा पुर्याउलान् भनेको त साइकल खोज्दै हिँडाएका पो रहेछन्। साइकल फेला पारेपछि हाम्रो छेन्दु साइकल यात्रा सुरु भयो।
‘लेट्स ह्याभ अ फन ब्रो। इट्स आवर टाइम,’ भन्दै साइकल यात्रा शुरु भयाे। भोको पेट साइकल चलाउनु। त्यसमाथि कति टाढासम्म हो?
‘मीठो खानका लागि अलिकति मिहिनेत गर्नुपरो नि साथी,’ चिनियाँ भाषामै भने उनले।
आधा घण्टा साइकल चलाएपछि पुगियो होटल भियना, सडकमा देखिएका दृश्य कैद गर्दै।
चिनियाँ साथीले के के अर्डर गरे थाहा भएन। एकै छिनमा पातलो रोटी र बेइजिङ डक आइपुग्यो। ‘क्व छिङ जेइ ख्वाइ ल चियर्स….’ (ह्याप्पी इन्डिपेन्डेन्ट डे चियर्स….।)
केही छिनमै आइपुग्यो सानो चुल्हो। चुलोमाथि सुप अनि बंगुरको म:म। बंगुरकै अरु परिकार। हामी बंगुर नखाने।
उनले सुरुमै सोधेका थिए-‘तिमीहरुको धर्मले खान नदिने केही छ?’ मैले विफ भनेको थिएँ। बंगुर भन्न भुलेछु।
उनीहरु जे पनि खाने। बंगुर छानीछानी तर्काएर चाउमिनका त्यान्द्रा चपस्टिकले तानियो।
फेरि अर्को ग्यास चुल्हो आइपुग्यो। साथमा आएको थियो माछाको टाउको र बंगुरकै म:म। माछा छानीछानी खाइयो।
दीपक दाइ भेज तर माछा चाहिँ खाने। बंगुर तर्काएर चाउमिनको त्यान्द्रा तान्दै थिए।
अर्को लट आइपुग्यो लाचिया ‘चिकन चिल्ली’। यहाँ चिल्ली बढी नै चल्ने। साथमा तोफू पनि। दीपक दाइ तोफू छान्दै थिए। हामी चिकन।
फेरि अर्को लट आइपुग्यो खरायो। खरायोसँगै मिसिएको कमलको फूलको जरा। भेज मान्छे जरा छान्दै खाँदै हामी खरायो।
‘इट्स आवर डे ब्रो’- टुटेफुटे इंग्लिसमा बीचबीचमा उनी बोल्दै थिए।
बीचबीचमा गर्लफ्रैन्डको कुरा निकाल्थे, ‘१० जना बढीको प्रपोज आयो, मैले खोजे जस्तो भेटेको छैन।’
फेरि सोध्थे, ‘डूयु लभ चाइनिज गर्ल?’
‘याओ याओ’ चिनियाँमै जवाफ दिन्थेँ बेलाबेलामा म पनि।
नी यो चोङक्वमा? फेरि प्रश्न गर्थे। (तँलाई चीन मन पर्छ?)
यो।
मन पर्छ त भन्नै पर्यो।
अनि बेलाबेलामा किन चीन आइस् डाक्टर पनि पढ्छस्? यस्तैयस्तै प्रश्न।
‘ओ सी ह्वान चोङ्क्वो न्यू हाई’ (मलाई चिनियाँ केटी मन पर्छ।)
उ हाँस्थ्यो। अनि भन्थ्यो फेरि- डु यु नीड चाइनिज गर्लफ्रेन्ड?
अनि मैले उसैलाई सोध्थेँ- ‘नी यो न्यू फङयो मा?’
फेरि हास्थ्यो र भन्थ्यो ‘मे यो’
त्यतिकैमा उसलाई विच्याटमा एउटा रिक्वेस्ट आयो।
‘योर गर्लफ्रेन्ड अराइभ्ड।’
उ भन्थ्यो- ‘यु आर किडिङ।’
उसँग कुरा गरिरहँदा क्याम्पसमै भेटिएका एक चिनियाँ विद्यार्थीको पीडा सम्झिन्थेँ। उनले भनेका थिए- ‘मैले गर्लफ्रेन्ड पाउँदिन कि, कक्षामा ४० जना केटा छन् र चार जना मात्र केटी।’
घरीघरी यही सम्झिँदै हास्थेँ म।
खाना खाइसकेपछि यान्चेइ भन्दै थिए-‘वी सुड गो टु आवर होम।’ बेइजिङमा पनि उसको घर। पुर्ख्यौली थातथलो छेन्दु।
‘नो नेक्ट टाइम। आइ ह्याभ अ फुटबल प्राक्टिस टुडे,’ मैले भनेँ।
उसलाई नेक्स्ट टाइम भन्दै गर्दा क्रस क्लचरल कम्युनिकेशन पढाउने प्रोफेसरले भनेको सम्झिएँ।
‘नेक्स्ट टाइम भन्यो भने छिट्टै भेट्नु नत्र तिमीलाई हरेक दिन सोध्नेछन्। नेक्स्ट टाइम कहिले?’
चाइ चियान…… (फेरि भेटौँला)
क्व छिङ जेइ ख्वाइ ल…