PahiloPost

Nov 18, 2024 | ३ मंसिर २०८१

सिकाली जात्राको चटारोमा दशैं बिर्सने खोकना शहरको कथा

सिकाली जात्राको चटारोमा दशैं बिर्सने खोकना शहरको कथा

सहयोग रञ्जित/पहिलोपोस्ट


ललितपुर : जावलाखेलबाट करिब सात किलोमिटर दक्षिणमा पर्छ पुरानो नेवार बस्ती खोकना। तोरीको तेल र खुर्सानीका लागि प्रख्यात यो शहरको आफ्नै सांस्कृतिक विरासत छ। सिंगो देश दशैंको माहौलमा रमिरहेका बेला खोकनामा भने दशैंको कुनै असर हुँदैन। किनभने खोकनामा दशैं नै मनाइदैन।

नवरात्रभर मानिसहरु विभिन्न शक्ति पिठ जाँदा खोकनावासी भने रुद्रायणी (सिकाली) जात्रामा व्यस्त हुन्छन्। विजया दशमीका दिन सबैका निधारमा टीका सजिँदा खोकना भने जात्रा सकाएर आराम गरिरहेको हुन्छ।

घटस्थापनाको दिन देशैभर जमरा राखेर देवी दुर्गाको पुजा गरिँदा खोकनामा भने सिकाली जात्राको रौनक चलिरहेको हुन्छ। घटस्थापनाको दिन खोकनामा मचा: पूजा गरिन्छ। कुमार केटाहरुलाई सिकाली चौरमा रहेको मन्दिरमा लगेर विशेष गोप्य पूजा गरिन्छ। उनीहरुले त्यहाँ चार दिनसम्म मन्दिरमा पूजा गर्छन्। त्यस समय सो चौरमा मानिससँगै पशुपन्छीलाई समेत प्रवेश निषेध गरिन्छ।

तृतीयाका दिन भने रुद्रायणी गुठीका सदस्यहरु दिनभरि व्रत बस्छन्। चौथो दिन प्रत्येक घरमा छ्वयालाबु गरी भोज खाइन्छ। पञ्चमीका दिन खोकनामा मुख्य जात्रा हुन्छ। रुद्रायणी मन्दिरबाट देवतालाई बाहिर निकालेर खटमा राखिन्छ। त्यसैदिन बेलुकातिर एउटा राँगालाई खोकनाको कोट क्षेत्रबाट बाहिर लगेर बलि दिइन्छ। बिहान १-२ बजेतिर खटमा राखिएका देवतालाई बोकेर सिकाली मन्दिरमा लगेर प्रतिस्थापन गरिन्छ।

छैटौँ दिन (आज) भने सिकाली मन्दिरमा रुद्रायणी देवगणहरुले नृत्य प्रस्तुत गर्ने गर्छ। गुठीका १४ जना आफूले निर्वाह गर्नुपर्ने देवताको भूमिकाको ख्वापाः (मुकुण्डो) र वस्त्र लगाएर मन्दिर परिसरमा उफ्रिएर नृत्यु देखाउँछन्।

सिकाली जात्राका बेला देखाइने नाचहरुको जिम्मा श्री रुद्रायणी गुठीमा रहेको हुन्छ। गुठीमा रहेका ४६ जना देवगण (गुठीयार)हरु बीच कार्य विभाजन गरिएको हुन्छ। सबैजना महर्जन/डंगोल खलकका हुन्छन्।

सिकाली जात्रा अन्तर्गत १४ देवीदेवता (रुद्रायणी, भैरव, कुमारी, गणेश, ब्रहमा, विष्णु, महादेव, इन्द्रायणी, बाराही, चामुण्डा काली, महालक्ष्मी, कुमार, हनुमान र शक्ति कुमार) को नाच देखाइन्छ। ४६ जना मध्ये १४ जना देवदेवीको भूमिकामा रहन्छन्।

सबै देवगणहरुलाई मन्दिर भित्र लगेर वीरभद्र, महाकालीका रूपमा तान्त्रिक विधिबाट मन्दिर बाहिर निकालिन्छ र सिकाली परिसरमा नचाइन्छ। सिकाली चौरबाट नाच्दै उनीहरुले गाउँ परिक्रमा गर्छन्। आज क्वँलाछीमा आएर जात्रा समापन हुन्छ।

सप्तमीका दिन राति क्वँलाछीमा नाच देखाइन्छ। अष्टमीमा रुद्रायणी मन्दिरमा मूर्ति र ख्वापा: पुन: प्रतिस्थापन गरिन्छ। जात्राकै समय त्यहाँ आफन्तहरुलाई बोलाइन्छ र भोज गरिन्छ।

विजया दशमीको दिन भने खोकनामा केही हुँदैन। उनीहरु टीका लगाउँदैनन् न लगाउन कतै जान्छन्। जात्रा सकाएर खोकनावासीको सो दिन आराम गर्ने गर्छन्। जात्राबाट थाकेकाले उनीहरु त्यस दिन आराम गर्छन् भन्ने मान्यता रहेको छ। तर, अहिले भने खोकना बाहिर घर भएका आफन्तहरु कहाँ केही मानिसले टीका लगाउन जाने थालेका छन्।

किन मनाइदैन दशैं ?

खोकनामा दशैँ नमनाइनुको किंवदन्ती भने रमाइलो छ। महिषासुर नाम गरेको दानवले देवताहरुलाई धेरै दुःख दिएछन्। महिषासुर बसेको ठाउँ पत्ता लगाउन देउताहरु बैठक बस्यो र उसलाई खोज्ने निर्णय भयो। भैरव, नागराज, रुद्रायणी, कुमार, सिङ्नी, व्याङ्नी काली लगायतका देवदेवीहरुले खोज्दासमेत महिषासुर भेटिएनन्।

चिन्तित बनेका देवताहरुले मायादेवीको क्षमापूजा गर्ने निधो गरे। भैरव, काली, कुमारी र वाराहीलाई भोग चढाउन बलि दिइयो। समस्या समाधान भयो। तर, फेरि केही समयपछि उस्तै। संकट बढ्दै गएपछि राक्षसहरुबाट बच्न बस्ती नै सार्ने निधो गरियो, अहिलेको खोकनामा।

पुरानो बस्ती (कुदेश) खोकनाबाट करिब १५-२० मिनेट हिँडेपछि पुगिन्छ, सिकाली मन्दिर भएको ठाउँ। बस्तीसँगै देवीलाई पनि नयाँ स्थानमा सारियो। यसलाई अहिले रुद्रायणी मन्दिर भनेर चिनिन्छ।

देवीले नयाँ स्थानमा बस्न त मानिन् तर भोग लिन मानिनन्। त्यसैले भोग भने रुद्रायणी मन्दिरमा नभई पुरानो मन्दिर भएको स्थान सिकालीमा लगेर चढाइन्छ। अहिलेसम्म त्यही परम्परा निरन्तर चलिआएको छ। पहिले यो जात्रा गाइजात्राको बेला मनाइने भए पनि बस्ती सार्दा जात्राको तिथि पनि परिवर्तन गरियो। नयाँ तिथि निकाल्दा दशैंसँग मिल्न पुग्यो। त्यसपछि खोकनाबासीले दशैं नमनाएको बताउँछन् स्थानीय चन्द्रमान डंगोल। यो जात्रा स्वस्थानी कथामा आधारित रहेको उनले बताए।



ट्रेन्डिङ पोस्ट

Ncell