PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

ऋतिक र टाइगरको 'वार'माथि समीक्षकहरु के भन्छन्? के हेर्न लायक छ फिल्म?



पहिलोपोस्ट

ऋतिक र टाइगरको 'वार'माथि समीक्षकहरु के भन्छन्? के हेर्न लायक छ फिल्म?

युवा पुस्ताबीच लोकप्रिय दुई स्टारहरु ऋतिक रोशन र टाइगर श्राफको फिल्म ‘वार’ले यतिखेर थियटर कब्जा गरेको छ। सेनाको कथामाथि बनेको फिल्म पूर्ण एक्सन जनराको हो। फ्यान फलोइङका आधारमा यी दुवै स्टार फिल्मको कमाइका लागि बलियो आधार हुन्। बक्स अफिस कलेक्सनमा पनि फिल्म अब्बल हुने अपेक्षा छ तर के फिल्म हेर्न लायक छ त? के भन्छन् समीक्षकहरु?  

टाइम्स अफ इन्डियामा समीक्षक रचित गुप्ताले फिल्मलाई ५ मा तीन स्टार दिएका छन्। गुप्ताले सञ्जय दत्त र जैकी श्राफ स्टारर सुवास घईको सन् १९९० को दशकको चर्चित फिल्म खलनायकको स्मरण गर्दै लेखेका छन् – फिल्ममा अत्यधिक स्टन्ट, थ्रिल, ट्विस्ट र मसलेदार खुलासा छन् जसले पहिलो हाफसम्म मजाले दर्शकलाई बाँध्छ। तर, कौतुहलता मेट्ने तथ्य फिल्मले खुलासा गर्छ त्यसपछि फितलो बन्न थाल्छ। उनले फिल्मलाई ऋतिकको धुम टू र टाइगरको बागी टूसँग तुलना गर्दै मनोरञ्जन लिन चाहनेका लागि फिल्म राम्रो रहेको तर्क गरेका छन्।

हिन्दुस्तान टाइम्समा मोनिका रावलले फिल्मलाई एक लाइनमा भनेकी छिन् – एक्सन ड्रामामा गजब, कथामा कमजोर। एक्सन, कार र बाइकको दौडादौड हुने फिल्मको लिड रोलमा ऋतिक र टाइगर छन् भने के अपेक्षा गर्ने? मोनिकाको प्रश्नले नै जवाफ दिन्छ – मात्र एक्सन। ‘फिल्मको कथाबाट धेरै अपेक्षा नगर्नु किनकि दुई बोनिफाइड एक्सन स्टारहरु ठूलो पर्दामा भिडिरहेका छन्। यसले बाँकी कुरालाई गौण बनाउँछ,’ उनले लेखेकी छिन्। यी दुई स्टारका फ्यानहरुका लागि फिल्म गजब रहेको उनको तर्क छ।

बलिउडको ट्रेड एनालिस्ट तरन आदर्शको बलिउड हंगामाले फिल्मलाई ‘पैसा असुल’को ठप्पा लगाइदिएको छ। फिल्मलाई ४ स्टार दिइएको छ। ‘समग्रमा वार पैसा असुल एक्सन इन्टरटेनर हो,’ समीक्षामा भनिएको छ, ‘फिल्ममा पर्याप्त ट्विस्ट र टर्नहरु पनि छ जसले दर्शकलाई बाँधि राख्छ।‘ बलिउड हंगामाले समीक्षा गरोस् अनि ट्रेडको कुरा नगरोस् यस्तो चाहिँ हुनै सक्दैन। समीक्षामा भनिएको छ –एक्सटेन्डेड सप्ताहान्त र भरपूर एक्सनले फिल्मको कमाइ गजब हुनेवाला छ।

समीक्षकहरुले दर्शकको रुचीअनुसार फिल्मको मूल्यांकन गरेका छन्। ऋतिक रोशनको सुपर ३० मन पराउने दर्शकका लागि भने यो फिल्म मन नपर्न पनि सक्छ। तर, ऋतिक र टाइगरको एक्सन रुचाउनेका लागि भने छोड्नै नमिल्ने सूचीमा पर्ने पक्का छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell