PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

अबको सभामुख को? यस्ता छन् तीन विकल्प



कुञ्जरमणि भट्टराई

अबको सभामुख को? यस्ता छन् तीन विकल्प

काठमाडौं : यौन दुर्व्यवहारको आरोपसँगै मंगलवार कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएपछि रिक्त रहेको कुर्सीमा अब को बस्ला? राजनीतिक वृत्तमा यतिखेर यो प्रश्न स्वभाविक भएको छ।

महराले उपसभामुख डा शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिएसँगै संघीय संसद सचिवालयले बुधवार सभामुख पद खाली भएको सूचना जारी गरिसकेको छ। त्यसैले पद रिक्त भएसँगै भावी सभामुख को?

संसदको बजेट अधिवेशन सकिएकाले तत्कालका लागि उपसभामुख डा तुम्बाहाङफेले कार्यवाहक सभामुखको जिम्मेवारी पाएकी छिन्।

तुम्बाहाङफेले कार्यवाहकको जिम्मेवारी सम्हाले पनि अब सभामुख को बन्ला र यसका प्रक्रियाहरु के के हुन सक्छन् भन्ने विषयलाई प्राथमिकताका साथ हेरिएको छ।

 

नेकपाले सभामुख वा उपसभामुखमध्ये एक छाड्नुपर्ने

अहिले संसदमा नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को बहुमत छ। त्यसैले पनि संसदको सभामुख र उपसभामुख दुवै पद ने क पाले नै पाएको छ।

संविधानत: ने क पाले सभामुख र उपसभामुखमध्ये एक पद छाड्नुपर्ने हो। संविधानको धारा–९१ मा सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने प्रावधान छ। दुईमध्ये एकजना महिला र एकजना पुरुष हुनुपर्ने व्यवस्था पनि छ।

सभामुख र उपसभामुख एउटै पार्टीको भएको भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाउँदै आएको छ। ‍सभामुख चयन गर्दा महरा तत्कालीन नेकपा माओवादी पार्टीबाट सभामुख बनेका थिए भने तुम्बाहाङफे नेकपा एमालेको तर्फबाट उपसभामुख बनेकी थिइन्।

पछि दुई दलको एकता भएपछि दुईमध्ये एक पद छाड्नुपर्ने भन्दै सर्वोच्च अदालतमा परेको मुद्दा विचाराधीन छ। जेठ २०७५ मा अधिवक्ता अच्युत खरेलले सभामुख र उपसभामुख फरक दलको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। २०७६ मा अदालतले 'हेर्न नभ्याइने' भन्दै उक्त मुद्दा थन्क्याएको छ।

सत्तारुढ दल ने क पा सभामुख पद छाड्ने पक्षमा नभएको नेताहरु बताउँछन्। तसर्थ नेकपा बाहेकको दलले उपसभामुख पाउने सम्भावना बढेको छ।

उता संविधानले सभामुख र उपसभामुख एउटै पार्टीबाट हुनै नमिल्ने व्यवस्था गरेको पनि छैन। संविधानको भाग ८ धारा ९१ मा प्रतिनिधिसभाको सभामुख र उपसभामुखसम्बन्धी व्यवस्था छ। जसमा अन्य दलबाट उम्मेदवारी नपरेमा एउटै दलबाट सभामुख र उपसभामुख हुनसक्ने व्यवस्था छ।

'प्रतिनिधि सभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रतिनिधि सभाको सभामुख र उपसभामुख हुन बाधा पर्ने छैन,' संविधानमा उल्लेख छ।

ने क पाले उपसभामुख छाडे के हुन्छ?

ने क पाले सभामुख छाड्न नचाहेको अवस्थामा उपसभामुख ले राजीनामा दिनुपर्ने हुन्छ। दुवै पद एकै पार्टीले लिन नसक्ने भएकाले तुम्बाहाङफे उपसभामुख पदमा रहँदासम्म नेकपाले सभामुखका लागि उम्मेदवारी दिन नमिल्ने संवैधानिक प्रावधान छ।

अहिले संघीय संसदको अधिवेशन अन्त्य भएको छ। नयाँ अधिवेशनले नै सभामुख चयन गर्नु पर्नेछ। कात्तिकको अन्त्यतिर नै नयाँ अधिवेशन सुरु गर्ने तयारी भएको बुझिएको छ।

अब उपसभामुख तुम्बाहाङफेले प्रतिनिधि सभाको बैठकको अध्यक्षता गर्नेछिन्। उनले नै नयाँ सभामुखको निर्वाचनको मिति तोक्नेछिन्। उपसभामुखले सभामुख चयनका लागि निर्वाचनको मिति तोकेपछि संसदको ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेछन्। उपसभामुख तुम्बाहाङफे सभामुखको उम्मेद्वार बन्न पनि सक्नेछिन्।

'सभामुख' ले ने क पामै ल्याउन सक्छ विवाद

महरालाई सभामुख बनाउँदा हालको ने क पाले भागबन्डाका आधारमा बनाएको थियो। आफ्नो पक्षमा परेको सभामुख पद अहिले पनि आफ्नै पक्षमा राख्ने योजना छ पूर्व माओवादीको। पूर्व एमाले पनि पुरानो भागबन्डालाई बिर्सेर आफ्नो पक्षमा पार्ने योजनामा रहेको बुझिन्छ।

सभामुखको चर्चामा को?

महराले पदबाट राजीनामा दिएसँगै सभामुखका लागि केही व्यक्तिहरुको चर्चा शुरु भएको छ। सभामुखका लागि ने क पाका संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको चर्चा छ। ने क पाका दुवै अध्यक्षलाई कन्भिन्स गर्न सक्ने क्षमता भएका नेम्बाङ बलियो उम्मेदवार भएको एक नेताले बताए। दुवै अध्यक्ष सहमत भएको खण्डमा नेम्बाङ सभामुख बन्न सक्नेछन्। त्यस्तै हाल उपसभामुख रहेकी तुम्बाहाङफे पनि सभामुखको अर्को बलियो उम्मेदवार हुन्।

पूर्व माओवादीतर्फका देव गुरूङ,  पूर्व सभामुख ओनसरी घर्ती, सांसद अग्नि सापकोटा पनि सभामुख पदका लागि चर्चामा आएका नाम हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell