PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

सुगम पोखरेलको दशैं अनुभव, 'तास खेल्दा पाँच रुपैयाँ हारे पनि रुन मन लाग्छ'



मन्दिरा खत्री

सुगम पोखरेलको दशैं अनुभव, 'तास खेल्दा पाँच रुपैयाँ हारे पनि रुन मन लाग्छ'

‘वर्षमा दिनमा लैलै

हर्षका दिन यी लैलै

दशैं तिहार चाड र बाड

खुशीले सारा भर्‍यो नि संसार’

गायक सुगम पोखरेलले ८ वर्षअघि रिलिज गरेको यो गीत दशैं लागेसँगै नेपालीको घरघरमा गुञ्जिन थाल्छ। गीतको लोकप्रियतासँगै दर्शकको मागका कारण सुगमको यो गीत हरेक वर्ष दशैंमा आयोजना हुने स्टेज कार्यक्रमहरुमा गाउन छुटाउँदैनन्।

गीतले दशैंमा आफ्नो घर परिवारबाट टाढा रहेका घरपरिवार तथा साथीभाई इष्टमित्रको झल्को दिन्छ। त्यसो त दशैंका गीतहरु गुञ्जिन थालेपछि दशैं आएको आभास हुन्छ। नेपाली फिल्म 'मुग्लान' को 'दशैं आयो' पछि सायद  सबैभन्दा चर्चामा आएको गीत सुगमकै हो।

सुगम पोखरेल दशैंमा स्टेज कार्यक्रमको शिलशिलामा विभिन्न देश पुग्छन्। त्यसैगरी ८ वर्षअघि दशैंकै कार्यक्रमका लागि उनी अमेरिका पुगेका थिए। त्यतिबेला उनले जे देखे, जे महसुस गरे आफ्नो भोगाइलाई उनेर दशैं गीत बनाए।

'दशैंमा घरबाट टाढा रहँदा एक किसिमको अभाव महसुस हुन्थ्यो। त्यही सम्झेर मैले ८ वर्षअघि दशैंको गीत लेखें। उनले भने ‘हुन त विदेशमा हुँदा पनि साथी भाईसँग दशैं मनाइन्थ्यो। तर नेपालमा आफ्नै गाँउठाँउ साथीभाई परिवारसँग दशैं मनाउनुको मज्जा नै छुट्टै हुँदो रहेछ।’

विराटनगरमा जन्मेका सुगमले दशैंको बेला विदेशमा हुँदा घरको दशैं माहोल सम्झिए र आफूले दशैं मनाउन नपाएको पीडा र भावना गीतमार्फत प्रस्तुत गरे। सुगमले गीतमा आफ्नो अनुभव मिसाए।

यसरी बन्यो गीत

२०११ तिर उनले गीतको अगाडिको लाइन 'वर्षमा दिनमा लै लै' अलि कति लेखे। तर गीत नै बनाउनेबारे भने आफूले नसोचेको सुगमले बताए। ‘२०११ मा मैले ‘वर्षमा दिनमा लै लै’ गीतको एउटा लाइन अलिकति लेख्या थिए। उनले भने ‘गीत नै बनाँउछु भनेर त सोचेको थिइनँ। कार्यक्रम सकेर अमेरिकाबाट फर्केपछि मैले मेरो साथी रवि श्रेष्ठलाई आफूले विदेशमा हुँदा महसुस गरेको सबै कुरा सुनाए। त्यतिबेला रवि पनि हल्का फुल्का गीत लेख्थ्यो। मैले उनलाई दशैंको एउटा गीत गरौ न त भन्दा उनी पनि राजी भए।’

२०११ मा उनको दशैं गीत त रिलिज भयो तर दर्शकले सुरुमा उनको गीतलाई त्यति रुचाएनन्।  'त्यो दशैंको गीत पपुलर हुन झन्डै दुईतीन वर्ष नै लाग्यो। शुरुको दशैंमा त्यो गीत त्यति नोटिस भएन। अर्को दशैंमा अलि कति बढी नोटिस् भयो। पछि २०१५ तिर बल्ल गीतलाई दर्शकले रुचाउनु भयो’, उनले भने।

दशैंबारे नयाँ गीत रिलिज

यसैबीच सुगमले यो वर्ष पनि नयाँ दशैंको गीत सार्वजनिक गरेका छन्। सुगमको ‘शुभ दशैं’ बोलको गीतमा सुगमसँगै उनीको छोरी एन्जेलिजा पोखरेलले पनि स्वर दिएकी छिन्।

‘नयाँ लुगा लाएर टीका जमरा लाएर,

म त हिँडे है मामा घर तिर’

हालै सार्वजनिक भएको सुगमको गीतमा उनले आफ्नो बाल्यकालको सम्झना गर्दै दशैंमा मामा घर जाँदाका रमाइला पलहरुलाई समेटेका छन्।

गीतका केही लाइनहरु बच्चाले गाँउदा अझ राम्रो सुनिने भएकोले छोरीलाई पनि गीत गाउन लगाएको सुगम बताँउछन्। उनले भने ‘मेरो पुरानो दशैंको गीत अलि भावनात्मक छ भने यो पालीको गीत चाहि दशैं रमाइलो गरी मनाउनुपर्छ भन्नेहरुको लागि हो।’

पोखरेल हाँस्दै आफ्नो बाल्यकालको दशैं सम्झन्छन् 'दशैं भनेको त बाल्यकालमा नै रमाइलो हुँदो रहेछ। बच्चा बेलामा दशैं भन्ने बितिक्कै छुट्टै किसिमको उत्साह र रमाइलो हुन्थ्यो। त्यो बेलामा दशैं भनेको नयाँ नाना र मिठो खाना अनि साथीभाईसँग लिंगे पिङ खेल्दाको पल अहिले पनि याद आँउछ।’

उनी सानो छँदा दक्षिणाकै लोभले भए पनि मामा घरमा टीका लगाउन जान्थे। त्यो रमाइलो क्षण याद गर्दै पोखरेल सुनाँउछन् ‘दशैंमा दिदिहरुको चाँहि टन्नै दक्षिणा हुन्थ्यो। तर हामी दाजुभाईले भने ठुलो मान्छेलाई पैसा दिएर खुट्टा ढोग्नु पर्थ्यो। घरमा त दक्षिणा त्यति धेरै पाइनँ, तर मामा घरमा भने भान्जालाई माया गरेर मामा माइजुले टीका लगाएर दक्षिणा दिएको चाहि याद छ। दक्षिणाकै लोभले भए पनि मामा घरमा टीका लगाउन गइन्थ्यो। तर पनि दिदीहरुको जति धेरै दक्षिणा भने कहिले पाइएन्।'

दशैंमा तास खेल्दा पाँच रुपैयाँ हारे पनि रुन मन लाग्छ

बिराटनगरमै जन्मे हुर्केका सुगम घरको कान्छा छोरा हुन्। उनले भने 'रमाइलो लाग्थ्यो। म घरको कान्छो छोरा। दशैंमा नयाँ नाना, लिंगे पिङ,  मीठामीठा परिकार खाएर रमाइलो गरिन्थ्यो त्यतिबेला। ‘मुल घर हाम्रो भएकोले सबै आफन्त दशैमा टीका लगाउनलाई हाम्रोमै आउनु हुन्थ्यो।’

त्यसो त दशैंको बेला रमाइलोको नाममा खेलिने जुवा तासलाई भने सुगम बिकृतिको रुपमा लिन्छन्। ' म तास चाहि कहिल्यै खेल्दिनँ, तास नखेल्ने मेरो सबैभन्दा राम्रो बानी हो जस्तो मलाई लाग्छ। दशैंको माहोलमा घरमा तास खेल्नलाई कर गर्नुहुन्छ। मैले तास नखेलेको होइन, खेलेको छु, खाली अरुको चित्त बुझाइदिनको लागि मात्र। तर तासमा पाँच रुपैया हार्दा पनि मलाई रुन मन लाग्छ’, उनले भने।

सुगमले पहिला र अहिलेको दशैंमा धेरै भिन्नता पाएका छन्। सुगम सुनाँउछन् ‘बच्चा बेलामा दशैं भन्ने बितिक्कै जुन किसिमको उत्साह हुन्थ्यो अहिलो त्यस्तो हुँदैन। 'अब बुवा भइसकेको छु, जिम्मेवारी बोध हुन्छ। अब चाहि छोरी खुसी भयो भने मलाई पनि खुसी मिल्छ। पछिल्लो केही वर्षदेखि म दशैंमा एक वर्ष नेपालमा भए भने अर्को वर्ष मात्र दशैंमा विदेशको कार्यक्रम लिन्छु। यसो गर्दा परिवारसँग पनि दशैं मनाउन पाइन्छ। वर्षमा दिनमा लैलै गीत मेरो दिमागमा फुरेको पनि त्यसरी नै हो। म दशैंको बेला विदेशमा हुँदा देखेको भोगेको कुरा शब्दमा उतारेको हुँ।’

यसपटकको दशैंमा न्युजिल्यान्डमा हुनेछन् उनी। स्टेज कार्यक्रमको लागि सुगम न्युजियल्याण्ड उडिसकेका छन्। सकेसम्म टीका लगाउन आफ्नै घर आइपुग्ने सुगमले बताए। उनले भने ‘दशैंको टीका त भ्याउन सक्दिन होला म। यो पाली दशैंको बेलामा बाहिरै हुन्छु। तर पूर्णेसम्म जसरी पनि घर आइपुग्ने कोसिस गर्छु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell